site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीलाई देउवाका तीनबुँदे ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद्का विभिन्‍न अंगको नियुक्तिका विषयमा छलफल भएको छ । बालुवाटारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच रिक्त रहेका संवैधानिक आयोगका नियुक्तिबारे छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठकबारे छलफल गर्न देउवालाई बालुवाटार बोलाएका थिए । भेटमा उनले संवैधनिक आयोगको नियुक्तिबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

“संवैधनिक परिषद्का बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाउनुभएको थियो । सभापति र म गएका थियौं,” उनले बाह्रखरीसँग भने, “उहाँले संवैधनिक परिषद्को बैठक गरेर संवैधानिक आयोगहरु नियुक्ति गर्ने बारेमा सरसल्लाह गरौं भन्नुभयो । हामीले सल्लाह गरौंला भनेर फर्कियौं ।”

बालुवाटार स्रोतले पनि कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले संवैधनिक परिषद् बैठकबारे छलफल गरेको पुष्टि गरेको छ । नेता लेखकले सम्भवतः मंगलबारसम्म प्रधानमन्त्री ओलीले संवैधनिक परिषद्को बैठक बोलाउने पनि जानकारी दिए ।

छलफलका क्रममा कांग्रेस सभापति देउवाले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

कोभिड-१९ मा सरकारले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेकोभन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको नेता लेखकले जानकारी दिए । उनले सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा गएको बाढी-पहिरोबारे पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको बताए ।   

“कोभिड-१९ नियन्त्रणका लागि सरकारले दिनुपर्ने जति ध्यान दिन सकेको छैन । संक्रमण बढिरहेको छ । ट्रेसिङ राम्रोसँग भइरहेको छैन । जनता धेरै चिन्तित छन् । सरकारको ध्यान जानुपर्‍यो भनेर सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,” उनले भने, “बाढी पहिरोको प्रकोपका बारेमा पनि ध्यानाकर्षण गरायौं । सिन्धुपाल्चोकको पहिरोको जोखिमका बारेमा पनि ध्यानाकर्षण गरायौं ।”  

ओली, प्रचण्ड र देउवाबीच छलफल 

कांग्रेस केन्द्रीय कार्यालयले सभापति देउवासँग प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरुका बारेमा परामर्श गरेको जानकारी दिँदै  भेटघाटको सुरुवातमै पार्टीका तर्फबाट जरुरी महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।

यी हुन् सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका विषयहरु : 
१) सिन्धुपाल्चोकको जुगल गापाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँवासीले १० दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२) कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीव्र गतिमा विस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्‍यवस्था गर्न किन ढिलाइ ?

३) त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिउपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्‍न जरुरी छ ।  निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमताभन्दा राजनीतिक पूर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापतिलगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्‍ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवादसमेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro