site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सोचेजस्तो नहुने रहेछ’
SkywellSkywell

काठमाडौं । अंग्रेजी साहित्यका ज्ञाता, प्राध्यापक तथा नेपाली साहित्यका चर्चित हस्ताक्षर प्रा.डा. अभि सुवेदीको लकडाउनका दिन बाँकी रहेको लेखपढको काम टुङग्याउनमा खर्च भइरहेको छ । सिध्याउनै पर्ने कामलाई प्राथमिकतामा राखेका छन्, उनले । तर पनि भययुक्त परिस्थितिका कारण जुन रुपमा काम गर्नसक्नुपर्ने थियो, त्यो हुन नसकिरहेको उनी स्वीकार्छन् । 

यतिबेला केही किताबहरू पढ्ने काम पनि भइरहेको छ । अल्वेयर कामुको ‘प्लेग’ धेरै वर्षपछि फेरि पढ्न सुरु गरेका छन्, उनले । त्यसबाहेक अरु पनि केही किताब पढिरहेको उनको भनाइ छ ।

साहित्यकार सुवेदीसँग हालैका दिनमा फोन सम्पर्क गर्दा उनी आफू त्यतिखेर आँगनमा हिँडिरहेको बताउँदै थिए । उनी भन्छन्, “लकडाउनको समय अरू समयजस्तो नहुँदो रहेछ ! एक किसिमको द्वन्द्व हुनेरहेछ ! सिर्जना गर्नलाई एकान्त चाहिन्छ । ध्यान गर्नलाई एकान्त चाहियो । एकान्तको अर्थ हो शान्ति । अनि त्यो एकान्तमा एउटा सर्जकले रचना गर्ने हो । तर अहिले त्यो शान्ति छैन । त्यो एकान्तिकता छैन !”

KFC Island Ad
NIC Asia

यतिखेर सारा विश्व कोरोनाभाइरसको महामारीसँग जुध्दै छ । यो महामारीबाट बँच्न हरेक मानिस घरैमा बसेका छन् । लकडाउनमा छन् । एकान्तबासमा छन् । तर योबेलाको एकान्तिक अवस्थालाई कसरी हेरिरहेका छन्, डा. सुवेदीले ? 

सुवेदीको भनाइछ, “महामारीको यो अबस्थामा एकान्त चाहिँ कस्तो हुँदो रहेछ भने, सिर्जना गर्न बस्यो तर सोचेजस्तो नहुने रहेछ । त्यसैले जन्माएको छ, चिन्ता पनि । मलाई सम्झना छ, कवि विलियम वर्डस्वर्थको एउटा कवितामा ‘मानवताको बडो कारुणिक नाद सुनिरहन्छु’ भनिएको छ । अर्थात् मनमा चैन हुँदैन भन्ने अर्थ हो त्यसको । अहिले महामारीको भयावह परिस्थितिमा पनि चैन हुने कुरै भएन ।” 

Royal Enfield Island Ad

यस्तो परिस्थितिमा सिर्जना गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा उठ्नु अस्वाभाविक होइन । सुवेदीका अनुसार पहिले–पहिले पनि यस्तो भयावह परिस्थितिमा सिर्जना गरिएका थिए । त्यस्तो बेलाका कतिपय सिर्जना र कृति प्रकाशनमा आएका छन् । पश्चिमी साहित्यको विद्यार्थी भएको कारण आफूले त्यहाँ धेरै उदाहरूण भेटेको उनी बताउँछन् । 

उनी भन्छन्, “अत्यन्त विकट र प्रतिकूल परिस्थितिमा पनि पश्चिमा साहित्यकारहरूबाट उत्कृष्ट कृति सिर्जना भएका छन् । अल्वेयर कामुले त्यस्तै असहज परिस्थितमा ‘प्लेग’ उपन्यास लेखे । हाम्रै लाहुरे दाजुभाइहरूले पनि युद्धमा होमिएको बेला, मरिन्छ कि बाँचिन्छ भन्ने अवस्थामा पनि गीत र कविता लेखेको भेटिएको छ । त्यसैले नलेखिने होइन, तर पनि सहज नहुने रहेछ । आनन्दको अवस्था नरहने रहेछ !” 

कुनै पनि सर्जकले सिर्जनामा पीडा पोख्न पनि स्वतन्त्रता खोज्छ । उसलाई स्वतन्त्रता चाहिने सुवेदी बताउँछन् । यद्यपि यस्तो परिस्थितिमा पीडा पोख्ने अवस्था पनि रहँदैन । आजको स्थिति त्यस्तै भएको उनको तर्क छ । 

यतिबेला सबैको मनमा त्रास छ । समय र अवस्था नै भयक्रान्त छ । यो अवस्थालाई डरलाग्दो अथवा भयपूर्ण स्थिति नै भनिन्छ । उनी भन्छन्, “पीडा व्यक्त गर्न मानिसले आफूले भोगेको विषय वा अनुभवलाई एकान्तमा बसेर अनेक कल्पना गर्दै लेख्दै जान्छ । तर यो त पीडाको अवस्था पनि होइन ! यो त त्रासपूर्ण समय हो ।”

साहित्यकार सुवेदीका अनुसार भयक्रान्त अवस्थाले सिर्जनाका भारहरू मेट्दै जाँदो रहेछ भन्ने थाहा हुन्छ । यो परिस्थितिमा मनमा कुनै कुरा प्रस्फूटित नै हुँदैन । यस किसिमको अस्थिर अवस्थामा लेख्नै कठिन हुने उनको तर्क छ । 

सुवेदीले भने, “मलाई एकजनाले नाटक लेख्नुस् न भने । मैले के लेख्ने ? कुन थिम समाउने ? भनेर सोधेँ । वास्तवमा भनेजस्तो सजिलो छैन सिर्जना गर्न ! मलाई लाग्छ, केही समय गुज्रिए पछि, कोरोनाको कहरले ल्याएको यो परिस्थिति यो अवस्था, यो भयक्रान्त परिवेशलाई सर्जकहरूले आफ्नो सिर्जनामा उतार्ने नै छन् होला ।” आजको अवस्थाले लेखनमा मात्रै नभएर पढाईमा पनि प्रभाव पार्ने गरेको उनको अनुभव छ । उनका अनुसार किताब पढ्दा पनि मन अधैर्य हुनेरहेछ । 

सुवेदी भन्छन्, “तर पनि यतिबेला कामुको ‘प्लेग’ पढ्दा अहिलेको परिस्थितिसँग कसरी सामना गर्न सकिँन्छ भनेर बुझ्न पनि मद्दत मिलिरहेको छ भन्ने लाग्छ । त्यसका अतिरिक्त कविता पनि पढिरहेको छु । तथापि पुस्तक पढ्नलाई भने धैर्यता नहुँदो रहेछ ।”

लकडाउनमा बस्ने जोसुकै हुन्, तिनले अहिलेको परिस्थितिमा विशेष ध्यान पुर्‍याउनै पर्ने उनको राय छ । यो भयको अवस्था हो । यो भयको दुईटा पाटो हुनसक्ने उनको तर्क छ । एउटा ‘यो मलाई पनि हुनसक्छ कि’ भन्ने । अर्को चाहि ‘यो कहिलेसम्म हुन्छ र यसको निदान के हो ?’ यसरी दुइवटा कुरामा मानिसको ध्यान गइरहेको उनको भनाइ छ । 

उनी भन्छन्, “कोरोनाभाइरसले मलाई पनि छुनसक्छ भन्ने प्रक्षेपणले मनोगत समस्या सिर्जना गर्नसक्ने सम्भावना रहन्छ । जिन्दगी यसै पनि सहज त छैन । तर पनि मूलरुपमा सोच्नु पर्ने के रहेछ भने, लकडाउनमा बसेर नै बाँचिन्छ । कोरोनाभाइरस आफूसम्म आउँदैन, भन्ने सोचेर बस्दा नै सबैका लागि राम्रो र हितकारी हुन्छ ।” 

तर यतिबेलाको समयमा ‘चिन्ता’ पनि एउटा अर्को डरलाग्दो कोरोना भएको उनी बताउँछन् । चिन्ता भन्ने चिज पनि विचित्रको हुन्छ । यो त अझै कोरोनाभन्दा कडा हुने उनको भनाई छ । त्यसैले चिन्ता नलिनु नै अहिलेको सन्दर्भमा हरेकका लागि सबैभन्दा राम्रो उपाय भएको उनको ठम्याई छ ।

डा. सुवेदी भन्छन्, “आखिर, अहिले बाँच्न दुई चार साधारण कुरा नै त आवश्यक रहेछन् । सामाजिक दूरी, घरमै बस्ने, साबुनपानीले हात धुने, मास्क, पञ्जा र स्यानिटाइजरको प्रयोग गर्ने, त्यति नै त हो ! यति गरौँ न त हामीले पनि । यतिले नै पनि हामीलाई बचाउँछ ।”

कुराकानीका क्रममा उनले अमेरिकाको भयावह स्थितिको चर्चा गर्दै त्यहाँ अहम हावी भएको उल्लेख गरे । अहमका कारण नै त्यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या बढ्दो छ । तर मास्क लगाउने, घरमै बस्न मान्नेहरू बाँचेका पनि छन् । 

सुवेदी भन्छन्, “भोलिका दुःख त छँदै छन् । आजको यो परिस्थितिले भोलि आर्थिक परिवर्तन हुन्छ । सामाजिक परिवर्तन हुन्छ । राजनीतिक परिवर्तन पनि हुनसक्छ ! त्यसैले यथार्थ बुझौ र कोरोनालाई ननिम्त्याउने प्रयत्नमा हामी लागौंं । भोलिका दिनमा हामीले धेरै गर्न सक्छौँ ।” 

कुराकानीका क्रममा लामो समय विद्यार्थीहरूबीच बिताएका एक प्राध्यापकसँग अध्यापनको कुरो उठ्नु स्वाभाविक थियो । उनले भने, “मैले लामो समय विद्याथीलाई अंग्रेजी पढाएँ । कक्षाकोठामा खाँदाखाँद विद्यार्थी हुन्थे । तर अब आउँने समयमा पठनपाठनका लागि केही विशेष व्यवस्था गरिनैपर्छ ।”

उनलाई लाग्छ समयसँगै यसका उपायहरू निस्किन्छ पनि । किनभने यो अवस्थामा अनेक उपाय निकाल्ने काम गरिन्छ नै । कलेजमा स्पिकर राखेर विद्यार्थीलाई बाहिरै राखेर पढाउन सकिने अवस्था आउला । कम विद्यार्थी भएको कक्षामा त दूरी कायम होला । तर बढी विद्यार्थी भएको कक्षामा त्यो हुन्न । 

सुवेदी भन्छन्, “आजसम्म सरकारले वा राजनीतिक दलहरूले विश्वविद्यालयमा विद्यार्थी हिततर्फ केही सोचेनन् ! त्यहाँ कति विद्यार्थी छन् ? ती कति दूरीमा बसेर पढ्छन् ? कस्ता बेन्चमा बस्छन् ? ति कसरी पढिरहेको छन् ? शिक्षकलाई पढाउन कति गाह्रो छ ? यतातिर तिनको ध्यान कहिले पनि गएको पाइएन ।” 

उनका अनुसार सरकार वा दलको चासो जहिले पनि ‘विश्वविद्यालयका विद्यार्थीहरू मध्ये आफ्नो दललाई समर्थन गर्ने विद्यार्थी कति छन् ? भन्नेमा मात्र रह्यो । उनले भने, “राज्यबाट शिक्षा र विद्यार्थीको संख्याको विषयमा ध्यानै दिइएन । विद्यार्थी संख्याको भीडमा पार्टीको भीड मात्रै देखे, सबै दल र तिनका नेताहरूले ! यो मैले धेरै वर्ष भोगेको पीडा हो । म त्यही पोख्दै छु । र मलाई लाग्छ, ‘र्‍याडिकल’ परिवर्तन नभईकन यसको समाधान पनि हुँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro