पोखरेली कवि एवम् साहित्यकार तीर्थ श्रेष्ठ नेपाली काव्य जगतमा चर्चामै रहेका व्यक्ति हुन् । ३० को दशकका प्रायः कविहरू चर्चामा रहे । र तीमध्ये धेरैजसो आज पनि चर्चामै छन् । तिनमै पर्छन् कवि तीर्थ पनि ।
२०३६ सालमा ‘सडक कविता क्रान्ति’ले सबै लेखक कविलाई जुर्मुर्याएको थियो । सबै उत्साहित थिए । सबै सक्रिय थिए । प्रायः सबै कवि कविताबाट आगो ओकल्थे ।
अर्थात् तत्कालीन व्यवस्थाविरुद्ध सबै लेखक कवि उभिएका थिए, सडकमा । ती धरानका हुन् वा धनकुटाका । विराटनगरका हुन् या पोखराका । वीरगन्जका हुन् वा भैरहवाका । सबै एकआपसमा निकट थिए । आत्मीय थिए ।
पोखरामै रहेर साहित्य सिर्जनामा क्रियाशील कवि तीर्थ श्रेष्ठ आज पनि ३० को दशकका कविहरूका बीच आत्मीयता र निकटता रहेको बताउँछन् ।
लकडाउनको पालन गर्दै आइतबार टेलिफोन कुराकानीमा उनी भन्दै थिए, “त्यसबेला आस्था जेजस्तो भए पनि सबैको सबैसँग निकट सम्बन्ध थियो । पोखरा आउँदा अन्तका कविले हामी पोखरेली लेखक कविलाई खोज्थे । हामी पनि अन्त कतै जाँदा त्यहाँका लेखक कविलाई खोज्दै पुग्थ्यौँ ।”
कविहरूबीचको यो आत्मीयताले सबैलाई एकै ठाउँमा ल्याए पनि वैचारिक रूपमा केही कवि लेखकसँगको थप निकटताले नै तीर्थ र कवि विनय रावलबीच गहिरो नाता गाँसिएको थियो ।
अनि यहीँदेखि आरम्भ भयो एउटा नवीन कार्य, जसलाई नाम दिइयो ‘तरलवाद आन्दोलन’ ।
तरलवाद आन्दोलनका विषयमा तीर्थ भन्छन्, “विनय रावल, फणिन्द्र नेपाल र मैले कविता लेखनमा केही नवीन काम गरौं भन्ने सोचेरै कवितामा तरलवाद आन्दोलनको थालनी गर्यौं ।”
तीर्थ श्रेष्ठका अनुसार २०३९ सालमा विराटनगरमा एउटा बृहत् कवि गोष्ठीको आयोजना भएको थियो । तीर्थ, फणिन्द्र र विनय पनि विराटनगर पुगेका थिए ।
एक साँझ विराटनगरकै एउटा रेस्टुरेन्टमा एकसाथ भेटिए, आयामेली साहित्यका अग्रज हस्तीहरू, ईश्वर बल्लभ, बैरागी काइँला र इन्द्रबहादुर राई ।
त्यस अघिदेखि नै तीर्थहरू कविताका क्षेत्रमा केही पृथक काम गर्ने विचार गर्दै थिए । विराटनगरमा आयामेली साहित्यकारहरूसँगको भेटले सायद यी तीनै कविहरूको सोचमा ऊर्जा थप्ने काम गर्यो ।
त्यहीँ नै फणिन्द्र नेपालले प्रस्ताव राखे ‘तरलवाद आन्दोलन’को । विराटनगरबाट फर्किएको केही समयपछि फणिन्द्र र विनय पोखरा पुगे । नवीन सोचको तरलवाद आन्दोलनका यावत पक्षका विषयमा बुँदागत टिपोट गरियो ।
तीर्थका अनुसार तीनै जना कविहरूका बीच बृहत् कुराकानी भयो । छलफल भयो । बुँदाहरूमा फेरबदल भयो । र त्यहीँ नै कवितामा ‘तरलवाद आन्दोलन’को घोषणा भयो ।
तीर्थ भन्छन्, “मूलतः केही नयाँ गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ नै यो आन्दोलन सुरु भएको थियो । त्यसैताका एउटा मुखपत्रको प्रकाशन पनि थालियो । केही अंक निस्कियो पनि । तर, पछि म तरलवाद आन्दोलनबाट बाहिरिएँ । धेरै पछिसम्म त्यो आन्दोलनलाई विनय र फणिन्द्रले अगाडि बढाउँदै लगे ।”
कवि तीर्थ श्रेष्ठका अनुसार उनी तरलवादी आन्दोलनबाट अलग भएर आफ्नै मौलिक धारमा बग्न थाले । कविता लेखन स्वच्छन्द र स्वतन्त्र हुने दृष्टिकोणले नै उनलाई त्यो वादबाट बाहिरिन प्रेरित गरेको थियो । उनलाई घोषणा गरेर कुनै पनि लेखन स्थापित हुँदैन भन्ने लाग्यो । बरु लेखनबाट नै कुनै पनि वाद सिर्जना हुनसक्छ भन्ने उनको मान्यता रह्यो ।
लेखनको चरित्रले एउटा आन्दोलन र अभियानलाई आधार दिन्छ । तर यसो गर्छु भनेर घोषणा गर्ने र त्यस अनुरुप गर्न नसक्दा त्यसको महत्त्व नहुने, आफूलाई लागेको तीर्थ बताउँदै थिए ।
तरलवाद आन्दोलनको चर्चा गर्दै तीर्थ भन्छन्, “फणिन्द्र र विनय कवितामा नवीनताको आग्रहका कुरा गर्दथे । म भन्थेँ संसारमा नयाँ भन्ने कुरा नै केही छैन । साहित्यमा पनि नवीनता भनेको खासै केही हुँदैन ।”
साहित्य संप्रेषणीय हुनुपर्छ । साहित्यमा पारदर्शिता हुनुपर्छ । साहित्यमा रस हुनुपर्छ र साहित्य शाश्वत हुनुपर्छ भन्ने कुरा अहिलेको पुस्ताभन्दा अगाडिकाले पनि भन्दै आएका हुन् ।
त्यसैबीचमा तीर्थलाई लाग्यो, साहित्यमा अत्यन्त चरम भौतिकवाद अटाउँछ । चरम आध्यात्मवाद पनि अटाउँछ । साहित्यलाई कित्ताकाट गरिरहनु पर्दैन । हरेकका लागि साहित्य एउटा विशेष मञ्च हो । जसमा दुई विपरीत विचार भएका मानिस पनि सँगै उभिन सक्छन् । त्यसैले पनि तीर्थ श्रेष्ठले तरलवाद आन्दोलनबाट आफू पन्छिने निर्णय गरेका थिए ।
तीर्थ भन्छन्, “यही दृष्टिकोणका कारण मैले आफूलाई तरलवाद आन्दोलनबाट असंलग्न राखें। यद्यपि साथीहरूसँगको सम्बन्धमा कुनै तिक्तता रहेन ।”
बन्दाबन्दी (लकडाउन) को ६२ दिन लामो एकान्तबासले तीर्थ श्रेष्ठको सिर्जनालाई खासै केही सहयोग गरेको छैन । यस अवधिमा कतिपयले समय सिर्जनाका लागि सुम्पिएको उनले थाहा पाए । तर, उनको यो अवधिमा सिर्जना खासै उपलब्धिपूर्ण हुन सकेन ।
उनी भन्छन्, “मानसिकरूपमै काम गर्न नसक्ने भइयो । यो त्रासको समय भएकाले सिर्जनामा केही अवरोध आयो । केहीले छोपेजस्तो लाग्ने ! के होला कसो होला ? भन्ने मनमा आइरहने ! तथापि, यस अवधिमा आठ दसवटा कविताहरू लेखें । सिर्जनाशून्य भने भएन ।”
यो समयमा पीडा छ । वेदना छ । दुःख छ । यसलाई समीक्षा र विश्लेषण गरेर पछिका दिनमा सिर्जना गर्न सकिने उनी बताउँछन् । तीर्थका अनुसार पछिका लागि यो गतिलो खुराक बन्न सक्छ ।
यतिबेला कोही घरमा आउला कि भन्ने डर छ । कोही भेटिन्छ कि भन्ने डर पनि छ । सर्वत्र त्रास नै त्रास देखिन्छ । तर, यो त्रासपूर्ण परिस्थितिमा पनि सूचना प्रविधिको विकासले सबैलाई नजिक पुर्याएको छ । त्यसैले पनि केही अनलाइन कार्यक्रममा तीर्थ श्रेष्ठ सहभागी भए । केहीमा साथीहरूले बोलाउँदा पनि सहभागी हुन नसकेको दुखेसो पोखे ।
उनले यस बीचमा आफू संलग्न संस्थाहरूबाट राहतको कामलाई पनि गति दिए । साथै तीर्थ श्रेष्ठ आबद्ध रहेको संस्था ‘विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति’का विभिन्न काममा पनि उनी सक्रिय रहे । आफ्नो जिम्मेवारीको काम भएकाले उनले त्यता हेर्नुपर्ने नै उनी बताउँछन् ।
कुरोकानीको अन्त्यतिर उनी भन्दैथिए, “यतिबेला त्रासको बास भएकाले सर्जकका लागि आवश्यक एकान्तबास यो हो भन्ने लाग्दैन । स्वैच्छिक रूपमा एकान्तबास बसिएको स्थितिमा मात्रै सिर्जनशील काम गर्न सकिन्छ ।”