site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संस्कृतभाषाको जादु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

संसारका अति प्राचीनतम भाषाहरूमध्ये संस्कृत पनि एक हो । यो भाषा कुन कालमा उत्पत्ति भयो भनेर भाषाविद्हरूले ठोकुवा गर्न सकेका छैनन् । तर संस्कृतभाषाकै ग्रन्थहरूले सृष्टिकर्ता ब्रह्मासँगै संस्कृतभाषा उत्पत्ति भएको विचार प्रकट गर्छन् । त्यसैले संस्कृत संसारकै सबैभन्दा पुरानो भाषा हो भनेर हामी सजिलै अनुमान लगाउन सक्छौं । 

यस अर्थमा संस्कृतभाषा भारतवर्षको मात्र होइन संसारकै सबैभन्दा पुरानो बौद्धिक सम्पत्तिहरूमध्ये एक हो । हिन्दी, नेपाली, बङ्गालीलगाायत भारतीय उपमहाद्वीपका धेरै भाषाभाषीहरूको जननी भाषा पनि संस्कृत नै हो । यी बाहेकका अन्य कतिपय युरोपीय भाषाहरूमा समेत संस्कृतको प्रत्यक्ष परोक्ष प्रभाव परेको छ भन्ने कुरा धेरै भाषाविज्ञहरूले स्वीकार गर्छन् । 

संस्कृतभाषामा रहेका असङ्ख्य ग्रन्थहरू आजसम्म कसरी सुरक्षित रहे भन्ने विषयमा अनुसन्धाताहरूबीच फरक मतहरू भए पनि गुरुशिष्य परम्परा अर्थात् गुरुकुलीय शिक्षापद्धतिबाट नै ती अप्रतीम ग्रन्थहरू एकपुस्ताबाट अर्को पुस्तामा सर्दै सुरक्षित रहेका हुन् भनी अनुमान गर्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

श्रुतिपरम्पराबाट संरक्षित भइआएको संस्कृतभाषा सबैभन्दा पहिले सरस्वती लिपिमा लेखिन थालेको र त्यसबाट विकसित हुँदै ब्राह्मी लिपि र ब्राह्मीबाट देवनागरी लिपिसम्म आइपुगी ध्वनिसाङ्केतिक वर्णहरूमार्फत् अभिलेखीकरणमा आएको हो भनी धेरै विद्वान्हरू विश्वास गर्दछन्  । 

संसारका कैयौं भाषाहरूका लिपिहरू चित्रसङ्केतसँग पनि सम्बन्धित छन् । तर हाल हामीले प्रयोग गर्दै आएको देवनागरी लिपि स्वर र व्यञ्जन वर्णहरूको ध्वनि उच्चारणसँग सम्बन्धित छ । संस्कृत भाषामा जे बोलिन्छ त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । संस्कृतभाषाका वर्णहरूको उच्चारण हुने स्थानलाई अति वैज्ञानिकरूपले निर्दिष्ट गरिएको पाइन्छ । उच्चारण हुने स्वर र व्यञ्जन वर्णहरूको सङ्घुलन, सम्मेलन र सामञ्जस्यतालाई विचार गर्दा संस्कृतभाषा र व्याकरणका प्राचीन ऋषिमुनि अनुसन्धाताहरूले अकल्पनीय परिश्रम र शोध गरेको पाइन्छ । ती सबै शोधहरूको निचोडलाई अति नै व्यवस्थितरूपले एउटा विशेष स्वरूपमा सूत्रबद्ध गर्ने काम  महामुनि आचार्य पाणिनिले अष्टाध्यायीमा गर्नु भएको छ । महामुनि पाणिनिकृत सोही अष्टाध्यायी व्याकरणशास्त्रको सूत्रग्रन्थलाई थप परिस्कार गर्न कात्यायन मुनि र पतञ्जलि मुनिको पनि योगदान रहेको छ । 

Royal Enfield Island Ad

हामीले आज पढ्ने अ देखि अः सम्मका स्वर वर्णहरू र क देखि ज्ञसम्मका व्यञ्जन वर्णहरूको उच्चारण स्थान तय भएका छन् । कुन वर्णको उच्चारण गर्दा मुख के कति खुल्छ, के कति बन्द हुन्छ र कुन वर्णको उच्चारण गर्दा के कति स्थानमा के कति जोडबल लाग्छ, लगाउनु पर्छ आदि र मुखको कुन कुन स्थानमा प्रकम्पन भएर कहाँबाट त्यो वर्णको ध्वनि पैदा हुन्छ र सो उच्चारण गर्ने क्रममा मुखभित्रका कुन कुन स्थानमा स्पर्श हुन्छ भन्ने कुराको अति गहनतम शोध र अनुसन्धान केवल संस्कृतभाषामा मात्र रहेको कुरा हामीले बिर्सनु हुँदैन । 

कण्ठ, तालु, मूद्र्धा, दन्त, ओष्ठ, नासिका र केही संयुक्त दन्तोष्ठ, कण्ठतालु जस्ता स्थानहरू प्रमुख भएर वर्णहरूको ध्वनि प्रकट भई उच्चारण हुने कुरालाई संस्कृत व्याकरणको प्रारम्भमै सिकाइन्छ । वर्णोच्चारणको यही विशिष्ट कारणबाट संस्कृतभाषा बोल्दा कण्ठ, छाती र पेटसम्म फरक फरक प्रकारका प्रकम्पनका तरङ्गहरू फैलिन्छन् । जसले वाणीलाई प्रष्ट र आकर्षक मात्र बनाउदैन अपितु योगका कपालभातीजस्ता कतिपय गुणकारी विधिहरू समेत स्वतः अभ्यासमा आउँछन् ।

संस्कृतभाषामा शब्द उत्पत्तिको खास कारण हुन्छ । यसभाषामा विशेषगरी सङ्ज्ञा र धातु दुई वर्गभित्र लाखौं शब्दहरू रहेका छन् । नामपद र क्रियापदहरूमा अनेकौं प्रत्यय तथा उपसर्गहरू सम्मिलित भएर असङ्ख्य शब्दहरूको उत्पत्ति हुन्छ । हालसम्म पनि संस्कृत नै यस्तो भाषा हो जुन भाषामा सबैभन्दा बढी शब्दहरू प्रचलित छन् । 

जुन भाषामा सकारण उत्पत्ति भएका जति बढी शब्दहरू हुन्छन् त्यो भाषामा अभिव्यक्तिको सीमा पनि त्यति नै फराकिलो हुन्छ । यस भाषामा कुनै कुरा भन्नुपर्दा अनेकौं तरिकाले भन्न सकिन्छ । यसले गर्दा मानिसको मनभित्र रहेका कैयौँ भावनाहरू सहजै ध्वनि वा लिपिमा प्रकट भई अभिव्यक्त हुँदा कैयौं मनका आन्तरिक आवेगहरू कुण्ठित हुनु पर्दैन र हृदय प्रसन्न हुनजान्छ र भौतिकरूपले वा शारीरिकरूपले प्रतिक्रिया दिइरहनु पर्दैन । थोरै शब्द भएका भाषा बोल्ने मान्छेहरूले प्रेम, घृणा आदिको बृहत् अभिव्यक्ति दिन नसक्दा शारीरिक प्रतिक्रिया दिनु पर्ने बाध्यताले गर्दा कैयौं अप्रिय घटनाहरू हुनसक्ने सम्भावना रहन्छ । तर संस्कृत त्यस प्रकारको दोषबाट मुक्त छ । 

अरु कुनै धर्म यस धर्तीमा प्रकट हुनुपूर्व नै संस्कृतभाषामा वेदहरू रचना भइसकेका थिए ।  सबैले स्वीकार गरिसकेका छन् कि संसारको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । चतुर्वेदको आयतन निकै ठूलो छ । तर पनि अनादिकालदेखि त्यति ठूलो ग्रन्थ कसरी आजसम्म जीवित रही लिपिबद्ध भयो भन्ने कुरा आफैँमा अकल्पनीय आश्चर्य हो । वेद, वेदाङ्ग, उपनिषद्, पुराण, उपपुराण, रामायण, महाभारतलगायत ठूला वा साना आकारका अनेकौँ ग्रन्थहरू कसरी सुरक्षित भइआए भन्ने कुराले हाम्रा पूर्खाहरूले गरेको विद्यामाथिको अपरिसीम समर्पण र शोधलाई प्रमाणित गर्छन् । 

वेदादि ग्रन्थमा प्रयुक्त आदिसंस्कृतलाई छोडेर हालसम्म प्रचलनमा रहेको लौकिकसंस्कृतभाषा पनि रामायणकालदेखि हालसम्म जस्ताको तस्तै बोलिनु र लेखिनुले संस्कृतभाषाको क्षमता र वैज्ञानिकताको प्रमाण पेश गर्छन् । किन यो भाषा अपभ्रंश भएन र हुँदैन भन्ने कुरा यहाँ महत्वपूर्ण छ । संस्कृतको यही अकल्पनीय गुण र क्षमतालाई राम्ररी जानेपछि पश्चिमा शक्तिहरूले विशेषगरी बेलायती शासकहरूले यस भाषाको ज्ञानपरम्परालाई भारतवर्षबाट विच्छेद गरिदिएका हुन् । अनादिकालबाट सूत्रपात भएको भाषा जसको मूल उत्पत्ति, व्याकरण, साहित्य र तिनको मिति समेत खोजी गर्दा आफू कान्छो, कमसल, अपरिपक्व र कमजोर रहेको प्रष्ट हुने र त्यसबाट उत्पन्न हीनताको कारणले नै संस्कृतभाषा र यसको ज्ञानपरम्परामाथि प्रहार भएको हो । 

संस्कृतभाषामा उहिल्यै रचना भएका आयुर्वेद, ज्योतिष, वास्तु, गणित, काव्यशास्त्र, सङ्गीत, नीतिजस्ता अनेकन विधा र विषयमा अगणित ग्रन्थहरू रचना हुनु ख्यालठट्टाको विषय होइन । चानचुने ज्ञान र अनुसन्धानबाट ती बौद्धिक रचनाहरू प्राप्त भएका पनि होइनन् ।

मानवसभ्यताको विविध कालखण्डमा मानिसजातिले भोगेको आनन्द र विपत्तिको गहन अनुसन्धानबाट अभिप्रेरित भएर संस्कृतभाषाले मानवजातिलाई प्राकृतिक प्रेम, शाश्वत आनन्द र परम् मुक्तिको सही मार्गका बारेमा अतुलनीय उपहार प्रदान गरेको छ । यस भाषाले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च सम्मान गर्दै मानिसजातिको कर्म र तिनको परिणामको बारेमा सहज ढङ्गले पछिसम्म फरक नपर्ने गरी कैयौं जीवनोपयोगी सन्देशहरू उपहार दिएको छ । 

तसर्थ यति लामो, सनातन र निरवच्छिन्न इतिहास बोकेको संस्कृतभाषा यहाँसम्म जस्ताको तस्तै आइपुग्नुको पछाडि महामुनि पाणिनिको योगदान नै मूलभूतरूपले स्मरणीय छ । महामुनि आचार्य पाणिनिले निर्दिष्ट गरेको संस्कृतभाषाको व्याकरण अत्यन्त वैज्ञानिक र प्रामाणिक छ । 

संस्कृत अप्ठेरो छ भनेर हामीमाथि जानीबुझिकन मनोवैज्ञानिक दबाब थोपरिएको छ । के अंग्रेजी भाषा सजिलो हो र ? चिनीयाँ भाषा सजिलो होला र ? वास्तवमा कुनै पनि भाषा सजिलो हुँदैन । अहिले पनि दशौं वर्ष अङ्ग्रेजी माध्यममा पढेको कुनै विद्यार्थीलाई सोझै मञ्चमा चढाएर बोल्न लगाउदा ऊ कति शुद्ध बोल्न सक्छ ? दशकौं अङ्ग्रेजी पढाएको शिक्षकले कति शुद्धसँग अङ्ग्रेजी लेख्न र बोल्न सक्छ ? यसको उत्तरका बारेमा हामी धेरैजना अनभिज्ञ छैनौं । 

तसर्थ संस्कृतभाषाको व्याकरण अति क्लिष्ट र दुरूह छ भन्ने कुरा सत्य होइन । सत्य त के हो भने यो भाषालाई आमरूपमा कति समय प्रदान गरिएको छ भन्ने नै हो । संस्कृतभाषाको सम्भाषण, श्रवण, लेखन र पठनमा कति अवसर र समय छ भन्ने नै हो । सबै भाषाको आफ्नो व्याकरण हुन्छ । संस्कृतको पनि छ । तर त्यसको र आममानिसको सम्बन्ध कट्न पुग्दा नै हामीलाई संस्कृत अप्ठेरो लाग्ने हो । थोरै मात्र यत्न गर्दा कुनै पनि बालक वा प्रौढ नेपालीले सजिलैसँग छोटो समयमै संस्कृतभाषामा दक्षता हासिल गर्न सक्छ । 

हो, प्रत्यय र उपसर्गहरू तथा सन्धि र समासलाई संस्कृतभाषाको अद्वितीय गुण र ऐश्वर्य मानिन्छ । यस भाषामा प्रयुक्त वाक्यका शब्दहरूलाई जुनसुकै स्थानमा राखेर लेख्दा, बोल्दा पनि मूलअर्थमा फरक पर्दैन । संस्कृत भाषामा एउटै अर्थ दिने वाक्यलाई धेरै तरिकाले लेख्न र बोल्न सकिन्छ । यी र यस्ता अनेकांै कारणहरूले गर्दा भाषाप्रति तटस्थ धारणा राख्नेहरू संस्कृतभाषाका अगाडि नतमस्तक हुन्छन् । हाल विश्वका धेरै देशहरूका विश्वविद्यालय र विद्यालयहरूमा संस्कृत पठनपाठन हुन्छ र यो क्रम घट्दो होइन बढ्दोरूपमा देखिन्छ । 

तर हामी आफैं भने के कति संवेदनशील छौं ? प्रश्न अनुत्तरित छ । किमधिकम् ।

twitter

@narendraparasar


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro