site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गाईजात्रे’ संसद्

सरकारले कोरोना महामारीको व्यवस्थापन गर्न नसकेका कारण जनताले दुःख पाएका छन् । बिरामीका लागि अस्पतालमा बेड छैन । अविभावकीय भूमिका खेल्नुपर्ने बेला सरकार तमासे भएको छ । यति नै बेला ठूला भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भएका छन् । देशको अर्थतन्त्र चौपट छ । कामको अभावमा लाखाैं श्रमिक भोकभोकै बाँच्न बाध्य छन् । 

यस्तो बेलामा मुलुक र जनताका समस्या प्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्मा शहस हुनुपर्ने हो । जनताका लागि सहायता कार्यक्रम ल्याउन संसद्ले सरकारलाई निर्देशन दिनुपर्ने हो की होइन ? गम्भीर प्रश्न उभिएको छ ? 

कोरोनाका कारण संसद् बैठक बस्न नसकेको हो भन्ने कुरा उठ्न पनि सक्ला । तर, संसद् आफैँ सार्वभौम संस्था हो । सरकार सही बाटोमा गएन भने उसलाई सचेत गराउने, निर्देशन दिने अनि देश र जनताको पक्षमा काम गर्न बाध्य बनाउने जिम्मेवारी पनि उसैसँग छ । संसद्ले आफ्नो बैठक सञ्चालनको विधि र प्रक्रिया आफैँ निर्धारण गर्न सक्छ । अहिले सारा संसार ‘भर्चुअल’ दुनियाँमा परिणत भएको छ । हाम्रो संसद्लाई देश र जनताको पक्षमा काम गर्नका लागि ‘भर्चुअल बैठक’ गर्न केले रोकेको छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको इतिहासमै यस प्रकारको कष्ट जनताले भोग्नु परेको थिएन । यस्तो बेला सदनले जनताका विषय उठाउन र तिनको सम्बोधन भएन भने संसद्को औचित्य के ? लोकतन्त्र संविधानमा काला अक्षरले लेखेरमात्र सफल हुँदैन । लोकतन्त्रको सफलताका लागि जनप्रतिनिधिले जनतालाई त्यसको अनुभूति दिलाउन सक्नुपर्छ । जनप्रतिनिधिलाई हेक्का हुनु पर्छ त्यसो गर्न सकिएन भने हाम्रो संसद् राणाकालकै जस्तो ‘गाई जात्रे’ संसद् हुन बेर लाग्दैन । यो चर्चा राणाकालको संसद्मा केन्द्रित छ । 

सात दशकअघिको घटना हो । नेपाली कांग्रेसले क्रान्तिको तयारी तीव्र बनाएको थियो । राणाविरुद्ध चुइक्क बोल्न नसक्ने जनता बिस्तारै जागरुक हुँदै थिए । राजधानी काठमाडौंमा दिनहुँजसो नारावाजी र जुलुस भइरहेकै थिए । 

Global Ime bank

यसबीच भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको निमन्त्रणामा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरको दिल्ली यात्रा तय भयो । भारत जानुअघि उनी एकदमै हडबडाएका थिए । राणाहरुबीचको अन्तर्कलह र कांग्रेसको  आन्दोलनका कारण अप्ठेरोमा परिन्छ कि भन्ने डर उनलाई थियो । ज्योतिषीको सल्लाहबेगर कुनै कदम नचाल्ने महाराज मोहनले भारत हिँड्नुअघि देशका सबैजसो प्रख्यात पीठमा पूजा र पञ्चबलि चढाइसकेका थिए । ‘त्यस बखतको नेपाल’ पुस्तकमा सरदार भीमबहादुर पाँडे लेख्छन् — ‘दक्षिणकालीमा पञ्चबलि चढाई त्यहीँबाट दिल्ली जाने हो भने यात्रा सफल हुन्छ भन्ने राजज्योतिषीको सल्लाहबमोजिम मोहन शमशेरले २००६ साल फागुन ४ दक्षिणकालीमा पञ्चबलि चढाए । अनि कुलेखानीको बाटो हुँदै महाराज भारतको यात्रा सुरु गरे ।’ 

दुई सय जनाको टोलीका साथ रेल रिजर्भ गरी महाराज दिल्ली जाँदै थिए । त्यसअघि नेपाली कांग्रेसको आन्दोलन दबाउन उनले तन, मन र धन खर्च गरेका थिए । भ्रमणअघि गाैँडा गाैँडामा कांग्रेसी पहिचान गरी कारबाही गर्न जासुस परिचालन गरिए । अर्कोतर्फ क्रान्तिकारीहरु पनि महाराजको भारत भ्रमणका अवसरमा कुनै ‘एक्सन’ गर्ने योजनामा थिए । त्यसको तयारीका लागि थिरबम मल्लसहित मुक्ति सेनाका कमान्डरहरु लागिपरेका थिए । आन्तरिक रणनीतिको सूचना नचुहियोस् भन्नका लागि सतर्कता अपनाइएको थियो । सत्तापक्ष पनि के कम । विरोधीका सूचना पाउन त्यसभन्दा कैयाैँ गुणा लगानी गरिरहेको थियो । जतिसुकै गोप्यता कायम गरे पनि कांग्रेसले बनाएका क्रान्तिसम्बन्धी सूचना राणा सरकारसम्म पुगिहाल्थ्यो । 

नेपाली कांग्रेस नेता रामहरी जोशीले ‘नोभेम्बर क्रान्ति’ नामक पुस्तकमा लेखेका छन् — ‘एक दिन राति दस बजे हामी बस्ने कोठामा थिरबम मल्ल आए । उनले गणेशमानजीसित अलग्ग गएर केही कुरा गरे । त्यसपछि गणेशमानजीको अनुहारमा चिन्ताको भाव देखिन थाल्यो । मैले मनमनै अडकल काटेँ अवश्य पनि केही न केही कुरा बिग्रेको हुनुपर्छ ।’ मल्लसँग कुरा गरेको त्यो रात गणेशमान बेचैनीले सुत्नै सकेनन् । तर, त्यसको कारण भने रामहरीलाई थाहा हुन सकेन । धेरै समयपछि मात्र कांग्रेस नेता तेजबहादुर अमात्यबाट जोशीले त्यो दिन गणेशमान नसुत्नुको रहस्य थाहा पाए — ‘मोहन सिंह भन्ने एक जना कांग्रेस कार्यकर्ता रहेछन् डोटीतिरका ।

बेलायती सेनामा काम गरेका उनले खद्दरको चुडीदार पाइजामा र कुर्ता लगाएर राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकीकरण सम्मेलनका भाग लिएका थिए । ‘सम्मेलनमा उनका ठूला ठूला कुराबाट प्रभावित भएर पार्टी हाइकमान्डले केही गोप्य कामको अभिभारा सुम्पेर रक्सौल पठाएको थियो ।’ पार्टीको काममा आफू सक्रिय रहेको देखाउनु उनको नाटकमात्र थियो । शीर्ष नेताहरुलाई रिझाएर जिम्मेवारी पाएपछि उनी पार्टीका गोप्य सूचना राणासम्म पुर्‍याउने काममा सक्रिय भए । आफैँले पार्टीमा जिम्मेवारी दिएर खटाएका मोहन सिंहको वास्तविकता थाहा पाएपछि थिरबम मल्ल र गणेशमान सिंह तनावमा थिए । 

यस प्रसंगमा जोशीले एकपटक पेप्सीकोला स्थित निवासमा लेखकलाई सुनाएका थिए — ‘दिनभर कांग्रेसका कार्यकर्ताका रुपमा काम गर्ने र राणाविरुद्ध चर्का कुरा गर्ने मोहन सिंह राति चाही मुसलमान महिलाको रुपमा बुर्का (घुम्टो) ओढेर गुप्तरुपले वीरगञ्जका बडाहाकिमसित भेट्दा रहेछन् । अनि पार्टीका जम्मै गोप्य कुराहरु बताउदा रहेछन् । बडाहाकिमले नै उनलाई राति कांग्रेसको क्याम्प रक्सौल नजिकसम्म पुर्‍याउने व्यवस्था गर्दा रहेछन् । हरेक दिन मुसलमान महिलाले बडाहाकिमलाई भेट्ने गरेको विषय सरकारी कर्मचारीबीच पनि खुबै चर्चा हुनेगरेको थियो । उनीहरुसमेत कानेखुसी गर्दा रहेछन् — को होली त्यो रहस्यमयी बुर्कावाली भनेर ।’

महाराज मोहनशमशेरका छोरा विजयशमशेरको निजी सचिवका रुपमा काम गरेका प्रशासक भीम बहादुर पाँडेले लेखेका छन्  — ‘कांग्रेस कार्यकर्ताको रुपमा काम गरिरहेका कालु पाँडे नामका मानिसले कांग्रेसको कार्यसमितिमा छलफल भएका सबै विषय बारे महाराज मोहन शमशेरलाई रिपोर्ट गरिरहेका थिए । पाल्पाका बडाहाकिम रुद्रशमशेर र उनका छोराहरु कांग्रेससँग मिलेका छन् भन्ने खबर पनि कालु पाँडेले नै मोहन शमशेरसम्म पुर्‍याएका थिए ।’ 

प्रधानमन्त्री मोहनशमशेर भन्ने गर्थे — भेँडाबाख्रा चराउनेले (जनता) राजकाजको काम चलाउन सक्दैनन् । तथापि अन्तर्राष्ट्रिय समुदाय खासगरी भारतलाई सुधारको पक्षमा आफू रहेको देखाउन हतार हतार राणा परिवार र चाकडीवाजहरुलाई राखेर उनले संसद् बनाउने अभियान सुरु गरे । संसद्का लागि प्रतिनिधि पठाउनु भनेर जिल्लाका बडाहाकिमहरुलाई आदेश जारी गरे । उनीहरुले पनि मनपरेका व्यक्तिहरुको नाम पठाइदिए । यसरी २००६ साल अश्विन ७ गते राष्ट्रसभा र भारदारीसभा गरी दुई सदनात्मक संसद्को संयुक्त बैठक सिंहदरबारस्थित ग्यालरी हलमा प्रधानमन्त्री मोहनशमशेरले आफैँ उद्घाटन गरे । आफैँले तयार गर्न लगाएको भाषण पढे । त्यो समारोहमा भारत र बेलायतका राजदूतलाई समेत निम्त्याइएको थियो । 

काठमाडौं सहरमा गाईजात्रा सकिएको केही दिनपछि नै गाईजात्रे चालले गठन गरिएको हुनाले त्यसलाई गाईजात्रे संसद् भनिएको थियो । 

यस बीच २००७ साल कात्तिक २१ गते सिकार गर्नेे बहानामा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । राजालाई फिर्ता गराउन भएका अनेकाैं प्रयास सफल नभएपछि राणाहरु संकटमा परे । राजाको मृत्यु हुँदा पनि गद्दीको उत्तराधिकारी युवराजाधिराजलाई राजा बनाएपछि मात्र दाहसंस्कार गर्ने चलन थियो ।

राजाको अनुपस्थितिमा युवराज र उनी पनि नभए नवयुवराजलाई राजा बनाउनु पर्ने । तर, सिकारका लागि दरबारबाट निस्किएका राजा त्रिभुवन, युवराज वीरेन्द्र कोही पनि फर्किएनन् । अनि मामा घरमा छुटेका राजाका माहिला नाति शाहज्यादा ज्ञानेन्द्रलाई राजा बनाउने निर्णयमा (कात्तिक २१ गते) राणाहरु पुगे । भाइ भारदारहरु र कथित संसद्का सदस्यहरुलाई कात्तिक २२ गते बिहान ७ बजे सिंहदरबारमा सामेल हुन उर्दी पठाइयो ।

त्यो बेला धेरै सांसद काठमाडाैंबाट घर गइसकेका थिए । त्यसैले त्यो दिन केहीमात्र उपस्थित हुन सके । शिर ब्यहोरा नै नलेखिएको कागजमा सही गरेर उनीहरु पनि फर्किए । भोलिपल्ट २००७ कात्तिक २३ गतेको गोरखापत्रमा संसद् सदस्य र प्रमुख पदाधिकारीहरुको सर्वसम्मतिबाट राजा त्रिभुवनलाई हटाएर उनका नाति ज्ञानेन्द्रलाई नेपाल नरेश बनाउने निर्णय भएको खबर छापियो । आफूले सही गरेको कागजमा के लेखिएको थियो भन्ने कुरा सही गर्नेहरुले गोरखापत्र पढेरमात्र थाहा पाए ।  

गाईजात्रा सकिएको केही दिनपछि बोलाइएकाले राणा विरोधीहरु भने त्यसलाई गाईजात्रे संसद् भन्ने गर्थे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय