site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
यसरी सुरु गरिएको थियो रारा चाउचाउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्यबहादुर केसीसँगको मेरो सम्बन्ध पुरानो हो । मेरो बुबा र उहाँको बुबाबीचमा राम्रो सम्बन्ध थियो, मित्रता पनि । अघिल्लो पीँढिबाट नै पारिवारिक सम्बन्ध थियो ।

पोखरामा व्यवसाय गर्ने बेलामा पनि हामी सँगै भयौँ । उहाँ सानै उमेरदेखि व्यवसायमा सक्रिय हुनुभयो । उहाँको बुबा निर्माण व्यवसायी हुनुहुन्थ्यो । पोखराको पहिलो निर्माण व्यवसायी । म त्यतिखेर यातायात व्यवसायलाई छोडेर पोखरामा होटेल व्यवसाय थालेको थिएँ । मैले होटेल बनाउन सुरु गरेदेखि नै उहाँको र मेरो कुरा मिल्थ्यो । उहाँको घरमा काठको मिल थियो । मैले घर निर्माण गर्ने बेलामा काठको मिलमा काठ चिराउन जाँदा आउँदा बुबाहरुले हामी पनि साथीहरु हौँ, तिमीहरु पनि मिलेर काम गर्नुपर्छ भन्नुभयो । त्यही क्रममा दोस्ती बढ्दै गयो । 

...

Prabhu Bank
Agni Group
NIC Asia

हामी तयारी चाउचाउ बनाउने क्रममा लाग्यौँ । त्यो बेलामा चाउचाउ भन्ने शब्द पनि थिएन । फणिन्द्रमान श्रेष्ठ र मैले सबैभन्दा पहिला चाउचाउ बनाउने काम सुरु गर्‍यौं । 

उहाँ (फणिन्द्रमान श्रेष्ठ) अध्यक्ष र म प्रबन्ध निर्देशक भएर सुरुमा सिन्के चाउचाउ बनायौं । तर, त्यसको भविष्य देखिएन । त्यतिबेला हङकङबाट लाहुरेहरुले तयारी चाउचाउ ल्याउँथे । त्यो चाउचाउ टेष्ट गरेपछि यस्तो बनाउन सक्यौँ भने अगाडि बढ्न सकिन्छ भन्ने लागेर हामीहरुले तयारी चाउचाउ बनाउने सोच बनायौं । फणिन्द्रमान श्रेष्ठ अध्यक्ष, म प्रबन्ध निर्देशक, सूर्यबहादुर केसी र सुशील गोसेली हामी सुरुमा चारजना भयौं । पछि सुशीलले छोड्नु भयो । 

Global Ime bank

उहाँको बुबालाई त्यति चित्त बुझेन, मिलेर काम गर्ने कुरामा । हामी भने निरन्तर लाग्यौं । पोखरा ब्रिटिश गोर्खाका लाहुरेहरु धेरै बस्ने क्षेत्र । चाउचाउको कुरा सुन्नेबित्तिकै उनीहरु पनि आकर्षित भए ।  र, उनीहरुलाई पनि हामीले त्यो टिममा मिसायौं, चाउचाउको काम सुरु गर्‍यौं ।  चाउचाउ बनाउने क्रममा हामीलाई त्यति जानकारी पनि थिएन । सम्भाव्यता अध्यययन गराउँदा पोखरामा त्यसको सम्भावना छैन भन्ने रिपोर्ट आयो । बालाजुमा रहेको औद्योगिक सेवा केन्द्रले त्यस्तो रिपोर्ट दियो । पछि राजा (तत्कालीन राजा वीरेन्द्र) पोखरा गएको बेलामा निवेदन हाल्यौं । 

पोखरा क्षेत्रका उद्योगले चाउचाउ उत्पादनको काम गर्न लागेको तर सम्भाव्यता छैन भन्ने रिपोर्ट आयो भनेपछि पोखरामै गएर उत्पादनको स्वीकृती लिनू भन्ने भयो । यो वि.सं. २०३४ सालतिरको कुरा हो । त्यतिखेर विकास क्षेत्र घोषणा गरेर क्षेत्रीय विकास गर्ने भन्ने राजाको कुरा थिए । पछि राजाबाट हुकुम प्रमाङ्गिनै भयो ।  

...

हामीले सुरु गर्ने बेलामा १ डलरको भाउ ९ रुपैयाँ जति थियो । हामीले कुराकानी गर्दा गर्दै डलरको भाउ १२ रुपैयाँ पुग्यो । १२ रुपैयाँ पुगेपछि हामी ३–४ जनाले मात्रै लगानी गर्न सक्दैनौं, अरु पनि खोज्नुपर्छ भन्ने भयो । 

त्यसपछि अरु पार्टनरहरु पनि खोज्यौं । ब्रिटिश गोर्खामा काम गरेर रिटायर्ड भएर फर्किएका लाहुरे पूर्णबहादुर गुरुङ निस्कनु भयो । त्यसपछि मेरा काठमाडौंका विद्यार्थीकालदेखिका साथी जगतमोहन गौचन, चन्द्रमोहन गौचन पनि थपिए । पोखराका अरु साथीहरु पनि थपिए । हामी ७०–७५ जनाको लगानीकर्ताको टिम बन्यो र काम सुरु गर्‍यौं । 

हामीले सुरु गर्ने बेलामा ‘गण्डकी नुडल्स’ भनेर नाम राखेका थियौं ।  ३५ लाख बराबरको मेसिन जापानबाट झिकाउनुपर्ने थियो । त्यतिबेला विदेशी मुद्रा नियन्त्रणमा थियो, सजिलै साट्न पाइँदैनथ्यो । पैसा साट्नको अनुमति माग्यौं । उद्योग विभागमा ‘नुडल्स’ लेख्नुपर्नेमा ‘निडल्स’ लेखिदिएछन् ।  म प्रबन्ध निर्देशकको हैसियतले सरकारसँगको काम र व्यापार व्यवस्थापनको जिम्मा मेरो थियो । उत्पादनको काम फणिन्द्रमानजीले गर्नुहुन्थ्यो । हामीले काम बाँडेका थियौं । 

धेरै लामो समयसम्म पनि हाम्रो फाइल अगाडि नबढेपछि त्यतिखेर जिवनलाल सत्याल विभागको महानिर्देशक हुनुहुन्थ्यो । उहाँलाई भेटेर हाम्रो फाइल के भयो भनेर सोधेँ ।  उहाँले “तपाईँले के काम गर्न लागेको बाबु यस्तो ? सुरुमै यस्तो धन्दामा लाग्नुहुन्छ ?” भनेर उहाँ रिसाएजस्तो गर्नुभयो । ‘के भयो र हजुर ?’ भनेँ । “जाबो सियो उद्योग बनाउनको लागि ३५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा माग्ने ? के गरेको यो ?,” भन्नुभयो । 

हाम्रो त सियो उद्योग होइन भनेँ । के हो त ? भन्नुभयो । नुडल्स उद्योग भने । नुडल्स भनेको के हो ? सोध्नुभयो ।  नुडल्स भनेको यो हो एउटा चाउचाउको प्याकेट देखाएर उहाँलाई भनेँ ।  चाउचाउ भनेर चिनाउन पर्छ भनेर मैले एउटा प्याकेज ब्यागमै राखेर हिँड्ने गरेको थिएँ । चाउचाउको बारेमा व्याख्या गरेँ ।
त्यसपछि उहाँले ‘निडल्स’ भनेको भएर पो भन्नुभयो । पछि आफैँले फाइल ल्याएर हामीलाई दिनुभयो । त्यो बेलामा ‘नुडल्स’ भन्ने पनि थाहा थिएन । ‘निडल्स’ लेखिदिएको हुनाले हामीले दुःख पायौं । 

पछि रारा चाउचाउ राखेर विज्ञापन गर्न सुरु गरेपछि त्यतिबेला प्रज्ञा प्रतिष्ठानले बृहत शब्दकोश तयार पार्दै थियो । त्यो बेलामा चाउचाउ भन्ने शब्दको प्रयोग कसरी गर्नुभएको हो ? त्यो शब्दको बारेमा जानकारी दिइ सहयोग गर्नुहोला भनेर प्रतिष्ठानबाट चिट्ठी पनि आएको छ । यस्तो अवस्थामा हामीले चाउचाउ सुरु गरेका हौं ।
सूर्यबहादुर केसीजी पनि हामी चारजना लगानीकर्तामध्येकै हुनुभयो । उत्पादनको काम बढ्दै गइसकेपछि उहाँ फाइनान्स डाइरेक्टर हुनुभयो । 

फणिन्द्रमानजी अध्यक्ष, म प्रबन्ध निर्देशक र सूर्यजी वित्त निर्देशक भएर लामो समयसम्म उद्योग चलायौं । र, पछि मेरो अन्य पेशाहरु काठमाडौंमा बढ्दै गएर मैले चाउचाउ उद्योग छोडेँ । मैलेभन्दा अलि अगाडि फणिन्द्रमानजीले छोड्नुभएको थियो ।  मेरो र फणिन्द्रमानजीको सेयर पनि सूर्यजीले नै किन्नुभयो । त्यो उद्योग अहिलेसम्म निरन्तर राम्रो चलिरहेको छ । सार्क देशहरुमै रारा चाउचाउ पहिलो उद्योग हो । 

औद्योगिक मेला भएको थियो, काठमाडौंमा । त्यो मेला भएको बेलामा राजा वीरेन्द्रसँग धेरै कुराहरु गरेँ । उहाँले समस्या के छ भनेर सोध्दा मैले यसलाई सरकारले अन्तःशुल्क लगाइदिएको छ, त्यो छुट दिइएन, सरकारले कुरा सुनेन भनेँ । 
त्यसपछि राजालाई कन्भिन्स गरेपछि अन्तःशुल्क छुट गर्न हुकुम भयो र अन्य शुल्क छुट गरायौं । 

...

म २०–२२ वर्षको हुँदादेखि म उहाँसँग सम्पर्कमा आएँ । पछि पार्टनर भएर सँगै उद्योग पनि चलायौँ । राजनीतिक हिसाबले उहाँ पोखरामा प्रधानपञ्चको चुनाव लड्नुभयो । पञ्चायतप्रति मेरो त्यति सकारात्मक भूमिका थिएन तर पनि साथीको हैसियतले उहाँलाई सहयोग ग¥यौँ, जित्नुपनि भयो । 

पछि २०४६ सालको आन्दोलनको बेलामा पञ्चहरुलाई लखेट्ने क्रम चल्यो । 

हामी पञ्चायतविरुद्धको राजनीतिमा चिनिइसकेका थियौं । विद्यार्थीदेखि नै म अखिलमा सक्रिय भएको मान्छे हुँ, त्यै पनि उहाँको साथीको हैसियतले त्यो बेला म र हरि पाण्डेले उहाँलाई आक्रोशबाट जोगाउने काम गर्‍यौँ । यस्तो धेरै कुराहरु छन्, उहाँसँग सम्बन्धित । 

उहाँ साह्रै हँसखुस स्वभाव भएको व्यक्ति हुनुहुन्थ्यो । आफ्नो कुरामा दृढ । आफ्नो कुरा जसरी पनि गराइछाड्ने । तर, हाँसीहाँसी आफ्नो कुरा पूरा गराउन सक्ने क्षमता थियो । दृढ निश्चयी...। यो कुरा गर्छु भनेपछि गराइछाड्ने स्वभाव । सायद त्यही कारणले उहाँले धेरै सफलता पनि प्राप्त गर्नुभयो । 

उहाँले जलविद्युतमा काम गर्नुभयो । जलविद्युतमा राम्रो लगानी छ । निर्माण व्यवसायी हुनुभएको त उहाँको बुबाको पालादेखि नै हो । चाउचाउ उद्योग पनि राम्रोसँग चलाउनुभयो । धेरै साथीहरु उद्योगबाट बिदा भए । हँसिलो, रसिलो स्वभाव थियो । 

एउटा अनौठो उहाँको स्मरणशक्ति थियो । यत्रो कारोबार गर्ने मान्छेले नियमितरुपमा लेखापाल राख्ने, एकाउन्टेन्ट राख्ने काम धेरै पछि मात्रै गर्नुभयो । नत्र सम्झनाको भरमै यसो हो, उसो हो भनेर भन्न सक्ने अनौठो क्षमता थियो । धेरैपछि मात्रै आफ्नो निजी कार्यालयलाई अलि व्यवस्थित पनि गर्नुभयो । रारा चाउचाउ उद्योग त संस्थागत कल्चरअनुसार नै अगाडि बढाएका थियौं । 

अर्को जग्गा जमिन जोड्ने उहाँको सोख थियो । प्रशस्तै जग्गा जमिन किन्नुभयो, अझै पनि धेरै जग्गा छन् । मिलनसार हुनुहुन्थ्यो । समाजसेवी हुनुहुन्थ्यो । दान दातव्य गर्नको लागि पनि इच्छा गर्ने स्वभाव थियो ।

...

भारतमा चाउचाउ निर्यात गर्दा....

हामीले हाम्रो उत्पादन भारत पठाउन खोज्यौं । तर सरकारलाई कन्भिन्स गर्न सकेनौं । यो चाउचाउ भारतले लैजान दिँदैन भन्ने खालका कुरा सरकारले ग¥यो । तर आजिर हुसेन भन्ने भारतको वाणिज्य सचिव हुनुहुन्थ्यो । 
जो नेपाल–भारत वाणिज्य वार्ताको नेतृत्व पनि गर्नुहुन्थ्यो ।

उहाँले ललितपुरको छोरी विवाह गर्नुभएको थियो, लभ म्यारिज ।  उहाँ नेपालप्रति राम्रो सद्भाव राख्ने मान्छे हुनुहुन्थ्यो । भारतमा उहाँकै घरमै गएर मैले भेटेँ । भेटेर आफ्नो चाउचाउ भारतमा ल्याउन खोजेको बताए ।  तपाईँहरुले यसलाई सहमति दिनुप¥यो भने । मैले केही स्याम्पल पनि देखाएँ । उहाँले देखिसक्नु पनि भएको रहेछ । 
त्यसपछि म उत्साहित भएर नेपाल आएँ । यहाँ आएपछि त्यतिखेरका वाणिज्य सचिवलाई गएर सुनाएँ । उहाँले मैले भारतको वाणिज्य सचिवलाई भेटेँ भन्ने कुरा नै पत्याउनु भएन । मैले भेटेर आएको छु । नेपाल सरकारले एजेन्डामा राख्यो भने हामीले प्रश्न गर्दैनौं भन्नुभएको छ भने...मेरो कुरा सुनेर वाणिज्य सचिव हास्नु भयो मात्रै । 

वाणिज्य सचिवसँग कुरा गर्दा बद्री ओझा, ‘अफिसर अन स्पेसल ड्यूटी’ पनि हुनुहुन्थ्यो । उहाँलाई मैले पहिलेदेखि नै चिन्थेँ ।

उहाँले ‘भाइ तपाईँ बाहिर एकछिन बस्नुहोस् । म तपाइसँग कुरा गरौंला’ भन्नुभयो । बाहिर कुरेर बसेँ । पछि उहाँले भित्र लैजानु भयो र भन्नुभयो, “साँच्चै तपाईँले आजिर हुसेनलाई भेट्नुभएको हो ?” भन्नुभयो । उहाँलाई मैले विद्यार्थीबेलादेखि नै चिन्थेँ, “हो दाइ मैले भेटेरै आएको हो, भनेर भनेँ । भारतको वाणिज्य सचिव हुसेनसँग भएको कुरा सबै भनेँ ।”

पक्का हो नि ! पछि विवाद त हुँदैन ? भन्नुभयो । मैले भेटेरै आएको हो । 

“तपाईँको सरकारले एजेन्डामा राख्यो भने हामी इन्डोर्स गर्छौँ भन्नुभएको छ,” मैले भनेँ । त्यसपछि उहाँले ‘म एजेन्डामा राखिदिन्छु, मलाई अप्ठ्यारोमा नपार नि’ भन्नुभयो । हुन्छ भनेँ । 

नभन्दै उहाँले एजेन्डामा राखिदिनुभयो र त्यो एजेन्डामा भारत सहमत पनि भयो । कुनै प्रश्न नगरी नेपालबाट तयारी चाउचाउ भारत जान सक्ने भन्ने निर्णय भयो । त्यसपछि हामीले पठाउन सुरु गर्‍यौं । 

तर, भारतमा कस्तो दुःख दिए भने जहाँ जहाँ चाउचाउ पुग्यो, त्यहाँ त्यहाँ नोटिफिकेसनमा चाउचाउ छ, भित्रको सुप कहाँ भनेको छ ? भन्न थाले । चाउचाउ ल्याउन दिएको हो, सुप होइन भनेर दुःख दिए । उनीहरुले आफ्नो राष्ट्रिय हितअनुसार सोचेको भन्नुहोस् वा दुःख दिने नियतले भन्नुहोस् अथवा वद्नियत । हामीले एक वर्षजति दुःख गर्‍यौँ । धेरै ठाउँमा भारतका मान्छेहरुले चाउचाउ मन पराउन थालिसकेका थिए । त्यहाँ पनि म्यागीबाहेक अर्को चाउचाउ थिएन । तर, पछि हामीलाई धेरै गाह्रो भएर निर्यात गर्न बन्द गर्‍यौं । 

...

हामीलाई चाउचाउ कसरी खाने भनेर सिकाउन पनि हामीलाई समस्या भयो । त्यसपछि हामीले ठाउँठाउँमा चाउचाउ पकाएर खुवाउने, मेला लाग्दा पकाएर खुवाउने गर्‍यौं । काठमाडौंमा थापाथलीस्थित राष्ट्र बैंक अगाडि ‘नुडल्स पार्लर’ भनेर पसल खोलेर पकाएर खुवाउन नै थाल्यौं । 
जागिर नपाएका ‘ग्राजुयट’हरुको एउटा समूह थियो, १०–१२ जनाको समूहलाई मोटिभेट गर्‍यौं । भाडा हामीले ५० प्रतिशत तिरिदिन्छौं अरु तपाईँहरुले चलाउनुहोस् भन्यौं । 

चाउचाउ सस्तोमा दियौं । उहाँहरुले चलाउनुभयो । त्यहाँ एउटा सेन्टरजस्तो बन्यो । स्नातक पास गरेका तर वेरोजगार भएकाहरुले चलाएको भनेर पनि प्रचार भयो । त्यो बेलामा पढेको भन्ने वित्तिकै ठुलै मान्छे भन्ने थियो । पढेकाले पसल खोल्ने भन्ने कुरा थिएन । त्यसले गर्दा काठमाडौंको एउटा सेन्टर पोइन्ट जस्तो भयो कुनै बेला त्यो पसल । त्यसरी हामीले चाउचाउको प्रबद्र्धन गर्‍यौं ।

हामीले चाउचाउ उत्पादन गर्दा भारतमा उत्पादन पनि भएको थिएन । तर हामीले उत्पादन सुरु गरेको ३ महिनामा नै ‘म्यागी’ भन्ने भारतको चाउचाउ नेपालमा आयो । त्यसले हामीलाई धरासायी नै बनाउने हिसाबले आक्रामक मार्केटिङ्ग ग¥यो । सामान बेचेर पैसा देऊ भन्ने, उधारो दिने, पसल सजाउने विभिन्न सामान दिनेजस्ता काम गर्‍यो । तर, नेपाली ग्राहकले म्यागीभन्दा रारा चाउचाउलाई नै मन पराए । 

त्यतिबेला पार्टीहरु प्रतिबन्ध थिए । पार्टीका नेता, कार्यकर्ताहरुले पनि हामीलाई सहयोग गरे । के भनेर सहयोग गरे भने, स्वदेशी उत्पादनलाई धरासायी बनाउन सरकारले विदेशी उत्पादनलाई प्रोत्साहन दिएको छ भने । हुनत म्यागीले नै आफ्नो खर्च गरेर मार्केटिङ्ग गरेको थियो तर भूमिगत भएका पार्टी नेताहरुले राष्ट्रियतालाई समेत रारा चाउचाउलाई जोडे । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न राष्ट्रिय उत्पादनलाई दिएन भन्ने खालको कुराले पनि यो हाम्रो नेपाली उत्पादन हुने भन्ने भयो । 

हामीसँग प्रतिस्पर्धामा आउन नसक्ने भएपछि म्यागीले ‘जोइन्ट भेन्चर’ मै काम गरौं भन्ने प्रस्ताव गर्‍यो । हामीले छलफल पनि गर्‍यौं । केही साथीहरु उत्साहित पनि हुनुभएको थियो तर उसले रारा ब्रान्ड कन्टिन्यू नगर्ने प्रस्ताव गरेको थियो, त्यो प्रस्ताव हामीले मानेनौं । 

त्यसपछि वाईवाई चाउचाउ आउनुभन्दा अगाडि वाईवाईसँग ‘जोइन्ट भेन्चर’मा जाने हो कि भनेर प्रारम्भिक चरणमा कुराहरु पनि गरेका थियौं तर हाम्रो कुरा मिलेन र हामीले छोड्यौं । महेन्द्र पाण्डे भन्नेले ल्याउनुभएको थियो । उहाँसँग पनि नभएपछि विनोद चौधरीले लिएर सुरु गर्नुभएको हो । 

...

केसीको योगदान...
उहाँ राष्ट्रिय उद्यमी हो । उहाँले एकपछि अर्को लगानी बढाउँदै जानुभयो । कतिपय व्यवसायीहरुले एक ठाउँबाहेक अर्को ठाउँमा लगानी गर्दैनन् ।  एक ठाउँमा बाहेक अरु ठाउँमा योगदान गर्दैनन् । उहाँले आर्जन गरेको कुराहरुलाई लगेर प्रयोग गर्नुभयो । आफ्ना छोराहरुलाई पनि उद्योग व्यवसायमा संलग्न गराउनुभएको छ । 
लगानी गर्ने, उद्योग व्यवसायीलाई फस्ट्याउनुपर्छ, अर्थतन्त्रलाई सवल बनाउनुपर्छ भन्ने सोंच थियो । र, त्यसअनुसार जस्तो जलविद्युत आयोजनामा एकपछि अर्को गर्दै चारवटा जति आयोजना बनाउनुभयो । यो रारा चाउचाउ पनि पछि विस्तार गर्नुभयो । क्षमता बढाउनुभयो । काठमाडौंबाहेक पनि सुदूरपश्चिममा अर्को कारखाना तयारी अवस्थामा पुर्‍याउनुभएको छ । एउटा लगानीलाई देशको अर्थतन्त्रसँग विकासमा उहाँको भूमिका महत्वपूर्ण छ, गर्नुभयो ।

हामीले कारखानाको काम ३४–३५ सालबाट सुरु गरे पनि रारा चाउचाउको उत्पादन २०३९ साल माघ २३ गतेदेखि सुरु भएको हो ।  र, जुनबेला हामीले सुरु गर्‍यौं, त्यो बेला रारा चाउचाउ सुरु गर्ने बेलातिर नै लक्ष्मी ग्रुपका गणेशबहाजुरजी र हामी सँगसँगै जस्तो आएका थियौं । त्यो बेलाको उद्योग क्रान्ति भने पनि हुन्छ त्यो क्षेत्रको । व्यापार मात्रै होइन उद्योग गर्नुपर्छ भन्ने अभियानकर्मीमध्ये एक हुनुहुन्थ्यो, सुर्यबहादुर केसी । 

अर्को कुरा के छ भने त्यतिखेर उद्योग व्यवसाय गर्ने भन्ने वित्तिकै (अहिले त सबैजसो छन्) की मारवाडीहरुले गर्ने की नेवार समुदायले गर्ने थियो । अरु जातका मान्छेहरुले उद्योग व्यवसाय गर्ने कुरा थिएन ।  पोखराजस्तो धेरै जसो गुरुङ, मगरहरु भएको ठाउँमा ठूलो गुरुङहरुको समूहलाई उद्योगमा सहभागी बनायौं । त्यसमा पनि उहाँको भूमिका छ । उहाँका अरु साथीहरुलाई पनि त्यहाँ ल्याउनुभयो ।

...

राजनीतिक हिसाबले पनि उहाँ प्रधानपन्च हुनुभयो । त्यसपछि राप्रपाको केन्द्रीय कोषाध्यक्ष पनि हुनुभयो । राप्रपातर्फबाट सांसद हुनुभयो । पछि कांग्रेसतर्फबाट पनि सांसद् हुनुभयो । 

कांग्रेसमा जानुभन्दा अगाडि एमालेमा जाने तयारी पनि थियो तर केही प्राविधिक कारणले उहाँ एमालेमा जानुभएन । कांग्रेसमा प्रवेश गरेपछि पनि सांसद हुनुभयो । जहाँ जता भए पनि उहाँको विशेषता के थियो भने सबैसँग मिल्ने, पूर्वाग्रह नराख्ने । कसैसँग विवाद भयो भने सहनै नसक्ने स्वभाव पनि थियो । 

त्यतिखेर एक पटक प्रधान पञ्चसँग विवाद भयो, घर बनाउने कुरामा । त्यो विवादले उहाँलाई राजनीतिमा डोर्‍यायो । 

प्रधान पञ्च म पनि बन्न सक्ने मान्छे हुँ भनेर प्रधान पञ्च भइछाड्नुभयो । त्यसकारण दृढ निश्चयी र आफ्नो कुरा गराइछाड्ने, त्यो स्वभाव थियो । 

उहाँको एउटा खराब बानी भन्ने कि के भन्ने खाना कतिखेर खाने भन्ने उहाँले याद गर्नुहुँदैनथ्यो । आफ्नो स्वास्थ्यको ख्याल नगर्ने । कहिलेकाहीँ त दिनभर पनि नखाने । कहिलेकाँही भेट हुँदा तपाईँले खाना खानुभयो भनेर सोध्दा ओहो दाई ! मैले त हिजै बेलुका खाएँ कि खाइन है भन्ने । ल ल अब खान पर्‍यो भनेर खाने । कामको धुनले त्यस्तो । 

काठमाडौंमा आएको बेलामा त्यो बेलामा सजिलो साधन थिएन, प्लेन समयमा उड्दैनथे । काम पोखरामा पर्‍यो भने बिहान ४ बजे उठेर मोटरसाइकल लिएर पोखरा पुग्ने । काठमाडौं आउनुपर्‍यो भने त्यसैगरी आउने । कहिँ जानुपर्‍यो भने हिँडिहाल्ने, दौडिइहाल्ने हिँडिहाल्ने । गरम् भनेको कुरालाई भोलि गरौँला, पर्सि गरौँला भन्ने खालको स्वभाव थिएन । कुनै काम गर्ने भनेपछि गरिहाल्ने ।

उहाँ ७ महिनामा जन्मनुभएको हो । आफ्नो स्वास्थको बारेमा त्यति ख्याल नगर्ने कारणले पछि उहाँलाई गाह्रो भयो । अहिलेको बेलामा ६३ वर्षको उमेरमा जानु भनेको अल्पायुमै जानुभयो भन्ने हो । स्वास्थ्यप्रति अलि ध्यान दिनुभएको भए सायद उहाँ बाँच्नुहुन्थ्यो होला । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !