site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
 बीपी : राष्ट्रभक्ति कि राष्ट्रघात ?

कालापानी, लिपुलेक, लिम्पियाधुरा विवादले यतिबेला मुलुकको राजनीतिक परिवेश तातेको छ । नेताहरु ‘कोभन्दा को कम’ शैलीमा आफूलाई ‘राष्ट्रवादी’ देखाउन होड गरिरहेका छन् । एउटै पार्टीमा समेत नेतैपिच्छे फरकफरक वक्तव्य आइरहेका छन् । कोरोना महामारीबीच दलका भातृसंगठनहरु सडकमा नारावाजी गर्न प्रतिस्पर्धा चलाई रहेका छन् । जब नेताहरु काम देखाउने होडमा केन्द्रित हुन्छन् बुझ्नपर्छ, उनीहरु केही गर्न सक्तैनन् र हामी गर्दै छौ भनेर जनतामा भ्रम पार्नमात्र सक्रिय रहन्छन् । नेताको परीक्षण कठिन घडीमा हुन्छ र राजनेताको मूल्याङ्कन वर्षौं पछिसम्म भइरहन्छ । 

यसै प्रसंगमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा राष्ट्रियताका पक्षमा भएका काम कदम बारे लेख्न मन लाग्यो ।  

विसं २००७ सालको क्रान्ति उत्कर्षमा पुगेपछि राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय संझौता भयो । मोहन शमशेर प्रधानमन्त्री र बीपी गृहमन्त्री भए । तिनताका सीपीएन सिंह नेपालका लागि भारतीय राजदूत थिए । बीपीले भनेका छन् – ‘‘भारतीय राजदूत जो भए पनि नेपालका प्रधानमन्त्री वा विदेशमन्त्रीसँग सचिवालयमा आएर भेट्नु उसको कर्तव्य हुन्थ्यो । तर, प्रधानमन्त्री र मन्त्रीलाई उनी त्यसरी भेट्दैनथे । औपचारिक छलफलका लागिसमेत उल्टो उनी त आफ्नो निवासमा बोलाउँथे  ।’’ (कोइराला, २०७१ : ८४)।

Dabur Nepal

नेपालमा प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि मात्र संसदीय चुनाव भयो । बीपी मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । भगवान सहाय भारतीय राजदूत थिए । एक दिन उनले सांस्कृतिक सहचारी शिवमंगल ‘सुमन’मार्फत प्रधानमन्त्री कोइरालासंग भेट्न चाहेको सन्देश पठाए । बीपीले भने ‘‘ठीक छ, उनी मसँग भेट्न आउन सक्छन् ।’’ 

बीपीले भनेका छन् – ‘‘छलफलको विषय व्यक्तिगत भएको भए म उनकै निवास जान सक्थेँ तर छलफलको विषय औपचारिक भएकाले उनी आफैँ आएर प्रधानमन्त्री वा विदेशमन्त्रीलाई भेट्नुपथ्र्यो । मेरो भनाइ सुनेर सुमनले भने ‘‘उनी तपाई कहा“ आउनु ठीक हुँदैन ।’’ ‘‘त्यस्तो हुँदैन’’ मैले जवाफ फर्काएँ । त्यसपछि औपचारिक कामका लागि पहिलोपटक भारतीय राजदूत नेपाल सरकारको सचिवालयमा आए । नत्र सबै औपचारिक काम कारवाहीहरु भारतीय राजदूतको निवासमै हुने गर्थे । त्यसपछि बल्ल त्यस्तो परम्पराको अन्त्य भयो ।’’ (कोइराला, २०७१ : ८५)।

बीपी कोइरालाकै कार्यकालमा उत्तरी छिमेकी चीनसँग सीमा विवादको विषय उठ्यो । प्रधानमन्त्रीको हैसियतमा बीपी चीनको भ्रमणमा गए । प्रधानमन्त्री चाउ एनलाईसँगको वार्तामा चिनियाँ पक्षले सगरमाथामा आफ्नो दाबी गर्दै नक्सासमेत पेस गर्‍यो । त्यो नक्सामा सगरमाथा चिनीयाँ सीमाको पाँच माइलभित्र पारिएको थियो । 

प्रधानमन्त्री तहमा सहमति हुन सकेन । बीपीले सगरमाथामाथिको अडान छाडेनन् । अनी सन् १९६० मार्च १८ को मध्यरातमा बीपी र माओबीच डेढघन्टा कुरा भयो । बीपी र माओबीच कुराकानी त्यो समयमा भएको थियो जुन बेला माओ बिरामी छन् मर्न आँटे भन्ने हल्ला फिँजाइएको थियो । बीपीले माओसँगको आफ्नो पहिलो र अन्तिम वार्ता वारे भनेका छन् – ‘‘रातको ११ बजे सुत्न तयार भएका थियौँ । ढोका ढक ढक गरेको आवाज सुनियो । हेर्दा त माओले भेट्न खोजेका भन्ने खबर लिएर मानिस आएका छन् । ’’ (कोइराला, २०६७ : २५५)।’

नेपाली प्रधानमन्त्रीलाई राखिएकै होटलको अर्को खण्डमा बसेका थिए माओ । 

त्यो भेटको अंश :

माओ : ‘माउन्ट एभरेस्ट त विदेशी नाम हो । यो तपाइँहरुको कसरी हुनसक्छ ? आफ्नो भाषामा त्यसको नाम त दिनसक्नु भएको छैन भने तपाईहरु कसरी हाम्रो हो भन्ने दाबी गर्नु हुन्छ ? तपाइँहरूको आफ्नो नाम कहाँ छ र ?’’ (कोइराला, २०७१ : ११९)

बीपी : होइन, माउन्ट एभरेस्ट हाम्रै हो । 

माओ : हाम्रो चिनियाँ भाषामा एभरेस्टलाई चोमोलोङ्मा भनिन्छ । 

बीपी : चोमोलोङमा चिनियाँ नाम होइन । यो त तिब्बती हो । हाम्रो नेपाली नाम सगरमाथा हो । 

माओ : हामी पनि सगरमाथा भन्छौँ । दुवै मुलुकसँग नाम नभएकाले एभरेस्ट साझा चुचुरो रहोस् । यसलाई मितेरी चुचुरो भनौ ।’’ (कोइराला, २०६७ : २५२)।’ आरोहण गर्न चाहने पर्वतारोहीले दुवै देशतर्फबाट अनुमति लिनुपर्ने प्रस्ताव राखौँ । 

बीपी : ‘‘पर्वतको चुचुरो चाँहि कसको नि ?

माओ : दुवै पक्षको आधा आधा हुँदैन ? ’’ (आचार्य, २०७१ : ४४)

बीपी : त्यो हामीलाई मान्य हुँदैन । सगरमाथा हाम्रो देशभित्र परेको हो । त्यसलाई हामीले कसरी साझा गर्ने ? (कोइराला, २०६७ : २५२) 

माओ : त्यसो हो भने दुई पक्षबीच आधा आधा गर्न सकिन्छ । दक्षिणपट्टिको मोहोडा तपाईहरुको उत्तरपट्टिको हाम्रो (आचार्य, २०७१ : ४३)।

बीपी : सगरमाथा सधैँ हाम्रो सीमाभित्र रहिआएको छ । यस मानेमा यो हाम्रो भावनात्मक विषय हो । 

अन्त्यमा सीमाङ्कनको टुङ्गो लगाउन दुवै देशका बराबर सदस्य रहने गरी संयुक्त टोली बनाउने सम्झौता भयो । सहमतिमा भनिएको थियो – “नेपाल–चीन सीमाको दुवैतर्फ २० किलोमिटर इलाकासम्म सशस्त्र व्यक्ति अब उप्रान्त पठाइनेछैन । सिर्फ प्रशासकीय व्यक्ति र गैरसैनिक प्रहरीमात्र राखिनेछ ।” (देवकोटा, २०३६ : ३६४)

अन्तिममा माओले भनेका थिए – ‘ठीक छ, अब मसँग वार्ता गरिरहनु पर्दैन । प्रधानमन्त्री चाउ एनलाईसँग कुराकानी गरिरहनु होला । उहाँले नेपाल भ्रमण गर्दा पनि कुरा जारी राख्नु होला । टेलिग्राममा पनि हाम्रो सञ्चार कायम गरी राखौँ । (आचार्य, २०७१ : ४४)।

दुवै नेताबीच संयुक्त आयोगमार्फत सीमा समस्या हल गर्ने सहमति भयो । अन्त्यमा बीपीले भनेका थिए – ‘‘महामहिम हामी आशावादी छौँ ।’’

चीन भ्रमणवाट फर्किएपछि २०१६ चैत्र २२ गते बीपीले त्रिपुरेश्वरस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गरे । त्यस दिन रिपोर्टिङका लागि प्रधानमन्त्री निवास पुगेका पत्रकार भैरव रिसालले लेखकलाई सुनाए – ‘‘औपचारिक कार्यक्रममा बीपीले भ्रमणको उपलब्व्धि बारे बताउनु भयो । अन्तिममा भन्नुभयो – ‘‘पत्रकार मित्रहरु ! यो चाहिँ ‘अफ द रेकर्ड’ है । सगरमाथाका विषयमा माओसँग कुरा भयो । सगरमाथामा चीनले दाबी गरेको छ ।’ चीनले पेस गरेको नक्सामा सगरमाथा चीनको पाँच मीलभित्र परेको छ ।’’ ¬(देवकोटा, २०३६ : ४०९)।

रिसाललाई ‘अफ दि रेकर्ड’ को अर्थ थाहा रहेनछ । सबै विदेशी पत्रकारहरु समाचार टिपाउन भनेर टेलिफोन अफिसतिर दौडिहाले । रिसालले लेखकलाई सुनाएअनुसार ‘‘उनीहरु कसैले पनि चिया खाएनन्, दौडिहाले । म चाहिँ प्रधानमन्त्री कार्यालयको मीठो चिया, खाजा खानतर्फ लागेँ । ‘अफ द रेकर्ड’ को अर्थ थाहा नभएकाले । भोलिपल्ट भारतीय समाचारपत्रमा बीपीको त्यो भनाइलाई ‘ब्यानर न्युज’ बनाएर छापेपछि मात्र मलाई बीपीले भनेको कुरा कति गम्भीर रहेछ भन्ने थाहा भयो ।’’ 

त्यसपछि त संसद्मा सगरमाथासम्बन्धी विवाद चुलियो । सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै बीपीले भने – ‘‘सगरमाथा हाम्रो हो र यो परम्परादेखि हाम्रो रहेको छ । जबसम्म म यस पदमा रहनेछु, नेपालको एक इन्च भूमि पनि विदेशमा जान दिन्न ।’’ (गौतम, २०६६, भाग २ : ४२१)।

यहीबीच भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतीय संसद्लाई सम्बोधन गर्दै ‘‘नेपाल र भुटानमाथि भएको जुनसुकै आक्रमण भारतमाथिको आक्रमण हो भन्ने अभिव्यक्ति दिए ।’’ (अधिकारी, २०७१ : १७४)। बीपीले नेहरुको भनाइप्रति कडा प्रतिवाद गर्दै भने – “नेपाल सार्वभौम मुलुक हो ।

यसले आफ्नो वैदेशिक या घरेलु नीति बाहिरी कुनै शक्तिसँग सम्बन्ध नराखी आफ्नै विचार र आफ्नो अनुकूल हेरी निर्णय गर्छ । भारतीय प्रधानमन्त्रीको भनाइलाई म नेपालले सहायता मागेमा भारतले सहायता दिनेछ भन्ने आशयको मित्रता र अभिव्यक्ति ठान्छु । यसबाट यो कदापी सम्झनु हुन्न कि भारतले एकतर्फी कार्य गर्न सक्छ ।’’ (अधिकारी, २०७१ : १७४)। अनी नेहरुले भन्नु परेको थियो – ‘‘नेपालका प्रधानमन्त्रीले मेरो वक्तव्यको ठीक अर्थ लगाउनु भएको छ ।’’ (अधिकारी, २०७१ : १७४)।

केही समयपछि चीनका प्रधानमन्त्री चाउ एनलाईको नेपाल भ्रमण भयो । स्वदेश फर्किनुअघि २०१७ बैसाख १७ गते सिंहदरवारमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारतीय पत्रकारहरुका कडा प्रश्नको सामान गर्नु पर्‍यो । चिनियाँ प्रधानमन्त्रीलाई निकै कडा प्रश्न गर्नेमध्येका एक थिए – टण्डन थरका भारतीय पत्रकार । 

टण्डन : नेपाल चीन सीमा विवाद छ कसरी सुल्झाउनु हुन्छ ?’’ (कोइराला, २०७१ : ११८)

चाउ एनलाई : यो मित्र मित्रबीचको विवाद हो । त्यसैले यो विवाद नै हो भन्ने पनि हामीलाई लाग्दैन । हामी सीमाङकन गर्न चाहन्छौँ । तर, तपाईले भनेजस्तो विवाद छैन ।’’ (कोइराला, २०७१ : ११८)। 

टण्डन : तपाइँले नै केही सय वर्गमाइलमा विवाद छ भन्नु भएको थियो, केही पकेट क्षेत्रको प्रसंग पनि उठाउनु भएको थियो त ? 

चाउ एनलाई : विवादै भए पनि भारतले टाउको दुखाउनु पर्दैन । चीनको आफ्नै विशाल जमिन छ । हामीसँग केही सय माइल जमिन नभए पनि फरक पर्दैन । नेपाल चाहन्छ भने हामी त्यो जमिन दिन पनि सक्छौँ । (कोइराला, २०७१ : ११९। 

त्यही पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्रीले भनेका थिए – “हामीले आफ्नो नक्सा फिर्ता गरेर नेपालको नक्सा स्वीकार गरिसक्यौँ । सगरमाथा नेपालको हो । दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट गर्नेलाई चीनले अनुमति दिनेछ । (देवकोटा, २०३६ : ४०९)। यसरी सगरमाथासम्बन्धी सिमा विवाद समाधान भयो । 

मुस्ताङ विवाद 

चीन भ्रमणबाट बीपी फर्किएको केही महिनापछिको कुरा हो २०१७ असार १५ गते मुस्ताङको नेपाल–चीन सीमानजिक नेपाली भूमिमा चिनियाँ सेनाले चलाएको गोलीबाट सुबेदार बमप्रसादको घटनास्थलमै मृत्यु भयो । सत्र जना नेपाली कर्मचारीसहित उनीहरुका साथमा रहेका घोडा र सामान पनि चिनियाँ सेनाले लिएर गयो ।

त्यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै बीपीले चिनीयाँ प्रधानमन्त्री चाउ एनलाईलाई कडा पत्र लेखे । प्रधानमन्त्री तहमा भएको पत्राचारपछि अन्ततः तल्लो तहका सैनिक कर्मचारीको कमजोरीले घटना भएको स्वीकार्दै चीनले नेपालसँग माफीमात्र मागेन क्षतिपूर्ति बापत ५० हजार रूपैयाँसमेत पठायो । 

(यस लेखमा उद्धरणमा दिइएका सन्दर्भ सामग्री यी पुस्तकबाट लिइएका हुन् )

अधिकारी, सूर्यमणि, नेपालमा प्रजातान्त्रिक आन्दोलनको इतिहास, २०७१, नयाँ दिल्ली : निराला प्रकाशन ।

आचार्य, जयराज, नेपालको परराष्ट्र नीति, बीपी र माओबीच बार्तालाप, महामानव बीपी स्मारिका २०७१, सोलुखुम्वु : बीपी चिन्तन प्रतिष्ठान ।

कोइराला, विश्ववेश्वरप्रसाद, मेरो जीवन असफल भएन, २०७१, काठमाडौं : डाइनामिक पब्लिकेशन प्रा.लि.।

कोइराला, विश्ववेश्वरप्रसाद, आत्मवृत्तान्त, २०६७, ललितपुर : जगदम्वा प्रकाशन प्रा.लि. ,

गौतम, डा. राजेश, २०६६, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग २ काठमाडौं : श्रीराम श्रेष्ठ र कृष्णमुरारि अधिकारी ।

देवकोटा, ग्रीष्मबहादुर, २०३६, नेपालको राजनीतिक दर्पण, दोस्रो भाग, काठमाडौं : अर्जुनबहादुर देवकोटा । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro