site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निधिको उमेदवारी चर्चाले कांग्रेसमा तरंग,तानातानको प्रयास !

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षबाट विद्रोह गर्ने सम्भावना आंकलन गरेर सभापतिका आकांक्षी नेताहरु आ–आफ्नो तयारीमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्षका साथ आशन्न महाधिवेशनमा एकजुट भएर चुनावमा होमिने तयारीमा देखिएका आकांक्षीहरु निधिको सम्भावित विद्रोह अनुमान गरेर आ–आफ्नो तयारीमा जुटेका हुन् ।

देउवाइतर समूहमा रहेका नेताहरु निधिको उमेदवारीअघि देउवाविरुद्ध जसरी पनि एक उमेदवार बन्नुपर्ने तयारीमा थिए । तर निधिले कुनै पनि हालतमा कसैलाई नछाड्ने र आफू सभापतिको दाबेदार रहेको भन्दै छलफललाई तिव्रता दिएपछि इतरसमूहमा पनि एकभन्दा बढी उमेदवार बन्न सक्ने देखिएको कांग्रेस नेताहरु बताउँछन् ।
उपसभापति निधिले संस्थापन पक्षबाट विद्रोह गरेर उमेदवारी दिए इतर समूहमा रहेका सभापतिका आकांक्षीहरु आ–आफ्नै ढंगबाट अलग–अलग चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका आकांक्षी निकट स्रोतहरुको भनाइ छ ।

“निधिले उमेदवारीको तयारी गरेपछि कांग्रेसमा नयाँ तरंग आएको छ । सबैले आ– आफ्नो सम्भावना देख्न थाल्नुभयो,” संस्थापन इतर समूहमा आवद्ध एक केन्द्रीय सदस्यले भने । संस्थापन क्याम्पमा विद्रोह भए वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समूह पनि फुट्ने प्रवल सम्भावना रहेको र सोहीअनुसार आकांक्षीहरु आन्तरिक तयारीमा रहेका ती नेताको दाबी छ ।

उपसभापति निधिले उमेदवारी दिए उनलाई कमजोर उमेदवारका रुपमा आंकलन गरेर पौडेल समूहका आकांक्षीहरु पनि चुनावी मैदानमा होमिने सम्भावना पछिल्लो समय बढेर गएको ती केन्द्रीय सदस्यको भनाइ छ । उपसभापति निधि आगामी महाधिवेशनमा उठे सभापति देउवाको झण्डै ३० प्रतिशत मत घट्ने अनुमान ती नेताले गरे । 

“निधि उठ्नुभयो भने ठूलो गुट फुट्छ । त्यसबाट देउवाको २५ देखि ३० प्रतिशत स्ट्रेन्थ घट्छ । त्यो अवस्थामा कोइराला पनि एक हुँदैनन्,” ती नेताले भने ।

पहिलो चरणको चुनावमा दोस्रो भएर दोस्रो चरणको निर्वाचनमा देउवासँग प्रतिष्पर्धाका लागि पौडेल समूहका आकांक्षीहरुले योजना बनाउने ती नेताको भनाइ छ । 

उनले भने, “पहिलो चरणको चुनावबाट दोस्रो हुन धेरै आकांक्षी मैदानमा आउँछन् ।”  उपसभापति निधिले सभापति पदको उमेदवारीका लागि आफ्नो क्याम्पमा विद्रोह नगरे इतर समूहमा मिलेरै अगाडि बढ्ने कसरत हुने उनको बुझाइ छ ।  “फुटेनन् भने यता मिल्ने कसरत हुन्छ, मिल्नका लागि पनि आकांक्षीहरुमा दबाब बढ्छ । फुटे मिल्ने कसरत हुँदैन । आफू–आफू लड्छन्,” संस्थापन इतर केन्द्रीय सदस्यले भने ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरुले सभापति पदको उमेदवारका रुपमा आकांक्षा राख्दै आएका छन् । त्यस्तै निधिले विद्रोह गर्ने सम्भावना बढेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि हौसिएका छन् । निधिलाई कमजोर उमेदवार आंकलन गरेर पौडेल समूहबाट एकभन्दा बढी उमेदवार चुनावी मैदानमा आए आफू पनि होमिने तयारीमा सिटौला छन् ।

उनको सचिवालयले आगामी महाधिवेशनमा कुनै एक समूहलाई सघाएर जाने सम्भावना नरहेको दाबी गरेको छ । सचिवालय स्रोतले भन्यो, “उहाँ कसैसँग पनि मिल्नुहुन्न् । न सभापतिसँग न वरिष्ठ नेतासँग । एउटा पक्षसँग मिलेर जाने कुनै सम्भावना छैन ।” नेता सिटौला आगामी महाधिवेशनमा स्वतन्त्र हैसियत राख्ने गरी अगाडि बढ्ने तयारी गरिरहेका उनी निकट एक नेताले दाबी गरे । उनले केही दिन यता फैलिएका हल्लाहरुको सोझै खण्डनसमेत गरे । 

“हामी स्वतन्त्र हैसियत राख्ने गरी अगाडि बढ्छौं । कुनै गुटलाई हाम्रो समर्थन रहँदैन,” ती नेताले बाह्रखरीसँग भने । कांग्रेस राजनीतिक वृत्तमा निधिले विद्रोह गर्ने सम्भावना देखिएपछि सिटौला संस्थापन समूहमा भित्रिने चलेको ‘हल्ला’ पौडेल समूहको हस्ताक्षर संकलन अभियानमा संलग्न नभएपछि झनै चलेको छ । यस्तै नेता सिटौलाले उपसभापति निधिलाई भेटेको विषय पनि पछिल्लो समय चर्चामा आइरहेको छ । तर, उनी निकट केन्द्रीय सदस्य भन्छन्, “ती हल्लामात्रै हुन्, कुनैमा पनि सत्यता छैन ।”   
 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro