site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लय भर्दै शक्ति !
SkywellSkywell

काठमाडौंको शान्तिनगरस्थित संगीतकार शक्ति बल्लभको घर । पाँच÷छ वर्षअघिको एक साँझ हामी पुगेका थियौँ । उनको बैठक कोठाको बीचमा हारमोनियम राखिएको थियो । अरू साजले पनि उनको कोठाको शोभा बढाएको थियो ।

केही बेरको औपचारिकतापछि शक्ति बल्लभ हारमोनियम छेउकै कुसनमा बसे । लगत्तै उनका औँलाहरू नाच्न थाले, हारमोनियमको पटरीमा । साथैै गुनगुनाउन थाले गीतका शब्दहरू ।

त्यसबेला नितान्त नयाँ धुन, नयाँ सिर्जना सुनाउँदै थिए, उनी । हामी पनि उनले लय भर्दै गरेको त्यही गीतको सिलसिलामा पुगेका थियौं । र करिब एक घण्टा हामीले संगीतकार शक्ति बल्लभसँग बिताएका थियौँ । 

KFC Island Ad
NIC Asia

धेरै ठाउँ धेरैपटक संगीतकार तथा गायक शक्ति बल्लभसँग मेरो भेट भएको हो । तर त्यो सन्ध्याकालीन भेट आज पनि स्मरणीय छ, मेरा लागि । त्यसैले पनि होला, दुई तीन दिनअघि शक्ति बल्लभसँग सांगीतिक भलाकुसारी गर्दै गर्दा म उनको त्यही बैठककोठा, त्यहाँ सजिएका वाद्ययन्त्र अनि हारमोनियममा दौडिरहेको उनको औँलासँगै गुञ्जिएको नाद स्मरण गरिरहेको थिएँ ।

एउटा संगीतकर्मीको लकडाउनको दिन संगीत सिर्जनामै त बितिरहेको होला । त्यही ठानेर मैले सोधेको थिएँ, शक्ति बल्लभलाई– सर्वत्र बन्दाबन्दी भए पनि सिर्जनालाई बन्दीले नछोएको होला, हैन दाइ ? 

Royal Enfield Island Ad

शक्ति हाँसे । भने, “कहाँ र ! लकडाउनको सुरु तिर त काम गर्नै सकिएन ! हामी सिर्जनामा रमाउने मानिसहरूलाई पनि केही दिन असाध्यै कष्ट भयो । ‘फुर्सदको समयमा सिर्जना गर्न सकिन्छ’ भन्ने मान्यता यही समयमा आएर फितलो भएको महसुस गरेँ मैले !”

बन्दाबन्दीको यो समयमा धेरैजसो सर्जकले चाहे पनि, सोचे पनि, सिर्जना गर्न नसकेको बताएझैँ शक्ति बल्लभले पनि कोरोना कहरको यो असहज परिस्थितिमा सिर्जनशीलता धमिलिएर गएको महसुस गरे ।

उनका अनुसार सुरुको समयमा अलिकति पनि मुड आएन । केही गर्नै सक्ने अवस्था भएन । सिर्जनाभन्दा पनि भय र त्रासले मन मस्तिष्क घुमायो । कोरोनाको कहर बाहेक अरु केही देखिएन, कहीँ कतै । मनमा कोरोना, खबरमा कोरोना । मोबाइल र सामाजिक सञ्जालमा कोरोना । कोरोनाका कारण ठप्प भयो सर्वत्र !

उनी भन्दै थिए, “केही दिन उप्रान्त साह्रै अल्छी पो भइयो भन्ने लाग्यो । कति दिन यत्तिकै अकर्मण्य बस्ने । विकल्प खोजिनु जरुरी थियो । त्यसैले आफूलाई आफ्नो कर्मतिर ढाल्दै गएँ ।”

अर्थात्, बन्दाबन्दी (लकडाउन) को सुरुका दिनमा अलमलिए पनि अहिले उनको सिर्जना र सांगीतिक कर्मले लय समाएको छ । प्रारम्भमा विस्तारै–विस्तारै बिहानको समय उनले रियाज (सागीतिक अभ्यास) लाई दिए । त्यसपछिको केही समय धुन÷लय सिर्जनामा घोत्लिन थाले । अनि, साँझको समयमा गीत÷गजल सुन्न र गाउनमा खर्चिन थाले । 

सयौँ आधुनिक, फिल्मी गीत र नेपाली गजलमा संगीत भरिसकेका संगीतकार बल्लभ भन्छन्, “केही दिनदेखि केही नयाँ गीतहरू कम्पोज गर्न थालेको छु । रोकिएको लयलाई संगीतको लयसँगै गति दिन त प¥यो भन्दै संगीत भर्न सुरु गरेको हुँ ।”

मुड बनाउन नसकिरहेको परिस्थितिमा कुनै पनि काम गर्न कठिन हुने उनको भोगाइ रह्यो, यसपटक । तर मन नलागे पनि मन लगाउनु जरुरी थियो । त्यसैले रियाज गर्दै अरू कलाकारका गीत गजल सुन्दै मुड बनाउन थाले । यसरी कोरोना कहरलेभन्दा संगीतले थिच्ने वातावरण बन्दै गए पछि आफूसँग भएका गीतहरूमा संगीत भर्न थालेको उनको भनाइ छ ।

दैनिक रियाज गर्दै र अपराह्न र साँझ हिन्दी गीत गजल सुन्दै जाँदा उनलाई लाग्यो, अब आफूले संगीतबद्ध गरेका गीतहरू गाउँदै सिर्जनको माहोल बनाउनुपर्छ । त्यसैले उनले बिहान–बेलुकीको समाचारबाहेक टीभी हेर्न छाडे । मौका मिल्यो कि मेहँदी हसन, गुलाम अली, जगजित सिंहलगायत प्रसिद्ध गायकहरूले गाएको गजलमा डुब्न थाले ।

‘गजल मे डुबना तनहाइया सिखा देगी....’, यो शेरले भनेजस्तै संगीतकार शक्ति बल्लभले पनि गजलमा डुब्दै सिर्जनाको ‘माहोल’ बनाउन थाले । यस पंक्तिकारले फोन गर्दा उनी भन्दै थिए, “भाइ, यतिबेला म जगजित सिंहको गजल सुनेर बसिरहेको छु । यसले कान हुँदै हृदय र मस्तिष्क दुवैलाई आराम दिन्छ । नभए त...!”

सामाजिक सञ्जाल अनि टीभी÷रेडियोका समाचारले हरेक मनलाई एकतमासको बनाएको उनको ठहर छ । कोरोनाको भयमिस्रित समाचारले सबैलाई त्रसित बनाएको हो कि ? तर पनि यतिबेला टीभी र रेडियोले दर्शक स्रोताका लागि फरक खुराक दिन सक्नुपर्ने उनको भनाइ छ । यसले आम मानिसलाई मानसिक रूपमा सहज बनाउने उनी बताउँछन् । 

जब उनी गीत संगीतको रियाज गर्दै, गीत गजल सुन्दै र गीत गजल गाउँदै अड्किएको सांगीतिक परिवेश बनाउन थाले; लकडाउनले रोकिएको सिर्जनशीलताले आफ्नो लिकमा आयो । अनि केही गीतहरूको धुन सिर्जनाबाट सुरु भयो, उनको सिर्जनात्मक कर्म । उनीसँग आफूसँग रहेका गीतका गेडालाई लयको चास्नीमा डुबाउन थाले । 

शक्ति बल्लभको रुचि गजल संगीतमा पनि छ । उनले आफैले केही नेपाली गजल गाएर एलबम निकालेका छन् । तर यतिबेला भने आफूसँग गजल रचना नभएकाले गजलको कम्पोज सुरु नगरेको उनी बताउँछन् । 
शक्ति भन्छन्, “गजल रचना मसँग थिएन । फेरि गाउनका लागि गाउन योग्य गजल पनि हुनुप¥यो । त्यसैले आधुनिक गीत र राष्ट्रिय गीतको कम्पोज सुरु गरेको हुँ ।”

उनका अनुसार गीतकार हरिभक्त बुढाथोकी, दिलीप पौडेल, सिन्धु राणा, वीरेन्द्र पाठकहरूका गीत संगीतबद्ध गर्दै छन् । तथापि गीतका शब्दमा लयको लेपन सजिलो छैन । उनको कुरा सुन्दा यतिबेला सिर्जनाको प्रशवकालमा छन्, शक्ति । संगीत सिर्जना कसरी सुन्दर बनाउने, यसैमा उनी क्रियाशील छन् । 

गीतकार शक्ति बल्लभका अनुसार अचेल बिहानदेखि बेलुकीसम्मै गीत–संगीतमै रमाएर बस्ने उनको दैनिकी भएको । त्यसैले पनि आफ्नो नियमित काममा फर्कने वातावरण तयार भएको उनको भनाइ छ । 

उनी भन्छन्, “तर, टिम वर्कमा काम गरिरहने बानी भएकाले केही अप्ठ्यारो हुँदो रहेछ । गीतकार र गायकसँग बसेर कम्पोज गरिएको गीत सुनाउँदा आउने फिडब्याक, बहस र छलफलले कम्पोजमा देखिएका कमी कमजोरी हटाउन धेरै मद्दत मिल्थ्यो । यतिबेला त्यो अवस्था भएन !”

साँझ गीत गाउने क्रममा आधुनिक गीत गाउँदा आफ्नो सांगीतिक संघर्षको सुरुवातताकाको गीत आफैंलाई भार भयो, आज आफ्नै जिन्दगी बाट गाउन सुरु गरेको उनले बताए । प्रकाश अधिकारीको शब्द, रविन शर्माको स्वरमा रेकर्ड भएको यो गीतले शक्ति बल्लभलाई शक्ति बल्लभको परिचय दिएको हो । त्यो समयमा उनका केही अरु गीतहरू पनि निक्कै लोकप्रिय भए । 

शक्तिले प्रारम्भका ती सबै लोकप्रिय गीतहरू एक साँझ गाए । मन फुकाएर गाए । अरू ताल बाजाको साथ नमिले पनि हारमोनियमसँग मात्रै सुरमा सुर मिलाए । सुरुमै उनले गाए, ‘आफैंलाई भार भयो...’ । त्यसपछि रविन शर्माकै स्वरको ‘लाली प्रभातको सिन्दूर हाली....’ गाए । प्रकाश श्रेष्ठले गाएको ‘म पनि त कुनै आशमा....’ बोलको गीत पनि गाए । 

त्यस्तै मदनकृष्ण श्रेष्ठको स्वर सजिएको ‘खोलावारि खोलापारी पिपलु र बर..’ गाए । सँगै गाए, शिशिर योगीले गाएको ‘सारंगी त रेटे पनि बोल्छ मीठो ध्वनि’, आनन्द कार्कीको ‘लाग्छ मन हेरिरहुँ...’, जस्ता आफ्नै संगीत रचना । 

मैले सोधेँ– मोतिराम भट्टको गजल ‘यी सानै उमेरदेखि मन हर्न लागे, यिनै सुन्दरीले जुलुम गर्न लागे...’ गाउनु भएन ?

फोनमा उनको हाँसो गुञ्जियो । अनि भने, “गजलको पालो नै आएको छैन ।” नेपाली गजल लेखनीका सूत्रधार मानिने मोतीराम भट्टको गजल ‘यी सानै उमेरदेखि...’. शक्ति बल्लभले धेरै अगाडि रेकर्ड गरेको गजल हो । त्यसबाहेक अरू पनि कैयन नेपाली गजलमा उनले स्वर र संगीत दिए । गजलमा संगीत भर्न मनपराउने उनले भने, “गजलकै एक दुई सिटिङ बस्ने मुड बनाउँदै छु । तर अहिले आधुनिक गीत नै गाइरहेको छु ।” 

उसो भए गजलको सिटिङलाई फेसबुक लाइभ गरे हुन्न ? भन्दा उनी फेरि हाँसे । भने, “नगराँैं । हारमोनियम मात्रै बजाएर गाउने भएकोले अहिले त्यो सोचाइ छैन । फेरि ख्वै के हो, अचेल गलामा परफेक्सन छैन !”

आफूले बनाएका, गाएका गीतहरू धेरै भएकाले पनि छानेर गाइरहेका छन् उनी । यसरी दिनहुँ १०÷१५ गीत गाएर आफूलाई संगीतले निथु्रक्क रुझाउँदै छन्, शक्ति ।

आजको परिवेशमा सहज हुन गीत गाइरहेका शक्तिलाई आफ्ना पुराना कम्पोजिसनले उनलाई हर्षित बनायो । उनले ती गीत गाउँदासंघर्षका दिन पनि सम्झिए । आफूलाई पहिचान दिएका गीत गाउँदाको समय अविस्मरणीय रहेको उनी बताउँदै थिए । 

शक्ति बल्लभ भन्छन्, “लाली प्रभातको सिन्दूर हाली... गाइरहँदा त्यसबेला आफूले यतिसम्म मिहिनेत गरेर गीत कम्पोज गरेको रहेछु भन्ने सम्झना भयो । यो सम्झिएर आफै अभिभूत भएँ ।” 

त्यस्तै चलचित्रका गीतहरू ‘खुसी छु म आज’, ‘धड्कन भित्र..’, ‘त्यो सानो गाउको जन्मेको ठाउँको’, ‘उकाली ओराली गर्दै’ जस्ता दर्जनौं गीत गाउँदा पनि आफूलाई आनन्दानूभूति भएको उनि बताउँदै थिए । 

कुराकानी बिट मार्दै शक्तिलाई ‘लकडाउनले एक दुईवटा एल्बम त देला नि ?’ भनेर सोध्दा उनी हाँसे । अनि भने, “लकडाउनको पिरियडमा एल्बम नै निस्किन्छ भन्न त सक्दिनँ । तर यो समस्याको समाधान चाँडै नै होस् भन्ने चाहन्छु । तर पनि यतिबेला घरै बस्नु सबैका लागि हितकर भएकाले आज हाम्रो दायित्व पनि घरै बसेर सहयोग गर्नुभएको छ ।” कुराकानी सकिँदै गर्दा शक्ति दाइलाई भन्न मन लाग्यो, ‘तपाईंले हारमोनियम फिटेर गीत गाएको सुन्न आउने छु एक दिन ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro