site stats
बाह्रखरी :: Baahrakhari
देश
मानसिक स्वास्थ्यको ख्याल गरौं, सामाजिक सञ्जालबाट टाढै बसौं

कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन गरेको चार साता बितिसकेको छ । तर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । सरकारले सुरुमा एक साता मात्र लकडाउन घोषणा गरेको थियो । आममानिसमा सुरुको एक साता एक प्रकारको बिदा जस्तो भयो । घर परिवारसँग बस्ने रमाइलो गर्ने गरेको देखियो । विस्तारै लकडाउन बढ्दै गएपछि मानिसहरूमा मानसिक तनाव पनि बढ्दै गएको देखिन्छ । 

लकडाउनको सुरुमा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, हातखुट्टा झमझमाउने, निद्रा नलाग्ने र जिउ तात्ने । तर ज्वरो नाप्दा ज्वरो देखिँदैन । कतै मलाई कोरोना त भएको छैन भन्दै केहीले मलाई फोन गरेका थिए । यस्तोे समस्यलाई कोरोनासम्बन्धी (एन्जाइटी) भनिन्छ ।

केही दिनयता भने मानिसहरूलाई दिक्क लाग्ने, लकडाउन कति दिनसम्म जाने हो । काम गरे खाने हामीहरू । पैसा पनि छैन । घरकासँग बोल्न पनि मन लाग्दैन । झर्को लाग्छ । भनेर फोन गर्नुहुन्छ । उहाँहरूको कुरा सुन्दा डिप्रेसनको लक्षण देखिन थालेको छ । 

‘डाक्टर साब मलाई रुघाखोकी लागेको छ । मलाई छुट्टै एउटा कोठामा परिवारले राखिदिएका छन् । मेरो कोठामा कोही पनि आउँदैनन् । खाना ढोकाछेउमा राखिदिन्छ । मलाई कोरोना भाइरस हो कि ?’ भनेर केही दिनअघि एकजनाले फोन गरेर सोध्नुभएको थियो ।

अहिले मौसमी रुघाखोकीको समय हो । रुघाखोकी लाग्दैमा कोरोना भाइरस हुने भन्ने होइन । जसरी पहिला–पहिला कोरोना नदेखिएको समयमा रुघाखोकी लाग्दा अरूमा नसरोस् भनेर दूरी कायम गर्ने गरिन्थ्यो । त्यसरी नै अहिले पनि गर्न सकिन्छ । तर कोठामा लगेर छाड्ने र टाढैबाट खाना दिने गर्दा मानसिक असर ती व्यक्तिमा पर्न सक्छ । 

Global Ime bank

लकडाउनको समयमा हामीले दिनभरि के गर्ने भनेर परिवारमा योजना बनाउन सकिन्छ । पहिला आफू जसरी कलेज र अफिस जाँदा हो वा घरमै बस्दा पनि एउटा सामान्य रुटिङ बनाएर काम गरिरहेका थियौं । सोहीअनुसारको रुटिङ अहिले पनि कार्यान्वयन गर्ने कोसिस गर्नुपर्छ । तर अहिले मानिसहरूलाई बिदा भए जसरी बिहान पनि ढिलो उठ्ने र दिउँसो पनि सुत्ने गर्दा निद्राको समस्या देखिन थालेको छ ।

त्यसैगरी, घरमा बालबालिका र वृद्धवृद्धा छन् भने उनीहरूलाई बढी ध्यान दिनुपर्ने हुन्छ । बालबालिकालाई विशेषगरी अहिले के भइरहेको छ, उनीहरूको उमेरअनुसार जानकारी दिनुपर्छ । लुकाउनु हुँदैन । वृद्धवृद्धालाई अहिले के भइरेहको छ भन्ने सही सूचना दिनुपर्छ । उनीहरूको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्यको पनि ध्यान दिनुपर्छ । बिहानदेखि बेलुकासम्म पकाउने खाने मात्र गर्ने गर्दा तौल बढ्ने, अन्य विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । यदि घरमा कसैलाई रुघाखोकी लागेको छ भने आत्तिनु हुँदैन । बरु रुघाखोकी लागेको व्यक्तिले प्रयोग गरेको रुमाललगायत वस्तुहरू अरूले प्रयोग गर्नु भने हुँदैन ।

मानसिक रोगका औषधि सेवन गरिहेकामा बिरामीमा कोरोनाको डरको समस्या बढेको देखिन्छ । मानिसहरूमा दिक्दारीपनको समस्या बढेको पाइन्छ । लकडाउन बढ्यो भने के गर्ने निद्रा नपर्ने, सानो–सानो कुरामा चिढचिढा हुने, परिवारमा झगडा हुने समस्या देखिन्छ । 

मानसिक रोगका बिरामीहरूले के भन्नेको सुन्छु भने डाक्टरसँग नभेटी त के औषधि थप्ने भनेर बीचमै छोडेको र गाह्रो भयो भन्दै आउने बिरामी बढेका छन् । मानसिक रोगका बिरामीहरूले आफूले खाइरहेको औषधि बीचमा छाड्नु भएन । दीर्घ रोगका बिरामीले औषधि सेवन रोक्नु हुँदैन । 

हामीमा सामाजिक सञ्जाल बढी प्रयोग गर्ने बानी छ । अझ अहिलेको चौबीसै घण्टा सामाजिक सञ्जाल चलाउने गरेको देखिन्छ । यसरी सामाजिक सञ्जालमा रहँदा मानसिक तनाव बढ्ने हुन्छ कोभिडसम्बन्धी समाचार सरकारको आधिकारिक स्रोतहरूको दिनमा एकदेखि दुईपटक जानकारी लिन सकिन्छ । 

लकडाउनको मानसिक असर विभिन्न अध्यायन हेर्दा मानिसमा दुईदेखि तीन वर्षसम्म डिप्रेसनको समस्या देखिने उल्लेख छ । लकडाउन सुरुअघि यस्ता विभिन्न डिप्रेसनको समस्यालगायत कसरी व्यवस्थापन गर्ने भनेर ध्यान दिनु आवश्यक छ । 

लकडाउनका विषयमा नबुझेकाहरूलाई घरमै बसौं भनेर मात्र हुँदैन । उनीहरूलाई बुझाउन जरुरी छ । लकडाउनको समय थपिएको छ । यस्तोमा मानिसका आधाभूत आवश्कता पूरा नहुने अवस्था छ । खानेकुरा सकिएर काठमाडौंमा बस्ने मानिस गाउँ गइरहेका छन् । कतिपयले खान पाइरहेका छैनन् । औषधि उपचार पाइरहेका छैनन् । सरकारले औषधि अभाव हुँदा कसरी व्यवस्थापन गर्ने सोच्न जरुरी छ । सरकारले खाने रासन र औषधिको व्यवस्था गनुपर्ने हुन्छ ।

लकडाउन एउटा नियम हो । घरबाहिर निस्कियो भने प्रहरीले पिट्छ भनेर घरमै बस्नुपर्छ भनेर मात्र हामीले बुझिरहेका छौं । जसले गर्दा नकारात्मक सोच हामीमा बढेको छ । तर हामीले यो लकडाउन हाम्रै लागि हो भनेर बुझ्न जरुरी छ । यसलाई सकारात्मक लिन जरुरी छ । 

अर्को, कतिपय प्रहरीलाई त दिनभरि विभिन्न मानिसको सम्पर्कमा रहेको र पोसाक घरबाहिर फुकालेर नुहाएर मात्र घरभित्र जानुपर्ने परिवारकै सदस्यहरूको आग्रह रहेको पाइन्छ । फिल्डमा खटिने चिकित्सक स्वास्थ्यकर्मीजस्तै प्रहरी पनि उस्तै हुन् । सरकारले घरबाहिर ननिस्कन भनिरहेकै छ । प्रहरीको भनाइ पनि यही हो । तर मानिसहरू बाटोमा निस्कने र भनेको नमान्ने, प्रहरीले आफूलाई जोखिम पनि छँदै छ भनेर तनावका कारण उनीहरूमा रिस बढी देखिनु स्वभाविकै हो । लामो समयसम्मको लकडाउनकै कारण प्रहरीमा पनि एक प्रकारको मानसिक तनाव देखिएको पाइन्छ । 

कोरोनालाई एउटा भाइरसका रूपमा मात्र नलिएर मनोसामाजिक, सामाजिक, आर्थिक र राजनीतिक सबै पाटोमा व्यवस्थापन गर्ने गर्नुपर्ने हुन्छ । तर अहिले सरकारले कोरोना महामारी हो । लकडाउन गर्ने मात्र भनेर एउटा मेडिकल पाटो मात्र हेरेको देखिन्छ । 

अन्त्यमा घरमै बसेर हामी सिर्जनात्मक कामहरू गर्न सकिन्छ । पहिला व्यस्त भएर गर्न नसकेका जस्तै सकारात्मक किताबहरू पढ्ने, मन परेका फिल्म हेर्न सकिन्छ । लकडाउनमा मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । बिहान उठेर अलिअलि भए पनि व्याम, योग गर्ने, स्किपिङ गर्दा स्वस्थ्यलाई लाभ मिल्छ । साथै कुनै वस्तु छोएपछि स्यानिटाइजर प्रयोग गर्ने वा साबुनपानीले हात धुनुपर्छ ।

(रिदम न्युरो साइकियाट्री हस्पिटल एन्ड रिर्सच सेन्टरका डा. थापासँग बाह्रखरीकी सञ्जिता खनाल गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu