गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् वा राज्य विस्तारमात्र गरेका हुन् भन्ने विवाद सजिलै टुंगो नलाग्ला । परन्तु, उनले त्यतिबेला काठमाडौं उपत्यकालगायत गोरखाबाट पूर्वतर्फका राज्यहरू आफ्नो राज्यमा मिलाउन नसकेका भए आज नेपाल भनिने मुलुकको अस्तित्व यस प्रकारको हुने थिएन भन्नेमा सायद कसैको विमति नहोला । यसैले आफूलाई नेपाली भन्दा लाज नलाग्ने सबैका लागि पृथ्वीनारायण श्रद्धेय छन् । उनले गोरखा राज्य विस्तार गर्दा पक्कै पनि जनमत संग्रह गरेका थिएनन् । राज्य जितेपछि हार्नेहरूसँग गोरखाली सैनिकले अमानवीय व्यवहार पनि गरेको वर्णन इतिहासमा लेखिएको छ । तर, आजभन्दा करिब तीन शताब्दी पहिलेको नेपाल त के संसारको कुनै पनि राष्ट्रले अर्को राज्य विजय गर्दा पृथ्वीनारायण शाहको भन्दा खासै फरक व्यवहार गरेका उदाहरण अपवादमात्र भेटिएला । यसैले आजको आँखा वा मापदण्डका आधारमा पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्र्दा अन्याय हुन्छ ।
गोरखाबाट पश्चिमतिर पर्ने नेपालको अहिलेको भूभाग उनका छोरा र नाति राजा भएका बेला नेपालमा गाभिएको हो । सुगौली सन्धिबाट मेची पूर्व र महाकाली पश्चिमको नेपालको ठूलो भूभाग गुम्यो । जङ्गबहादुर राणाले अङ्ग्रेजहरूलाई रिझाएबापत ‘नयाँ मुलुक’ भनिने पश्चिम तराईको केही भूभाग नेपालमा थपियो । चीनले तिब्बत लिएपछि गरिएको सीमासम्बन्धी सन्धिबाट पनि नेपालले उत्तरतिरको केही भूभाग गुमायो । अहिलेको नेपालको भौगोलिक सीमा यसरी कायम भएको हो । भूगोलमात्र राष्ट्र त पक्कै पनि होइन । बीपी कोइरालाका शब्दमा त राष्ट्र भनेका जनता हुन् । त्यस अर्थमा नेपालको भौगोलिक सीमाभित्र बसोवास गर्ने सबैले नेपाल राज्यलाई आफ्नो ठान्न सक्नुपर्ने हो । तर, अझै सबै नेपालीले नेपाल राज्यलाई भावनात्मकरूपमा आफ्नो ठान्न भने सकेको देखिँदैन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हैनन् भन्नेहरूले यही यथार्थलाई औँल्याउने गर्छन् । यसलाई पूर्णतः अस्वीकार गर्नु पनि सही हुँदैन ।
नेपालको चरम विविधता भएको राज्य हो । भौगोलिक, सांस्कृतिक, भाषिक, धार्मिक, जातिगत विविधताका कारण नेपाल समरूपी राज्य बन्न सक्तैन । तर, नेपालका शासकहरू विशेष राणा र शाहहरूले नेपालको यस विविधतालाई दबाउन खोजे । राणा शासनविरुद्ध भएको जनक्रान्तिपछि अपेक्षाकृत खुकुलो परिवेशमा समाजको बहुलता प्रकट हुनै लागेको के थियो राजा महेन्द्रले लोकतन्त्रसँगै जनताको पहिचानको आकांक्षा पनि कुल्चिदिए । देशको बहुल यथार्थ मिचेर “ एउटै राजा एउटै देश एउटै भाषा एउटै वेश” भन्ने नारा चरितार्थ गर्न खोज्दा नेपाल सही अर्थमा राष्ट्र बन्न सकेन । सायद, यही कारणले बीपी कोइरालाले चार दशक पहिले नेपाल “प्रशासनिक एकाइ” मात्र बनेको भनेका होलान् । लोकतन्त्र पुनःस्थापना पछिका वर्षहरूमा नेपाली समाजको विविधता र बहुलताको सम्मान एवं स्वीकृति बढ्दै गएको छ र देश सही अर्थमा राष्ट्रिय एकीकरणका दिशामा अग्रसर देखिएको छ । राजनीतिले सही बाटो समात्यो भने भावनात्मकरूपमा नेपाल एकीकृत हुन धेरै समय लाग्नेछैन । यद्यपि, विविधताका आधारमा मात्र नेपाली समाज वास्तवमा एकीकृत हुनसक्छ भन्ने बिर्सनु हुँदैन । र, यो अवसरका लागि पनि नेपालीले पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनुपर्छ । कसैलाई पृथ्वी जयन्ती मनाउन मन लाग्दैन भने यसलाई नेपाल दिवसका रूपमा मनाए पनि हुन्छ । भन्छन् बैगुनी समाजको नाश हुन्छ । यसैले बैगुनी नबनौ ।