पोखरा । सूर्यबहादुर केसीले आफ्नो नामको पहिचान बनाउनुअघि धेरै जोखिम मोले र थोरैले त्यो देखे ।
उनका छोराहरुले एउटा घटना सम्झिन्छन् । छोरा रोशन सम्झन्छन्, “उहाँको जोखिम लिने क्षमता निकै थियो । पहिलो हाइड्रो गर्ने बेलामा हामी गएका थियौँ । गाउँलेहरु यसरी आए कि उनीहरुले अब पिट्छन् नै । त्यतिसम्मको आक्रोश थियो । भाइ र म गएका थियौँ । अलिकति लगानी पनि भइसकेको थियो । तर, त्यो आक्रोश देखेपछि हामीले भन्यौँ, “हामीलाई नपुग्दो के छ र ? किन गर्ने ? छाडिदिऊँ ।”
बुबाले भन्नुभयो, “तिमीहरुले नगरे नगर तर म गर्छु । उहाँको आक्रोश थियो ।”
तर, पछि जुन दिन त्यहाँ बत्ती बल्यो बुबाले भन्नुभयो, “तिमीहरुले त्यो दिन प्रोजेक्ट छाडेको भए तिमीहरुले कहिल्यै पनि आँट्न सक्ने थिएनौँ । पछिसम्म त्यही अनुभवले हामीलाई सिकायो, हामी पनि सिक्यौँ ।”
जसरी उनीहरुले पिताको जोखिमलाई प्रत्यक्ष देखे, त्यही जोखिम उनीहरुले पिताबाट लिनुपर्ने परिस्थिति आयो । यो सन् २०१० को कुरा हो ।
सूर्यबहादुर केसीको शरीर अस्वस्थ हुँदै गयो । शरीरमा सुगरको मात्रा निकै कम थियो । काठमाडौंको अस्पतालमा उपचाररत थिए केसी । शुभचिन्तक काठमाडौं नै पुगेका थिए । डाक्टरसँग सोधिरहेका थिए, “उहाँको स्वास्थ्य कस्तो छ ?” निराश जवाफ आउँथ्यो, “स्थिति गम्भीर छ ।”
भारत लगेर उपचार गर्ने कि भन्ने सल्लाह भयो । त्यसको निर्णयको जिम्मेवारी तीनै छोराको काँधमा थियो । यसलाई उनीहरुले सम्झिन्छन्, “निकै जोखिमपूर्ण र तत्काल लिनुपर्ने निर्णय थियो ।”
अन्ततः उनीहरुले आँटे, “जे पर्छ पर्छ, दिल्ली लैजाऔँ ।”
उनीहरु सम्झिन्छन्, “पछि उहाँलाई २०१० को कुरा हो, निमोनियाको कारणले गर्दा उहाँको स्वास्थ्यवस्था बिग्रियो । स्थिति गम्भीर थियो । भेन्टिलेटरमा राखेका थियौँ । तीनै दाजुभाई सँगै थियौँ । डाक्टरहरुले स्थिति गम्भीर छ भनिरहेका थिए । निर्णय हाम्रो हातमा थियो । त्यो अवस्थामा निर्णय गर्नु निकै कठिन थियो । अन्तिममा हामीले भन्यौँ, “जे पर्छ पर्छ, दिल्ली लैजाऔँ ।”
पछि उहाँको स्वास्थ्य सुधार भयो ।
सन् २०१० मा निमोनियाले गाँजेर मृत्युको मुखबाट उम्किएपछि डाक्टरको सल्लाह थियो, केही महिना रेष्ट गर्नुहोस् ।
छोराहरुले पटक पटक भने, “बुबा रेष्ट गर्नुहोस् ।” तर, उनले कहिल्यै आराम गरेनन् ।
मानौँ– आराम शब्द उनको शब्दकोषमा छैन । त्यो दिन पनि उहाँले बिहान तीन चारवटा फोन गरेर हाइड्रोको बाँकी रहेको कामबारे बुझ्नुभएको थियो ।
पहिलोपटक बिरामी भएर आइसकेपछि हामीले भन्यौँ, “बुबा, नपुग्दो के छ र ? बस्नुहोस्, विदेश घुम्नुहोस्, आराम तरिकाले जीवन जिउनुहोस् ।”
उहाँको जवाफ थियो, “म काम गरिरहेको मान्छे, मेरो दिमाग जुनदिन चल्न, बन्द हुन्छ, त्यो दिन म खत्तम हुन्छु ।”
कात्तिक १७ गते पनि उनले आराम लिएनन्, फोनबाट हुने काम फत्ते गरे । औषधि सेवन गरे । साँझमा छोराहरु आए, खुट्टामा लगाएका मोजाहरु खोलिदिए र सुताए । सोचेका थिए, “बुबा रेष्टमा हुनुहुन्छ, तर केसी दुनियाबाटै रेष्ट गरिसकेका थिए ।”