site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
स्वास्थ्य सेवामा गोपनीयताको महत्त्व

वैयक्तिक घेराको अवधारणा पाश्चात्य संस्कृतिमा भन्दा हाम्रोतिर अलि फरकै छ । यद्यपि, नेपालमा पनि सांस्कृतिक र पारिवारिक परिवेशसँगै निजी परिधिको व्याख्या बदलिँदै गएको छ । अहिले नै महामारीले व्यक्तिगत दूरीको महत्त्वको पाठ सिकाइरहेको छ । तर अझै हामीमा व्यवहारमा दूरी कायम गर्ने वा अरुको भौतिक वा अन्य व्यक्तिगत घेरालाई सम्मान गर्ने संस्कृतिको विकास भने हुनसकेको छैन ।
हाम्रो समाजमा सामान्य बेलामा वा अहिलेको महामारीको बेलामा व्यक्तिगत घेरा कति र कसरी उलंघन हुन्छ भन्ने सार्वजनिक स्थानमा थाहा देखिन्छ । मान्छेको उमेर, तलब, वैवाहिक सम्बन्ध जस्ता सामान्य निजी जानकारी कसैलाई पनि सहजै सोध्नु हाम्रो समाजमा सामान्य हुन्छ ।

हाम्रो सामाजिक बनोटले पो अरुको भौतिक घेराको सम्मान गर्नमात्र होइन एकअर्काको व्यक्तिगत मामिलामा पनि चासोको सीमा तोक्न नसकेको हो कि ? हामी केही वर्षअगाडि सम्म संयुक्त परिवारमा रहन्थ्यौँ । अनि भौतिक र पारिवारिक संरचनाका कारणले व्यक्तिगत घेराको सबाल नै उठ्दैन थियो । आवश्यक सहकार्यको क्रममा परिधि अतिक्रमण हुनु बाध्यता थियो भने त्यसमा मद्दत र आत्मीयताको भावना गाँसिएको पनि हुन्थ्यो । तर विकास र आधुनिकीकरणसँगै समाजको बनोट र परिधि भिन्न भएको छ । भूमण्डलीकरणले त अब सामाजिक मूल्य मान्यता र समाजलाई परिचालन गर्ने औपचारिक तथा अनौपचारिक नीति नियम पनि एकअर्काबाट अतिक्रमित भइसकेको छ । 

स्वास्थ सेवा वैयक्तिक घेरा र गोपनीयताको बढी नै महत्तव भएको क्षेत्र हो । स्वास्थ क्षेत्रमा गोपनीयता, विश्वास र व्यक्तिगत सुरक्षालाई स्थानीय मूल्यमान्यताका साथै चिकित्सा अभ्यासमा अवलम्बन भइआएको विश्वव्यापी नैतिकता र आचरणको नीयमले पनि बाँधेको हुन्छ । आधुनिक चिकित्सा क्षेत्रको सबै विधामा गोपनीयताको भूमिका त मुख्य नै हो भने साथै स्वास्थ क्षेत्रमा हुने अनुसन्धान, तथ्यांक व्यवस्थापन, जानकारी संप्रेषणजस्ता कार्यमा पनि गोपनीयताको भूमिका महत्तवपूर्ण हुन्छ । सामाजिक मान्यता, प्रविधि, कानुन र ‘ जैविक नैतिकता’ (बायोएथिक्स)को जटिलतामा पनि जेलिएको छ । साथै समाजमा व्यापारिक र स्वास्थ सेवा नियामक निकायलाई कुन हदसम्म व्यक्तिगत जानकारी उपलब्ध गराउने विषयमा पनि नैतिकतालाई केन्द्रमा राखेर बहस चलिरहेको छ ।

गोपनीयतामा अडेको सेवा : चिकित्सा

स्वास्थमा गोपनीयतालाई बिरामीको उपचारक्रमको गोप्यता मात्र नभई त्यसक्रममा हूने व्यक्तिगत जानकारीको विश्वसनीयताका साथै अन्य व्यक्तिगत विवरणको सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्छ । सरसर्ती हेर्दा स्वास्थ सेवा भनेको बिरामी र डाक्टरबीचको सम्पर्कमात्र जस्तो लागे पनि उपचार क्रममा धेरै दृश्य अदृश्य व्यक्ति र इकाइको संलग्नता हुन्छ । आधुनिकीकरण हुँदैगएको उपचार पद्धतिमा आवश्यक सबै सेवा एकै छानामुनि उपलब्ध हुनेहुँँदा डाक्टरहरूले उपचार क्रममा अन्य विशेषज्ञहरूसँग सहकार्य गर्नुका साथै रोग निदानका लागि प्याथोलोजी र रेिडओलजी परीक्षण सामान्य आवश्यकता भइसक्यो । यसरी एकभन्दा बढी व्यक्तिहरूका बीचमा जानकारी सञ्चार हुने क्रममा बिरामीको नितांत व्यक्तिगत सूचना पूर्णतवरले सुरक्षित गर्नुपर्छ । त्यस्तै बिरामीको रेकर्ड नेटवर्कमा वा अन्य भौतिक तरिकाले राखिए पनि अनधिकृत व्यक्तिको पहुँचबाट सुरक्षित राख्नु आवश्यक हुन्छ ।

बिरामीले उपचारका क्रममा आफ्नो नितान्त व्यक्तिगत अवस्था पराइ सामु खुलस्त बताउनु भनेको उसले चिकित्सक र अन्य सम्बन्धित व्यक्तिहरूमाथि विश्वास गर्नु हो । यस्तो विश्वास सजिलै रातारात पलाएको होइन । यो स्वास्थकर्मीहरूबाट वर्षौंदेखि नागरिकलाई आधुनिक स्वास्थोपचार अपनाउन सचेत गराउने क्रममा सामाजिक, सांस्कृतिक र व्यक्तिगत मूल्यमान्यतासँग सम्झौता गराउँदै भएको निरन्तर प्रयासपछि पलाएको विश्वास हो । 
नेपालमा आधुनिक स्वास्थ सेवाको इतिहास धेरै लामो छैन । स्वास्थ चेतनाकोे कमीले कतिपय ठाउँमा अझै धामी, झाँक्री, फुकफाकलगायत परम्परागत स्वास्थ सेवामै बढी विश्वास गरिन्छ । कतिपय त सुविधा र सुलभता हेरेर आधुनिक र परम्परागत खुवै चिकित्सा विधिमा भर पर्ने गर्छन् । तसर्थ, यस्तो सवेदनशील अवस्थामा त झन् स्वास्थ पद्धतिको कुनै अंशमा पनि विश्वास गुम्ने स्थिति सिर्जना हुन दिनु हुँदैन ।

हाम्रो समाजमा भने स्वास्थ सचेतहरूलाई नै पनि गोपनीयता र विश्वसनीयतासम्बन्धी विषयमा ज्ञानको कमीले गर्दा आफ्नो हक हनन भएको पनि ज्ञान हुँदैन । स्वास्थमा कतिपय जटिलता बिरामीलाई बताउन कठिन हुन्छ । चिकित्सकहरूको आफ्नै अनुसन्धानले देखाएको छ कतिपय बिरामीले सही स्वास्थ स्थिति लुकाउनाले उपचारविहीन भएर अनावश्यक नकारात्मक असरले रोग जटिल बनाइ रहेको हुन्छन् भने अन्य कतिपय रोगलाई समाजले कलंकको रूपमा हर्ने गर्दा बिरामीहरूले उपचारविना दुःख भोगिरहेका छन् । मानसिक रोगलाई आज पनि नेपाललगायत विश्वको कतिपय देशमा समाजको नजरबाट लुकाइन्छ । असी र नब्बेको दशकमा एड्सलाई कलंकका रूपमा हेरिन्थ्यो । अहिले केही हदमा कोरोनाका बिरामीले पनि यस्तै लाञ्छना सहिरहेका छन् ।

सुरुसुरुमा कोरोनाको संक्रमण फैलन थालेका बेला विभिन्न समुदायमा संक्रमितहरू लाञ्छित भएर घरबाटै भाग्नुपर्ने स्थिति समेत भयो भने कतिपय स्वास्थकर्मीलाई समेत दव्र्यवहार गरियो । सरकारलाई संक्रमितको हुलिया र ठेगाना खुलाउन दबाब दिइयो । फलस्वरूप कति मान्छे क्वारेन्टिनबाट परीक्षण नै नगरी भागेर आआफ्नो समुदायमा गए । फलस्वरूप, धेरै ठाउँमा संक्रमण झन् फैलियो । यसबाट पनि स्वास्थमा गोपनीयता र विश्वनीयताको महत्त्वपूर्ण भूमिका पुष्टि हुन्छ ।

स्वास्थको सचेतना निकै बढे पनि अझै अस्वस्थतालाई नकारात्मक दृष्टिले हेरिन्छ । सेवामा पहुँचको कठिनाइकासाथै रोगव्याधिप्रति समाजको नकारात्मक धारणाका कारण दीर्घरोगीहरू चिकित्सकको निर्देशनको पालन गर्न चुक्ने यथार्थ विश्वव्यापी तथ्यांकले देखाएको छ । यस्तो अवस्थामा उनीहरूको विश्वास जितेर उपचारलाई निरन्तरता दिँदा चकित्सकको हैसियतले मात्र नभएर मनोसामाजिक परामर्शदाताको भूमिका पनि निर्वाह गर्नु जरुरी हुन्छ । तसर्थ विश्वसनीयता चिकित्साको अपरिहार्य आधार  हुनुपर्ने देखिन्छ ।

विश्वसनीयताको आवश्यकता

अमेरिकामा १९३० को दशकमा सुरू भएर २ दशकभन्दा बढी सरकारकै स्वास्थ निकायको अगुवाइमा अफ्रिकी मूलका अश्वेत जातिलाई लिएर भएको एउटा भिरिंगी रोगसम्बन्धी अनुसन्धान ‘तस्किगी इक्स्पेरिमेंट’ स्वास्थ क्षेत्रमा अनैतिकता र विश्वसनीयताको हननको उदारहण हो । यसको कारण स्वास्थ अनुसन्धान पद्धतिको व्यापक सुधार गरियो भने अफ्रिकी अमेरिकी समुदायको भने स्वास्थ सेवाप्रति शंकाको भावना बसिरह्यो । अहिले पनि कोरोनाको खोप लिने कि नलिने वा विश्वास भए नभएको सर्वेक्षणमा अफ्रिकी अमेरिकीको खोपप्रति विश्वास अरु समुदायभन्दा  धेरै कम देखाएको छ ।

आधुनिक चिकित्साशास्त्रको पाठ्यक्रममा आधारभूत पाठमा बिरामीको गोपनीयता पनि रहेको हुन्छ । तसर्थ कुनै पनि चिकित्सक गोपनीयताबारे अनभिज्ञ हुनु अनैतिक हुन्छ । तर, हाम्रो स्वास्थ सेवा प्रक्रियामा भने नियमितरूपमा नै यो आधारभूत सिद्धान्त उल्लंघन गरिएको पाइन्छ । सेवा केन्द्रहरूले उपयुक्त संरचनात्मक मापदण्ड नअपनाउनाले बिरामीको गोपनीयता भंग भइरहेको छ । काठमाडौंकै कतिपय अस्पतालमा डाक्टरले परामर्श दिइरहँदा अरु बिरामी कपडाको पर्दा पछाडि नै हुन्छन् । त्यहाँबाट भित्रको सम्पूर्ण कुरा सुन्न सकिन्छ । अनि बिरामीको गोपनीयता कसरी कायम हुन्छ ? त्यस्तै प्याथोलोजी ल्याबले अरुले सुन्न सक्ने दूरीमा जाँचको किसिम, रिजल्ट त नियमित वितरण गरिरहेका हुन्छन् । औषधि पसलमा पनि गोपनीयताको नीयम सधैँ उल्लंघन भइरहेको हुन्छ । कतिपय अवस्थामा सेवा केन्द्रको भौतिक संरचना अनुपयुक्त भएको कारणले अथवा व्यवस्थापनको कमजोरीले यस्तो हुन्छ भने कतिपय स्थितिमा गोपनीयताको उल्लंघन सेवामा कार्यरत स्वस्थकर्मीहरूबाट नै भइरहेको छ । सबै उल्लंघन बदनियतले नै नभए पनि ती अनुचित हुन् र सुधार आवश्यक छ ।

उल्लंघनका उदारहणहरू

केही समयअगाडि एकजना शल्यचिकित्सकले आफ्नो बिरामीसँग सेल्फी खिचेर सामाजिक संजालमा राखेका रहेछन् । यो पक्कै बिरामीकै सहमतिमा खिचिएको हो र सायद डाक्टरले सोधेरै राखे होलान् । तर, बिरामी पनि दुनियाँकै कुख्यात अपराधी परेछन् । मनोवैज्ञानिकहरू जघन्य अपराधीहरू आफ्नो कर्तुतबाट ‘सेलेब्रिटी’ बन्न खोज्छन् भन्छन् । तर, चिकित्सकले फोटो राख्ने इच्छा गर्नु र अपराधीले खोजेको ध्यानाकर्षणको चाहना मिल्न गए पनि चिकित्सा विज्ञानको नैतिकताको सीमा भने उल्लंघन भयो ।

आर्का एक जना चिकित्सकले आफूकहाँ आएका धामी काम गर्ने बिरामीसँग सेल्फी खिचेर ट्विटरमा व्यंग्य गर्दै ‘धामीलाई उपचार गर्ने हामी’ क्याप्सन लेखेर राखेछन् । ती धामीले ट्विटर हेरेर आफू नांगिएको कहिल्यै देख्दैनन् होला तर बेहोस बनाएर शल्यक्रिया गर्न बेडमा सुताएको बिरामीले पनि थाहा पाउँदैनन् होला । तर, यही संवेदनशीलतालाई ध्यान राख्दै चिकित्साशास्त्रमा कतिपय आचरणलाई नैतिकताले नियन्त्रण गर्छ ।

सम्बन्धित डाक्टरसँग ट्विटरमा बिरामीको व्यक्तिगत सीमा र गोपनीयताको उल्लंघनबारे राखिएको जिज्ञासामा उनले बिरामीको सहमतिमै राखेको जनाउनुभयो तर व्यंग्यात्मक शैलीमा ‘औँठा छाप’ चाहिँ नलिएको भन्दै कटाक्ष गरे । एक समाजशास्त्रीको हैसियतले मलाई चाहिँ घोच्यो  । यहाँ उल्लेख गरेको उदारहणहरूमा मात्र होइन अरु पनि यस्तै ‘घटना’मा शक्तिहीनले समाजका शक्तिशालीलाई अन्जानमै सहमति दिइरहेका हुन्छन् ।

पहिलो, विश्वको सबै समाजमा चिकित्सकको पेसागत ज्ञान र सीपको सम्मानस्वरूप सधैँ उच्च स्थानमा राखिन्छ । अनि चिकित्साशास्त्रलाई समाजको शारीरिक र मानसिक स्वास्थको हित र संरक्षणको जिम्मा सुम्पिएको हुन्छ । त्यस अर्थमा उनीहरु सामाजिक नियमनका माध्यम हुन् । अनि आफ्नो ‘जीवन रक्षक’को व्यक्तिगत अनुरोध चाहे धामी होस् वा प्रधानमन्त्री अहिले पनि नेपालमा नमान्न मुस्किल नै हुन्छ । डाक्टरको कुरामा मौखिक सहमति जनाउँदा बिरामीको मनमा डाक्टरले बिरामीको हितमा सम्झौता गर्दैनन् भन्ने विश्वास हुन्छ । त्यसैले डाक्टरले बिरामीको हितको स्वविवेकले रक्षा गर्नुपर्छ । 

दोस्रो, स्वास्थ सेवाजस्तो संवेदनशील क्षेत्रमा बिरामीको सहमति मौखिकभन्दा लिखित नै हुनुपर्छ र त्यो सहमतिको परिधि पनि तोकिएको हुनुपर्छ । सहमति लिएकै भए पनि आफनो सामाजिक संजालमा राखेर हस्सीको पात्र बनाउँदा डाक्टरले बिरामीको विश्वास तोडे । 
तेस्रो, ‘आंैठा छाप’सँग जोडेर बिरामीको आर्थिक सामाजिक स्थितिको उपहास गर्नुका साथै डाक्टरले त्यो बिरामीको सामाजिक आर्थिक अवस्था पनि खुलासा गरिदिए । यो विश्वसनीयता भंगको उदारहण हो । यो डाक्टरको हैसियतले मात्र होइन कानुनीरूपमा पनि उचित होइन । 
चौथो, एक जना धामी डाक्टरकहाँ उपचारको लागि आए । तर, मानव विज्ञानको अध्ययनले देखाएको छ आधुनिक र परम्परागत स्वास्थ सेवा एकसाथ चलिरहेको आफनो सामाजिक संजालमा राखेर उनलाई हस्सीको पात्र बनाई धामीझाँक्रीको पनि स्वास्थ सेवा दिलाउन महत्त्वपूर्ण भूमिका भएको पुष्टि गरेको छ । बरु यस्तो मौकामा धामीलाई उचित जानकारी दिएर आफ्नो समुदायलाई स्वास्थ चेतना वृद्धि गर्ने उपाय हुन्थ्यो ।

अन्त्यमा, गोपनीयता र विश्वसनीयता रक्षा गर्नुपर्ने प्रावधानको उल्लंघन गर्न नहुने गरी कडा कानुन बनाएमा खण्डमा अनधिकृत व्यक्तिहरूद्वारा कुनै किसिमको दबाब वा कार्यसीमा अतिक्रमण रोक्नेछ । साथै कर्मचारीहरूको सुरक्षा पनि गर्छ । बारम्बार उपचारक्रममा भएको घटनाका कारण उत्पन्न हुने स्वास्थकर्मीहरूप्रति विरोध वा अभद्र व्यवहार वैयक्तिक मर्यादाको उल्लंघन नगर्ने नीयम पूर्णरूपमा पालन नगर्दा नै उत्पन्न हुने गरेको हो ।

यो लेख स्वास्थ क्षेत्रमा गर्नुपर्ने धेरै नीतिगत सुधारमध्ये एउटामा ध्यानाकर्षण गर्ने जमर्को हो । दुर्भाग्यवश, यस्ता उल्लंघनका उदाहरण नेपाली स्वास्थ क्षेत्रमा जाताततै छन् । तर, गोपनीयता र विश्वसनीयताको उल्लंघनमा चिकित्सक, अन्य स्वास्थकर्मी वा सेवा केन्द्रकोमात्र आलोचना गर्न पनि मिल्दैन । यसमा सरकारले उचित मापदण्ड, अनुगमन, उचित नियम कानुन निर्माण र आवश्यक कारबाहीको पहल गर्नुपर्छ । विगत दुईतीन दशकमा स्वास्थ क्षेत्रमा सेवाको दायरा बढाउने हतारमा बिरामीको रक्षाका लागि नियम, नीति, कानुन, निरीक्षणको व्यवस्थाले चाहिँ उचित मञ्च पाएन । सबैको ध्यान आधुनिक प्रविधि, पश्चिमी ढाँचाको सेवामा गयो तर पश्चिमी मुलुकको स्वास्थ सेवामा हुने बिरामीको हकहितको रक्षा, चिकित्सकदेखि सेवा केन्द्रको जिम्मेवारी, अनि सेवाग्रहीको भूमिका भने न सिकाइयो न अवलम्बन गरियो । कानुन र नैतिकतासम्मत स्तरीय स्वास्थ सेवाका लागि बिरामीको हितमा गर्नुपर्ने व्यवस्था भने पैसा कमाउने होडमा उपेक्षित भयो ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro