site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
तीन छोराको नजरमा सूर्यबहादुर केसी–हाम्रो मार्गदर्शक हुनुहुन्थ्यो

पोखरा । सूर्यबहादुर केसी (सीताराम) अब रहेनन् । पात्रोको मितिले उनले ६३ वर्षको उमेरमा नै धर्ती छाडे । एकदिन छाड्नु नै पर्ने थियो, प्रकृतिको नियम जो हो । उनले पनि धर्ती छाडे । उनका समकक्षी अझै तन्दुरुस्त देखिन्छन्, सम्झिन्छन र आँसु खसाउँछन् । सम्झँदै भन्छन्– “सँगै हुर्के, खेलेको मान्छे छिटै गयो ।” 
केसी एक्ला थिएनन्, उनको निधनको दिन देखिएको भाव, कोरोना कहरका बीच जोखिम मोलेर भेला भएका मान्छे सबैले केसीप्रतिको सम्मान, आदर देखिन्थ्यो ।

भावनामा उनी अझै जीवित छन्, सम्झनामा उनी अझै जीवित छन् । तर, उनीको भौतिक अस्तित्व छैन ।

तीन छोराले आफ्ना पिता गुमाए, श्रीमतीले श्रीमान् गुमाइन् । उनी तीन छोरा र श्रीमतीलाई छाडेर गए, परिवारको अभिभावकत्वको अभिभारा अब उनका छोरामा सरेको छ । आफ्ना पिता गुमाएका केसीका तीन छोरा, प्रकाश, किरण र रोशन सेतो पोशाकमा छन् ।

Dabur Nepal
NIC Asia

उनले अँगालेको धर्मअनुसार छोराहरुले १३ दिनसम्म क्रियाकर्म पूरा गरेका छन् । पिता गुमाएको शोकमा, सेतो पोशाक लगाएर बसेका छोराहरु मलिन थिए । नहुन् पनि कसरी, जसले आफूलाई जन्म दिने पिताबाहेक, अभिभावक, मार्गदर्शक र पथप्रदर्शक जो गुमाएका थिए ।  तर, उनीहरु एक्लो थिएनन्, पिता उनीहरुले गुमाएका थिए, शोकमा पूरै पोखरा थियो । केसीको निधन र निधनपछि शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्न र सहानुभूति प्रकट गर्न आएका मानिस देख्दा लाग्थ्यो, केसीको परिवार संख्यामा मात्र सीमित थिएन, असंख्य थियो ।

पाँचौदिनमा केसीको निवास पुग्दा क्रियापुत्री स्थानमा तीन दाजुभाइ शान्तमुद्रामा मौनरुपमा बसेका थिए । उमेरले जेठो छोरा हुन्, प्रकाश त्यसपछि क्रमशः किरण र रोशन । कुराकानीको सुरुवातमै तीन छोराको एकै स्वर सुनियो, “हामीले पिता मात्र मानेका थिएनौँ, हामीलाई गाइड गर्ने, मार्ग देखाउने मार्गदर्शक पनि हुनुहुन्थ्यो ।”
हामीले सोध्यौँ, बाल्यकालको कुरा, यौवनवयको कुरा र अहिले व्यवसायमा लागेको कुरा, कसरी पिताले यहाँसम्म आउन प्रेरणा दिनुभयो, गाली गर्नुभयो, सल्लाह दिनुभयो, सुझाव दिनुभयो ?

आँखै अगाडि देखिएका पिता आज छैनन् भनेर सम्झन पनि उनीहरुलाई गाह्रो भइरहेको थियो । तर, पितालाई नसम्झिने क्षण पनि त थिएन ।

बिस्तारै उनीहरु खुल्दै गए ।

जेठा छोरा प्रकाश भन्छन्, “स्वास्थ्यको ख्याल गर्नुहोस बुबा । भन्थेँ । सबैले भन्थे स्वभाविक नै थियो । उहाँ सानै उमेरमा प्रधानपञ्च हुनुभयो । सबैको काम गरिदिनुपर्ने । उहाँ त्यसअघि निर्माण व्यवसायी हुनुहुन्थ्यो । धेरैसँग भेट हुन्थ्यो, चिया खाउँ भन्ने अनि खाइहाल्ने । कोक, फ्यान्टा खानुपर्ने । सबैलाई माया गर्ने । ल एकछिन बसौँ न भन्ने बानी थियो । बेवास्ता भन्ने उहाँमा थिएन । खासै रिसाएको याद छैन ।”

एक अनुच्छेदमा पितालाई उनले सम्झिए ।

एक उद्योगी, व्यवसायी, राजनीतिज्ञ, समाजसेवीको परिचय एकै अनुच्छेदले नसमेट्ला । उहाँको सिद्धान्त, धर्म र कर्म भनेकै काम थियो ।

किरण सम्झिन्छन्, “उहाँजत्तिको व्यक्तित्वमा हुनुपर्ने गुण भएको व्यक्ति देखेको छैन । जति व्यस्त भएता पनि कहिल्यै पनि कुबाटोतिर लागेको हामीलाई थाहा छैन । उहाँको सिद्धान्त नै काम थियो, कर्म पनि धर्म पनि ।”

कान्छा छोरा रोशन भन्छन्, “म कान्छोे थिएँ, कान्छो हुनुको माया पनि पाएँ । पुलपुल्याएर पालिएको थिएँ । कक्षा १० पास नगर्दै बाइक किनिदिनुभएको थियो । कक्षा १२ पास गरेपछि अमेरिका जाने लहर थियो । म पनि जान्छु भनेँ । बुबाले भन्नुभयो, इञ्जिनियर पढ, यत्रो हाइड्रो, कन्सट्रक्सन छ, यहीँ बस्नुपर्छ केही गर्नुपर्छ, देश बनाउनुपर्छ भनेर इन्करेज गर्नुभयो । अनि म गइनँ । पुल्चोक इञ्जिनियरिङ पढ्ने बेलामा बुबाले सिंगापुरबाट होन्डाको बाइक किनिदिनुभयो । त्यो नेपालमा चढ्ने म मात्रै थिएँ ।”

बुवाप्रतिको उनीहरुको स्मृति अब केवल स्मृतिमा मात्रै सीमित छ । हामीलाई विद्यालय फरक ट्याग लगाउँथे ।  पिता कीर्तिबहादुर केसी निर्माण व्यवसायी । विरासतमा पाएको त्यो व्यवसाय सम्हालेका थिए सूर्यबहादुरले । त्यो बेलाका सफल निर्माण व्यवसायी थिए । पोखरादेखि नेपालगञ्ज, चितवनसम्मका निर्माण व्यवसायको ठेक्का उनैलाई पथ्र्यो ।

परिवारमा हातमुख जोर्नको चिन्ता थिएन । त्यही परिवारमा जन्मिएका थिए, तीन दाजुभाइ । बाल्यकालदेखि विद्यार्थीकालसम्म उनीहरुले कहिल्यै यो पुगेन भनेर गुनासो गर्नुपरेन । पिताले सबै जुटाइदिएका थिए । कहिल्यै गाली गर्दैनथे । त्यो बेलाका राम्रै विद्यालयमा भर्ना गरिदिएका थिए । तर, राजनीतिमा पनि लागेका व्यक्तिको आलोचना भयो । नहोस् पनि कसरी त्यतिबेला बहुदलको आन्दोलनले हाँगा फिँजाउन थालेको थियो, केसी थिए तत्कालीन प्रधानपञ्च ।

रोशन सम्झिन्छन्, “बहुदलमा उहाँलाई अप्ठ्यारो स्थिति थियो । उहाँलाई धम्की आएको भन्ने सुनिन्थ्यो । त्यस्तो असहज स्थितीमा विद्यालयमा भर्ना हुन पनि मण्डलेको छोरा भनेर ट्याग लगाउँथे । त्यसकारण म र भाई (रोशन) देहरादुन पढ्न लिएर जानुभयो । मण्डलेको छोरा भनेर विद्यालयमा प्रेसर आउँथ्यो ।”
बहुदलको राप र छोराहरुको विद्यालय जाने उमेर भएपछि उनले नेपालमा पढाउन सुरक्षित ठानेनन् ।    

सन् १९९१ को एक बिहान उनले छोराहरुलाई लिएर देहरादुनतर्फ लागे । श्रीमती पनि साथमै थिइन् । रोशन सम्झिन्छन्, “ड्याडीले हामीलाई लगेर छाड्नुभयो । ममीचाहिँ रोइरहनुभएको थियो । १९९१ को कुरा हो ।” उक्त दिन दुई दाजुभाईले आमाको मात्र होइन, बुबाको पनि आँसु देखे प्रत्यक्ष होइन, अनुभूतिमा ।

“मैले उहाँलाई कहिल्यै रोएको देखेको थिइनँ । मलाई याद छ बुबा बाथरुममा गएर रोएर फर्कनुभयो । तर, उहाँले आँसु देखाउनुभएन । बेलाबेलामा चिठी लेख्नुहुन्थ्यो । उहाँले चिठीको जवाफमा पनि यसरी लेख्नुहुन्थ्यो कि, “तिमीहरु आफैँ समझदार छौ बाबु, राम्रो बाटो नराम्रो बाटो के लिने तिमी र भाइलाई थाहा छ । कक्षा चारमा पढ्ने बेलामा पनि उहाँले हामीलाई जिम्मेवारीको अनुभव गराइदिनुहुन्थ्यो । त्यसकारण कुबाटोमा लाग्ने बेलामा पनि बुबआमाको अनुहार याद आउँथ्यो ।”

बसपार्कको जेरी र फाइभस्टारको डिनरबीचको ग्याप नै जीवन हो । केसीको निर्माण व्यवसायदेखि राजनीति र उद्योगको साम्राज्य फैलिइसकेको थियो ।  उनी थप व्यवसायमा हात हाल्न खोजिरहेका थिए । तर, उनलाई एउटा भरपर्दो, विश्वासिलो र विरासत धान्न सक्ने व्यक्तिको खोजी थियो । त्यसकै लागि उनले आफ्ना तीन छोराहरुलाई तयार गरिरहेका थिए । 

बुबाले साथमै राखेर हिँडाउने समयमा उनका छोराहरु कोसौँ दूर आफ्ना पिताले लिएको सपना साकार पार्न परिश्रम गरिरहेका थिए । देहरादुनबाट फर्केपछि किरण लन्डन लागेका थिए । प्रकाश स्विट्जरल्यान्ड थिए । घरमा थिए कान्छा छोरा रोशन ।

किरण सम्झिन्छन्, “एकदिन बुबाले खबर गर्नुभयो । अब आइज, मलाई सहयोग गर्नुपर्छ, कामहरु मिलेर गर्नुपर्छ । मैले दुई महिनाको समय मागेँ । म उता भिजिसकेको मान्छे, बुबाको सोच विचार देखेपछि म फर्कने निर्णय गरेँ । फर्केपछि मलाई काठमाडौंमा राखेर भन्नुभयो, मैले तिमीहरुलाई खान बस्न पुग्ने व्यवस्था गरिदिएको छु, ठुलो कुरा आँटेको छु, सिमेन्ट फ्याक्ट्री, हाइड्रो खोल्ने सोचमा छु, यो बाटोमा लागौँ कि नलागौँ तिमीहरुको पनि निर्णयको कुरा हो, पछि तिमीहरुले सम्हाल्न सक्छौ कि सक्दैनौँ ?”

त्यो बेला हामीलाई जम्मा दुईदिनको समय थियो । हामीले भन्यौँ, “हामी पछाडि छौँ, आटौँ ड्याडी । हजुरले आँटेपछि हामी छौँ ।”

त्यहीअनुसार पोखरा होम्स, गण्डकी हाइड्रोतर्फ लाग्यौँ । 

भारतमा पढ्ने बेलामा छुट्टीमा आएका थियौँ । चितवनको रामपुर कृषि क्याम्पसको टेन्डर हाल्नको लागि हामीलाई सँगै लिएर जानुभयो । बिहान ५ बजे हिँडेको ७ बजे चितवन पुगियो । उहाँले बसपार्कमा हामीलाई जेरी पुरी ख्वाउनुभयो । हामीले दिनभर कुरेर बस्यौँ । टेन्डर पर्‍यो पनि ।

त्यही साँझ नारायणी होटेलमा डिनर गर्न जाने भन्ने कुरा भयो । त्यो समयको पाँचतारे होटेल नै त्यही थियो । त्यहाँ डिनर गर्ने बेलामा उहाँले भन्नुभयो, “जिन्दगी भनेको त्यो बसपार्कको जिन्दगीदेखि यही होटेलको बीच भागमा छ । यसलाई तिमीहरुले कसरी बुझ्छौ ? त्यहाँ गएर जेरी खान पनि सक्नुपर्छ, यहाँ आएर खाने बाटो पनि म देखाइदिन्छु ।”

प्रकाश भन्छन्, “बुबासँगै बस्ने बेलामा चाहिँ मलाई एकदम दुरदर्शी लाग्थ्यो । बैंक खोल्ने बेलामा पनि उहाँले दुरगामी नै सोच्नुभएको हो जस्तो लाग्छ । युवा, अनि बौद्धिक व्यक्तिसँग बस्ने आइडिया लिने, अगाडि बढाउने र कार्यान्वयन गर्ने उहाँको बानी थियो । कोही सानो भनेर उचनिच गर्नुभएन ।”
कान्छा छोरा रोशन इञ्जिनियर हुन् । केसी कन्सट्रक्सनले निर्माण गर्न लागेका हाइड्रो उनी आफैँले हेर्छन् । यो काम पनि उनलाई स्व. केसीले नै सिकाएका हुन् ।

रोशन भन्छन्, “यतिसम्म कि प्रोजेक्टहरु उहाँले फोनमै गर्न सक्नुहुन्थ्यो । गण्डकी जलविद्युत पहिलो परियोजना थियो, केसी कन्सट्रक्सनको । त्यो बेलामा बैंकबाट ४५ करोड जुटाएर सुरु भएको थियो । चेक कसरी दिन्छ, भन्ने समेत अन्योल हुने समय थियो त्यो । गण्डकी पछि टास्क, भगवती जलविद्युत गर्नुभयो । बिरामी भएर आइसकेपछि उहाँले रेष्ट लिनुभएन, लगातार काममै खटिनुभयो । चाउचाउ, बैंक, जलविद्युत उहाँले सुरु गर्नुभएको थियो । पछिल्लो समय रारा चाउचाउ विस्तार गर्नको लागि नेपालगञ्ज, बर्दिया, कृषिको लागि झापा, कास्कीकै सराङकोट क्षेत्रमा हेर्नुभएको थियो । जो सल्लाह लिन आउँथे बुबाले आफूले जानेको बताउनुहुन्थ्यो ।

अहिले हामीले पनि जलविद्युतको आयोजना हेरिरहेका छौँ । सामाजिक सेवामा उहाँ जानैपर्ने । कसैगरि जान नसके हामीलाई पठाउनुहुन्थ्यो ।”

कालिका बहुमुखी क्याम्पसमा केसी संस्थापक अध्यक्ष थिए । पोखराका प्रायः लगभग सबै मठमन्दिरमा उनको सहयोग छ । माछापुच्छे« बैंकदेखि रारा चाउचाउ त ब्रान्ड नै बने । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro