काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले संघीय नेपालको सातै प्रदेशमा भाषालगायत १० विभिन्न विषयमा केन्द्रित रहेर अनुसन्धानात्मक परिचय ग्रन्थको काम सुरु गरेको छ ।
प्रतिष्ठानका सदस्य–सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले यससम्बन्धी काम गर्ने सोचलाई मूर्त बनाउन कामअघि बढेको जानकारी दिए । उनका अनुसार यो भाषाको कुरा मात्रै होइन । यसमा प्रतिष्ठानले १० विभिन्न विषयमा केन्द्रित रहेर कामलाई गति दिएको उनको भनाइ छ । उपाध्यायले सातै प्रदेशको भूगोल, संस्कृति, भाषा, साहित्य, सम्पदा, कला, संगीत, इतिहासलगायत १० विषयमा वृहत् अध्ययन अनुसन्धान गरिने र त्यसउप्रान्त ग्रन्थ प्रकाशन गर्ने तयारीसाथ काम थालिएको बताए ।
“निश्चय पनि भनिएजस्तै यो काम सजिलो छैन । यसका लागि वृहत् अध्ययन–अनुसन्धान तथा सम्पादन प्रकाशनमा खर्च पनि व्यापक हुने देखिन्छ । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका हरेक गाउँ ठाउँ पुगेर त्यहाँको भूगोल, कला संस्कृति साहित्यमा अनुसन्धान आफैंमा गम्भीर कामलाई पूर्णता दिन समय लाग्ने देखिन्छ,” सदस्य–सचिव उपाध्यायले बाह्रखरीसँग भने, “यो ग्रन्थमा प्रत्येक प्रदेशको पूर्ण परिचय समावेश गरिनेछ ।त्यसलाई ‘नेपाल दर्पण प्रदेश नम्बर १’ नाम राखिनेछ । त्यस्तै अन्य प्रदेशहरूको पनि २ वा बागमती वा कर्णाली भनेर नाम राखिनेछ । यसरी ७ वटा प्रदेशका परिचयात्मक ग्रन्थ अलगअलग रूपमा तयार गरिनेछ ।”
उपाध्यायका अनुसार पछि गएर ७ वटै ग्रन्थको सारसंक्षेपका रूपमा एउटा ‘नेपाल दर्पण’ नामक महाग्रन्थ प्रकाशित गरिनेछ । सो महाग्रन्थमा सिंगो संघीय नेपालको परिचय अटाइनेछ । उक्त ग्रन्थको अंग्रेजी भाषामा अनुवाद गराएर त्यसलाई विश्वव्यापी रूपमा पु¥याइने उपाध्यायको भनाइ छ ।
“वास्तवमा अहिले नेपालको पूरा परिचय दिने कुनै प्राज्ञिक ग्रन्थ नै छैन । त्यसैले सो उद्देश्यपूर्तिका लागि हामीले यो ग्रन्थको परिकल्पना गरेर काम अगाडि बढाएका हौँ,” उनले भने । यो सात ग्रन्थ प्रकाशनको योजना केही अगाडिकै भएको उपाध्यायको भनाइ छ । उनका अनुसार गत वर्ष नै ‘बृहत् सांस्कृतिक अनुसन्धान प्रस्ताव’ नेपाल सरकारसामु प्रस्तुत गरिएको थियो । त्यो प्रधानमन्त्री केपी ओलीलाई पनि दिइएको उनले बताए । उनका अनुसार प्रधानमन्त्रीले यस विषयमा वचन दिए पनि बजेटका कारण काम अलमलिएको छ ।
यतिबेला प्रदेश २ मा नेपाल दर्पणको प्रारम्भिक काम सुरु भइसकेको छ । सदस्य–सचिव उपाध्यायका अनुसार प्रदेश २ का लागि संस्कृतिविद् प्राडा प्रेमकुमार खत्रीलाई संयोजकका रूपमा तोकिएको छ । यसका साथै अध्ययन अनुसन्धान एवं लेखनका लागि विभिन्न क्षेत्रका विज्ञ अनुसन्धानकर्ता तथा लेखकहरूलाई जिम्मेवारी दिइसकिएको उनले बताए ।
“प्रदेश २ अलि सानो र सजिलो पनि भएकाले हामीले त्यहाँबाट सुरुवात गरेका हौँ । त्यसका लागि हामीले आन्तरिक बजेटबाटै काम थालेका छौँ । तर अहिले कोरोना भाइरसबाट सिर्जित महामारीका कारण देशलाई आर्थिक रूपमा असर परेकाले बजेटको कुरा गर्न सकेका छैनौं । तर, परिस्थिति अनुकूल हुनासाथ हामीले नेपाल सरकारसँग त्यस विषयमा कुरा गर्नेछौँ । साथै अन्य प्रदेशको काम पनि थाल्नेछौँ ।”
कोरोना कहरबाट मुक्ति मिलेपछि यस ग्रन्थका विषयमा राज्यको पुनः ध्यानाकर्षण गराउने र मुलुकको बृहत् प्राज्ञिक परिचय ग्रन्थलाई पूर्णता दिइने उनले बताए ।
उपाध्यायका अनुसार प्रतिष्ठानको ऐनले नै काम गर्न पाँचवटा विषय क्षेत्र तोकेको छ । जसमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र पर्छन् । त्यसैले यसले भाषा र साहित्यलाई मात्रै नहेरेर समाजको बृहत् र विहंगम स्वरुप पनि हेर्नुपर्ने अवस्था छ ।
उनी थप्छन्, “यो वाङमय एकेडेमी हो । त्यसैले यसले पाँचै विषयमा काम गर्छ । त्यसमाथि पनि सामाजिकशास्त्र भन्नासाथ त्यसमा भूगोल पनि पर्छ । राजनीति पनि पर्छ । अनि अर्थशास्त्र पनि पर्छ । त्यसैले पनि हामी बृहत् परिचय ग्रन्थ नेपाल दर्पणको अनुसन्धान र प्रकाशनका काममा जुटेका हौँ ।”
प्रतिष्ठानले प्रतिष्ठानभित्रका व्यक्तिहरूलाई यस कामका लागि प्रयोग नगरेको उपाध्याय बताउँछन् । उनका अनुसार सम्बन्धित प्रदेशकै भाषा, साहित्य, भूगोल, संस्कृतिलगायत सबै क्षेत्रका ज्ञाताहरूलाई त्यसको जिम्मेवारी दिइएको छ । प्रतिष्ठानका कतिपय काम बाँकी रहेकाले बन्दाबन्दी (लकडाउन) को अवस्था भए पनि कामहरू भइरहेको उपाध्याय बताउँछन् । कोरोना कहरले कार्यक्रमहरू रोकिए पनि प्रकाशनका काम भइरहेको उनको भनाइ छ ।
उपाध्यायका अनुसार ‘नेपाली वृहत् शब्दकोश’ मा केही सुधारसहित १०औं संस्करणको पुनः प्रकाशनको काम सकिन थालेको छ । शब्दकोष छापिने काम हुँदै गरेको उनको भनाइ छ । त्यस्तै शब्दकोशको मोबाइल ‘एप’ पनि तयारी अवस्थामा छ । त्यसलाई सार्वजनिक गर्न बाँकी छ । समय मिल्नासाथ त्यो पनि हातहातमा पुग्नेछ ।
“मैले दर्शन विभाग सम्हालिसकेपछि, प्राचीनकालमा नेपाली भूमिमा वैदिककालमा जुन वेदका मन्त्रहरू रचिए, तिनको अध्ययन अनुसन्धानका लागि काम गर्ने वातावरण तयार गरेको छु । त्यस्तै उपनिषद्कालमा यो भूमिमा जे–जति उपनिषद् लेखिए, स्मृतिकालमा जुन ग्रन्थ लेखिए, कम्तीमा आज तिनको खोजी हुनुपर्छ भनेरै मैले ५० भन्दा माथिको संख्यामा शीर्षक बनाएर ती हरेक शीर्षकमा विभिन्न विद्वानबाट अनुसन्धान गरेर लेख्न लगाउने काम थालेको छु,” सदस्य–सचिव उपाध्याय भन्छन्, “यसरी सारा दर्शनलाई नेपाली दर्शनका रूपमा प्रकाशन गर्ने र प्रकाशित ग्रन्थलाई अंग्रेजीमा अनुवाद गरेर नेपाली दर्शनको गौरवलाई विश्वमा फैलाउन सक्ने गरी काम सुरु गरिसकिएको छ । मलाई लाग्छ, यो पनि महत्त्वपूर्ण काम हो ।”
२०१४ सालमा स्थापना भएको प्रज्ञा प्रतिष्ठानबाट धेरै कृति प्रकाशनमा आए । तर तत्कालीन अवस्थामा छापिएका कृतिहरू पुनः प्रकाशन गरिएन । त्यसैले यसपटक केही महत्त्वपूर्ण पुराना कृतिहरूको पुनःप्रकाशनको काम पनि गर्ने निर्णय भएको उपाध्यायले बताए ।
उनी भन्छन्, “प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कुनै पनि कृतिको दोस्रो संस्करण नछापिएकाले अबका दिनमा पुराना र महत्त्वपूर्ण खोजिने कृतिहरूको दोस्रो संस्करण पनि प्रकाशन गर्ने तयारीमा हामी छौँ ।” उपाध्यायका अनुसार एकेडेमीका पुराना पुस्तक एकेडेमीको प्राज्ञिक सम्पत्ति भएकाले पनि तिनको पुनः प्रकाशनको निर्णय गरिएको हो ।