site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनपछि कक्षाकोठाको भीडमा कसरी पढाउने ! 
SkywellSkywell

बन्दाबन्दी अर्थात् लकडाउनले विश्व ठप्प छ । यस अघि बेलाबखत नेपाल बन्द भोग्दै आएका नेपालीले योपटक कोरोना भाइरसविरुद्ध घरमै बसेर भाइरसको प्रकोपलाई परास्त गर्ने अठोट गरेका छन् । फलतः सामाजिक दूरी कायम गर्ने प्रयासस्वरूप राज्यले सबैलाई घरमै बस्न निर्देशन दिएको छ । 

त्यसैले पनि अहिले सबैका लागि महत्त्वपूर्ण काम भनेको घर बस्ने र सामाजिक दूरी कायम गर्ने भएको छ । यतिबेला कोही कार्यस्थलमा डटेका छन्, भिडेका छन् भने, पहिलो लहरमा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरू नै हुन् । 

त्यसपछि सुरक्षा निकाय र अत्यावश्यक सेवाअन्तर्गतका कर्मचारीहरू । बाँकी सबै– ती जोसुकै हुन्– तिनले घरमै बसेर राज्यलाई सहयोग गर्दै आइरहेका छन् । र यतिबेला सेल्फ क्वारेन्टाइनमै छन्, प्राध्यापन पेसामा संलग्न अध्यापकहरू अनि विद्यार्थी । 

KFC Island Ad
NIC Asia

वास्तवमा यस्तो अवस्थाको कल्पना पनि कसैले गरेका थिएनन् । नत यस्तो कल्पना गरिएको कुनै आख्यान वा कथा नै कहिल्यै लेखिएको थियो । हो, केही अति–कल्पनाशील चलचित्र निर्माण भएका थिए, जस्तै अमेरिकन प्लेग, प्यान्डामिक, कन्टेजियन्सलगायत । जसको कल्पनाशीलतामा विश्वका धेरै दर्शक रमाएका थिए । 

तर आज कल्पनै नगरिएको समय–सन्दर्भ विश्वभरिका मानिसले भोगिरहेका छन् । लाख वा करोड होइन, अर्बौं मानिस यो अकल्पनीय परिस्थितिसँग जुझिरहेका छन् । त्यसैक्रममा नेपाल र नेपाली पनि लकडाउन भोगिरहेका छन् । 

Royal Enfield Island Ad

शिक्षक र विद्यार्थी सबै कोठाकोठामा छन् । लाखौँ विद्यार्थीका परीक्षा रोकिएका छन् । एसईई मात्रै नभएर स्कुल र कलेजको परीक्षा पनि रोकिएका छन् । अध्यापकहरूले पढाउन सकिरहेका छैनन् । विद्यार्थीहरूले पढ्न सकिरहेका छैनन् । 

केही होलान्, खाली समयको सदुपयोग गर्दै आफ्नो पढाइ अगाडि बढाउने । कोही विद्यार्थीलाई सूचना प्रविधिको प्रयोग गर्दै सम्पर्कमा रहेर तिनलाई पढाइरहेका पनि होलान् । कति चुपचाप लकडाउनमा परिवारसँगै दिन काटिरहेका होलान् । 

केही दिनअघि कुराकानीका क्रममा लेखक अर्चना थापाले टिठलाग्दो विचार अभिव्यक्त गरिन्, “यतिबेला बौद्धिक मानिने हामीले पनि केही गर्न सकेका छैनौँ । फस्र्ट रोमा डाक्टर र नर्सहरू हुनुहुन्छ । सुरक्षा निकायका मानिसहरू खटिरहनुभएको छ । सञ्चारकर्मीहरूलाई समाचार बनाउन भ्याइनभ्याई छ ! तर हामीले केही गर्न सकिरहेका छैनौं, हामी निरीह रहेछौँ भन्ने महसुस भइरहेको छ ।”

तर के साच्चै हामीले केही गर्न सकिरहेका छैनौँ त ? यो प्रश्नसँगै विद्यार्थीसँग सम्पर्कमा हुनुहुन्छ कि हुनुहुन्न ? र यतिबेला लकडाउनमा रहेका विद्यार्थीले के गर्नुपर्छ ? भन्ने प्रश्न केही अध्यापकहरूका सामु राखिएको थियो । प्रस्तुत छ तिनै प्रश्नमा आएका अध्यापकीय अभिव्यक्ति । 

प्रा.डा. मदनकुमार रिमाल (त्रिविवि, केन्द्रीय संस्कृति विभागका प्रमुख) 

कोरोना भाइरसले यतिखेर संसारलाई ठप्प बनाइदिएको छ । यो समयमा हामी कोठामै छौं । राज्यले नै कोठामै बस भनेकाले हाम्रो काम पनि घरमा बस्ने भइदिएको छ । हामी आफ्नो दायित्व पूरा गर्दै छौँ ।

सर्सर्ती हेर्दा लाग्छ, सरकारले लकडाउन के हो भनेर नागरिकलाई बुझाउन सकेको छैन । बुझाउन सक्नुपर्थ्यो । लकडाउनको पूर्ण पालना गराउन सक्नुपर्थ्यो । तर त्यो देखिएको छैन । अहिले पनि कतैकतै भीड देखिन्छ । सरकारले सामाजिक दूरीको महत्त्वका विषयमा व्यापक जानकारी दिने व्यवस्था मिलाउनुपर्थ्यो । वास्तवमा यतिबेला केही गर्न सकिनँ भन्ने सोच्नुभन्दा पनि कसरी बाँच्ने र विश्व कसरी बचाउने भन्ने सोच पो मानिसमा हावी हुँदै गएको हो कि, भन्ने लागेको छ ।

आज लकडाउन छ । भोलि लकडाउन खुलेपछिको अवस्था झनै डरलाग्दो हुन सक्छ । हामी त झनै विद्यार्थीको भीडमा बसेर पढाउनुपर्ने मानिस । एउटा कक्षाकोठामा ५०औं विद्यार्थी पढाउनुपर्छ । कसरी पढाउने ? यो प्रश्नको जवाफ राज्यका तर्फबाट खोजिएको छजस्तो मलाई लाग्दैन । 

लकडाउन सकिएपछि मानिसलाई काम गर्न गाह्रो हुने निश्चित छ । म अफिस जाँदा कर्मचारीसँग कसरी नजिक हुन सक्छु ? कर्मचारीले मलाई आफूभन्दा टाढा राख्न खोज्छन् । मैले पनि उनलाई टाढै राख्न खोज्छु । यस्तो अवस्थामा काम गर्न सकिएला र ? के यसरी हामी, सामान्य जीवनमा फर्किन सक्छौं ? यक्ष प्रश्न यो हो । यसको जवाफ खोजिनुपर्छ । 

लकडाउनपछि कसरी ‘मुभ गर्ने त भन्ने विषयमा सरकारी निकाय र सरोकारवाला मानिसले सोचेकै छैनन् । भोलि भीडभाड बढ्दा कोरोना भाइरस लाग्दैन भन्ने ग्यारेन्टी कसैले लिन सक्दैन । भोलिका दिनमा आर्थिक, सामाजिक समस्या मात्रै होइन मानसिक समस्या पनि आउन सक्छ । 

जहाँसम्म यतिबेला विद्यार्थीसँगको सम्पर्कको कुरो छ, सामाजिक सञ्जाल र नेटका माध्यमबाट सम्पर्कमा आएका विद्यार्थीलाई सिकाउने बुझाउने काम गरिरहेको छु । विद्यार्थीलाई अहिले सिकाउने भनेकै इन्टरनेट शिक्षाबाट हो । दूर शिक्षाबाट हो । 

विद्यार्थीहरू आफै तनावमा छन् । परीक्षा रोकिएको छ । तर मूलतः अहिलेको समस्याभन्दा पनि लकडाउन खोलिएपछिको समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने देखिन्छ ।

प्रा.डा. अनीता ढुंगेल (अंग्रेजी विषयकी प्राध्यापक)

यतिबेला केही गर्न नसकेकोमा नमीठो महसुस हुँदो रहेछ । घरमै बस्नुको विकल्प नभएकाले केही गर्ने अवस्था पनि त छैन ! सूचना प्रविधिको विकासले हामी प्राध्यापकहरूलाई कुनै न कुनै रूपमा विद्यार्थीसँग जोडिरहेकै हुन्छ । कतिपय विद्यार्थी सामाजिक सञ्जालमा त कतिपय इमेलमा जोडिएका छन् । तिनको समस्या समाधानका लागि मेरो तत्परता रहन्छ नै । मसँग कतिपय विद्यार्थी जोडिनुभएको छ । 

तर पनि आफूले सिकेको ज्ञान बाँड्न नसकेकोभन्दा यतिबेला पीडितहरूका लागि केही गर्न नसकेको विषय मनमा बिझ्छ । विद्यार्थी पनि यतिबेला लकडाउनमा छन् । लकडाउन नै आजको आवश्यकता भएकाले यसको सही परिपालना गर्नु सबैको कर्तव्य हो । त्यसैले घरमै बस्नु श्रेयस्कर हुन्छ । 

यो बन्दाबन्दीको परिस्थितिमा पनि पठनपाठनमा ध्यान दिन सकिन्छ । आज इन्टरनेट सबैभन्दा सजिलो माध्यम हो । नभए घरमै पनि किताबहरू होलान् । पत्रपत्रिका होलान् । ती पुस्तक र पत्रिका पढेर ज्ञान लिन सके त्यसले विद्यार्थीलाई ठूलो मद्दत गर्छ । 

विजय महासेठ (केमेस्ट्रीका अध्यापक, ठाकुरराम क्याम्पस)

काठमाडौं आएका बेलामा यतै लकडाउनमा परेँ । केही काम गर्न नसकेर निरीह भएको अनुभव हुन्छ । तर पनि म केही दिनदेखि गुगलमा सर्च गरेर हेरिरहेको छु, मेरो विषय केमेस्ट्री (रसायनशास्त्र) का विषयमा । कोरोना भाइरसको रासायनिक तत्त्व के हो ? कसरी यसको समाधान गर्न सकिन्छ ? भन्ने विषयमा म पनि खोजिरहेको छु । तर हामीले त सोच्ने मात्रै न हो । किनभने यतिबेला केही गर्ने अवस्था छैन ।

यतिबेला विद्यार्थीहरूको सम्पर्कमा पनि छैन म । अहिलेको पहिलो काम भनेकै सबैजनाले आफू बाँच्नुप¥यो भन्ने सोच्ने हो । हरेक व्यक्तिसहित विद्यार्थी र शिक्षकहरू सबैको यही सोचाइ हुनुपर्छ ।

मैले धेरै अगाडि भारतको सीतामढीमा लेखेको देखेको थिएँ ‘सेभ द पेट्रोलियम’ । पछि ‘सेभ द वाटर’ भन्ने नारा पनि सुन्यौँं । केही समय पछि ‘सेभ द इन्भारामेन्ट’ भन्ने पनि सुनिएको नै हो । अब ‘सेभ द हुयुम्यान’ भन्ने नारा पो सुन्नुपर्ने हो कि ? डरलाग्दो विषय हो यो ।

यतिबेला सबैभन्दा पहिले आफूलाई नै बचाउने हो । त्यसैले आफूलाई बचाउनेतर्फ विद्यार्थीले मात्रै होइन, हरेकले सोच्नुपर्छ । अहिले लकडाउनका कारण घरमै बसिरहेका विद्यार्थीले कोर्सको किताब मात्रै नभएर अरू किताबहरूमा ध्यान दिए, धेरै नै राम्रो हुन्छ ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम (नेपाली विषयका प्राध्यापक) 

आजको परिस्थितिमा डाक्टर र नर्सले बाहेक अरूले गर्ने काम खासै केही पनि हुँदो रहेनछ । ती फ्रन्टलाइनमा रहेर काम गर्ने मानिस हुन् । तिनको जिम्मामै छ, धेरै कुरा । हामीले त घरै बसेर तिनलाई सहयोग गरिदिने मात्रै हो जस्तो लाग्छ मलाई ।

हाम्रो देशमा मात्रै नभएर विश्वमै आएको विपत्ति हो, कोरोना भाइरस । यो विपत्तिको हकमा मनले सबैको राम्रो होस् भन्नेबाहेक अरू के नै गर्न सकिन्छ र ।   व्यक्तिगत रूपमा हेर्ने हो भने प्राज्ञिक काममा समय खेर नफालीकन हामी काममा जुटेको अवस्था छ । मेरो हकमा मैले जिम्मा लिएका पीएचडीका विद्यार्थीहरूलाई तिनको पढाइमा, अध्ययन अनुसन्धानमा, टेलिफोनका माध्यमबाट सहयोग गर्दै आएको छु । झनै अहिले सजिलो नेट पनि भएको छ । 

त्यसबाहेक आफ्नो प्राज्ञिक काममा पनि समय खर्च भइरहेको छ । लकडाउनमा घरै बसे पनि मैले समयको सदुपयोग गरिरहेको छु । यतिबेला विद्यार्थी पनि लकडाउनमा छन् । शिक्षकको नाताले मैले भन्नै पर्छ समय मिलेको खण्डमा हरेक विद्यार्थीले विभिन्न पुस्तक पढ्नुपर्छ । किनभने यो समय परिस्थितिले सबैलाई आघात पु¥याएको छ । त्यो आघातबाट बौरिन, त्यसलाई कम गर्न किताबलाई साथी बनायौं भने त्यसले हामी सबैलाई सहयोग गर्छ । 

डा. राजेन्द्र विमल (नेपाली विषयका अवकाशप्राप्त अध्यापक, जनकपुर) 

लकडाउनको यो समयमा मलाई व्यक्तिगत रूपमा केही गर्न नसकेको फिलिङ भएको छैन । किनभने बाहिर घुम्ने, धेरै समय साथीहरूसँग बिताउने बानी मेरो कहिले पनि भएन । सायद म अन्तरमुखी स्वभावको भएकाले पनि होला ।

हामीले जान्न सक्नुपर्छ, विभिन्न माध्यमबाट हामीले धेरै काम गर्नसक्छौं । हामीले सन्देश दिन सक्छौं । पत्रपत्रिका छन्, रेडियो टेलिभिजन छ, सामाजिक सञ्जाल छ, तिनमा हामीले आम–नागरिकका लागि कोरोना भाइरसविरुद्धको हाम्रो कदम के हुने भन्ने सन्देश प्रवाह गर्न सक्छौं । 

व्यक्तिगत रूपमा मैले पनि धेरै रेडियोमा विचार संप्रेषित गरिसकेको छु । सामाजिक सञ्जालमा आफ्ना भनाइ राखिरहेको हुन्छु । अरू संकट भए बाहिर निस्केर केही गरिन्थ्यो होला । जस्तो ‘सडक कविता क्रान्ति’को सम्झना हुन्छ मलाई । तर आज त्यो अवस्था छैन । आजको महत्त्वपूर्ण काम भनेकै घरमा बस्नु हो । 

विद्यार्थीहरूको भविष्यका लागि शिक्षकहरूले आफ्ना तर्फबाट धेरै गर्न सक्छन् । शिक्षण पेसा मात्रै होइन, यो एउटा चरित्र हो । यो चरित्रको अपेक्षा के हुन्छ भने विद्यार्थीहरूका लागि आफूमा रहेको ज्ञानलाई बढीभन्दा बढी कसरी बाँड्ने । कसरी प्रवाह गर्ने ।

आज त इ–एजुकेसनको जमाना आइसकेको छ । हरेक शिक्षक र विद्यार्थीले त्यसको प्रयोग गर्नसक्नुपर्छ भन्ने मलाई लाग्छ । इन्टरनेटको माध्यमले हामीले यो समस्याको समाधान गर्न सक्छौं । ‘विल पावर’ हुनुपर्छ, सकारात्मक सोच्नुपर्छ, यो समयलाई अवसरका रूपमा लिएर अथाह ज्ञान हासिल गर्न सक्छन्, विद्यार्थीले ।

ज्ञानु अधिकारी  (अध्यापक, पद्मकन्या क्याम्पस)

यस्तो अवस्थामा मलाई केही गर्न सकिएन भन्ने महसुस भएको छ । हामी त विद्यार्थीको समूहमा रमाउने, सिकाउने मानिस भएकाले हामीलाई अहिलेको अवस्था अति नै कठिन अवस्था हो भन्ने लाग्छ ।

विद्यार्थीहरूका बीचमा रहँदा उनीहरू जस्तै भइन्छ । आफ्नो वैयक्तिक्ता हराउँछ । सधैँ विद्यार्थीका बीचमा रहँदा, तिनका आँखामा आँखा मिलाउँदा, संवाद गर्दा एउटा बेग्लै किसिमको ऊर्जा प्राप्त हुन्छ । तर आजको यो परिस्थितिले हामीलाई निरीह भएको अनुभूत गराउँदै छ । यतिबेला कतिपय विद्यार्थी सम्पर्कमा छन् । अनलाइनमा एउटा समूह बनाइएको छ । समूहमा रहेका विद्यार्थीहरूसँग प्रायः कुराकानी भइरहन्छ । तिनले जानकारी चाहेको विषयमा बताइन्छ र तिनलाई सिकाइन्छ पनि ।

तर एउटालाई सिकाइरहँदा अरूले पनि जाने हुन्थ्यो भन्ने लाग्छ । तर यतिबेला सबै सम्पर्कमा छैनन् । कोही घर गएका छन् । कोही गाउँमा छन् । कोही सूचना प्रविधिको पहुँचबाट टाढा पनि छन् ।  विद्यार्थी जुनै कक्षाका हुन्, यतिबेला तिनले समय मिलाएर केही पढ्ने र लेख्ने बानी गरे फाइदा तिनलाई हुन्छ । तिनले चिन्तन मनन गर्नुपर्छ । कोर्सको किताब मात्रै नभएर अरू किताब र पत्रपत्रिका पनि पढेर ज्ञान लिनुपर्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro