सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू, सादर नमस्कार
दुई वर्षअघि एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा तपाइँले भन्नुभएको थियो – ‘‘अबको दुईवर्ष मसँग अन्तर्वार्ता लिनु परेन । त्यसपछि विकास र समृद्विको बाटोमा सरकारका काम चित्त वुझेन भन्ने ठाउँ खोजेर आउनुस् । यो रेकर्ड अघि राखेर कुरा गर्नु होला ।’’
तपाइँको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार बन्यो । चुनावका बेला रेल कुदाउने, हरेक घरका भान्सामा ग्यासको पाइप पुर्याउने वाचा गर्नु भएकै हो । घोषणापत्रमा एक प्रेमीले प्रेमिकालाई आकाशको तारा खसाई दिन्छु झैँ जादुकै छडी चलाएर भए पनि विकास र समृद्धि दिने वाचा गरेकै हो । केही भएन भनेर निराश जनतालाई सुखी नेपाली, समृद्व नेपालको सपना बाँड्नु भयो ।
प्रधानमन्त्री ज्यू,
हुन त एकदुई वर्षमै कुनै देशले कायपलट गरेको इतिहास छैन । तपाईले मात्र गर्न सक्नुभएन भनियो भने त्यो न्यायोचित हुँदैन । के नेताले सपना देख्न पनि नपाउनु ? म दुई वर्षमा बनाउँछु भन्न नपाउनु ?
तपाईले वाचा भुलेको होइन । सुरुदेखि नै असहिष्णु भएर प्रतिपक्षले सरकारको आलोचना गरिरहेकै छ । सीधै भन्नु नि ! भन्दैनन् । नारावाजी देखेकै हैन । प्रतिपक्षी दलका नेता पनि दुई तिहाइलाई हेपेर भाग खोजिरहेकै छन् ।
प्रधानमन्त्री ज्यू,
राष्ट्रसेवक कर्मचारी पनि कम्तीका छन् र ? कामभन्दा सुविधामै ध्यान छ । प्रशासन यन्त्रमा पनि विपक्षीको जालो नभएको कहाँ छ र ? विशेष प्रहरी, राष्ट्रिय सतर्कता केन्द्र प्रधानमन्त्री कार्यालय मातहत ल्याउन खोज्नुभयो, ठूलो आयोजनाको काम ‘फास्ट ट्य्राक’बाट सजिलो हुन्छ भनेर आफू मातहत राख्न खोज्नुभयो । विरोधै हुन्छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई प्रतिपक्षले कम्ता उचालेको होइन । सरकारले अनुसन्धान गरिरहेकै छ । टुङगो लागेको दिन प्रतिवेदन दिने नै छ । गुठी विधेयक ल्याउन खोजेकै हो । त्यत्रो विरोध । फिर्तै गर्नु पर्यो । जे गरे पनि धारे हात !
प्रधानमन्त्री ज्यू
सतीले सरापेको देश भन्थे बूुढापाकाहरु ! जे गर्दा पनि सुख पाउनु भएन । जाबो एक दुई क्याम्पसलाई स्वीकृति दिँदा प्राज्ञिक हस्तक्षेप हुने रे ! जथाभावी लेख्ने, हजुरको आलोचना गर्ने, सामाजिक सञ्जाल र प्रेसमाथि अंकुश लगाउ खोज्नुभयो । मुटु नभएका सम्पादहरुलाई पाच्य भएन । खनिई हाले । पत्रकार उस्तै त हुन् नि प्रसंशा गर्नै नजान्ने । कहिले वाइडबडीमा खायो, कहिले यतीमा कुम्ल्यायो भन्छन् । यत्रो दुई तिहाइको प्रधानमन्त्री, तपाइँलाइ त्यस ठाउँमा पुर्याउन कतिले योगदान गरे । उनीहरुलाई अलिकति खुवाउँदा ढुकुटी नै रित्तिन्छ र ?
प्रधानमन्त्री ज्यू
तपाईँको पार्टी नेकपाका महासचिवकै छोराले बालुवाटारको जाबो आठ आना जग्गा के किनेका थिए त्यो पनि सह्य भएन । बिचाराको जग्गा फिर्ता गर्न लगाउनु भयो । उसैलाई मार परेको छ । अब फेरि भन्दै छन् विष्णुको छोरालाई अख्तियार नलाग्ने ?
हैन यी विरोधीले के खोजेका ? विचारा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले तपाइँ वालुवाटार सरेदेखि नै बालकोटको घर रेखदेख गरेर त्यत्रो गुन लगाएका थिए । सेक्युरिटी प्रेस किन्न खोज्दा जम्मा ७० करोड कमिसन मागेको टेपमात्रै बाहिरिएको त हो नि ? सिध्यायो, सिध्यायो भनेर बिचारालाई राजीनामा गर्न बाध्य बनाइयो ।
स्वास्थ्यले साथ दिएको छैन । आराम गर्नु पर्ने जीर्ण शरीर भए पनि उच्च इच्छा शक्तिले काम गर्दै हुनुहुन्छ । एकपटक ‘फलोअप’मा सिंगापुर जानुभयो । आफ्नो उपचारका लागि राज्यको पैसा लाउन्न भन्नुभयो । लिनु भएन पनि ! एनसेल प्रकरण, एनसेल प्रकरण भनिहाले ।
प्रधानमन्त्री ज्यू
कोरोनाको महामारी आइसकेपछि पनि नेपाल छिर्दैन देशलाई किन भार पार्ने भनेर टेन्डर गरिएको समान पनि मगाउनु भएन । जोखिम बढ्दै गएपछि ‘लक डाउन’ गराउनु भयो । आफ्नै निर्देशनमा तीनै घन्टाभित्र ओम्नीसँग संझौतासमेत गर्नु लगाउनुभयो । सरकारी जहाज नै पठाई चीनबाट समान ल्याउन लगाउनुभयो । फेरि हल्ला सुरु भइहाल्यो । विश्व स्वास्थ्य संगठनको मापदण्ड भएन । सामान पूरा आएन ।
संसारमा त्यत्रो मानवीय क्षति भयो । अरुले लाखौं लाखको परीक्षण गरिसके । हामीले धेरैको गर्ने परेकै होइन । जीर्ण शरीर लिएर पनि देश र जनताको काम गरेको गर्यै हुनुहुन्छ । देशभित्र कोरोनाको संक्रमण फैलिन नदिन सिमामा आफ्ना सयौं नागरिकलाई रोक्नु भएकै छ । नागरिकमाथि अनागरिक व्यवहार भयो भन्ने आरोप खेप्नु परेकै छ ।
प्रधानमन्त्री ज्यू,
सरकारको यो उपलब्धि विरोधीले किन नदेखेका ? पहिला स्वास्थ्य सामग्री ल्याएन भनियो । ल्याएपछि महंगो भयो, मापदण्ड पुगेन रे ! मान्छेको ज्यान र जनस्वास्थ्यको सवाल छ । यो बेला पनि हिसाबकिताब खोज्ने हो ? उपप्रधानमन्त्री ईश्वर पोखरेलले ठीकै त भन्नु भएको छ – ‘सरकार दिनरात नभनेर काम गरिरहेकै छ । सरकारलाई बदनाम गर्न दाउपेच गर्नेहरु पराजित हुन्छन् ।’ त्यसैले तपाइँ अघि बढ्नुस् । कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्नुपर्छ ।
नेपाली उखानै छ – मह काड्नेले हात चाट्छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले के नै बिराए होलान् र अख्तियारमा मुद्दै हाल्नुपर्ने । त्यो पनि कोरोनाका कारण अख्तियार कार्यालय लकडाउनमा रहेका बेला, अनलाइनबाटै ।
प्रधानमन्त्री ज्यू
अस्ति त्यो काठमाडौं प्रेस भन्ने अनलाइनले रातदिन खटिएका तपाईका दुई मन्त्री र सल्लाहकारका बारे अन्टसन्ट लेखिहाल्यो । कति ज्याद्रो हो त्यो प्रधान सम्पादक पनि ? तपाइँका सल्लाहकार स्वयंले नै हटाऊ हटाऊ भनेर निर्देशन दिँदा पनि नटेर्ने । आईटी सल्लाहकारले आईटीको काम गरे त के नै बिराएका थिए र ? जाबो एउटा समाचार न मेटेका गरेका हुन् । त्यतिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भैहाल्यो । यतिका मिडिया छन्, एउटा अनलाइनबाट जाबो एउटा समाचार डिलिट गर्दा कमजोर भैहाल्ने कस्तो हो त्यो प्रेस स्वतन्त्रता ?
स्वास्थ्य विभागबाट सामग्री किनेको भ्रष्टाचार भयो रे । सेनामार्फत खरिद लाग्यो, सरकार नै असफल हुने रे । विपक्षीले त खेदेकै थिए तपाईकै पार्टीका नेतासमेत भन्दैछन् – ‘बूढी मरिभन्दा पनि काल पल्किएको’ डर रे !
प्राध्यापक कृष्ण खनालले त ट्वीट नै गरी सके ‘के सरकारको नालायकी र भ्रष्टाचारको विकल्प सेना हो ? यसरी आंशिक र किस्ताबन्दीमा बुझाउँदै जानुभन्दा सिंगो क्याबिनेट नै बुझाई दिए भैहाल्यो नी ।’
यत्रो बाधा विध्न हुँदाहुँदै सरकारले दुई वर्षमा केही गरेन भनेर प्रधानमन्त्री ज्यू आफैँले बिर्सिसकेको एपीवानको पुरानो अन्तर्वार्ता सोसल मिडियाका भित्ताभर पोस्ट्याई हाल्नुपर्ने कारण चाहिँ के होला ?
सुरुमा त सरकारमाथि नियोजित आक्रमण भयो अरिंगाल भएर जाई लाग्नुस् भन्ने तपाइँको आदेशले काम गरेकै हो । किन हो कुन्नि हिजो आज तपाईले निःस्वार्थ काम गर्न खोज्दासमेत आफ्नै पार्टीका कतिपय नेता कार्यकर्तासमेत सामाजिक सञ्जालमा आलोचनाका शब्द खर्चिरहेछन् ? कतै सतीले सरापेको देश भनेको यही त होइन ?