काठमाडौं । निर्वाचन विरोधी गतिविधि गर्ने १ सय १९ जना माओवादी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको छ ।
उनीहरु सबै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता हुन् । वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई प्रभावित हुने खालका कार्यहरु गरेको भन्दै गृह मन्त्रालयले सुरक्षा निकायलाई विप्लवसहित उनका कार्यकर्तालाई निगरानीमा राख्न निर्देशन दिएपछि प्रहरीले कडाईका साथ उनीहरुको खोजी जारी राखेको हो ।
चन्द नेतृत्वको माओवादीले पहाडी भेगमा निर्वाचन विथोल्न सक्ने भन्दै विप्लवसहित उनका कार्यकर्तालाई निगरानीमा राखिएको प्रहरी स्रोतले जानकारी दियो ।
उनका कार्यकर्ताले सांस्कृतिक कार्यक्रम र घरदैलो अभियान राख्दै निर्वाचन विरोधी गतिविधि गरेको प्रहरीले जनाएको छ । गाँउमा चुनाव प्रचारमा रहेका विभिन्न दललाई अवरोध पुर्याउने, चन्दा माग्ने, चुनाव विरोधी सभाहरु गर्न थालेपछि चन्द नेतृत्वका नेता कार्यकर्तामाथि निगरानी बढाएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।
रोल्पाको थवाङ, घर्तिगाँउ, माडीचोर, कालीकोटको रास्कोट लगायतका स्थान, जुम्ला, दैलेख लगायतका पहाडी जिल्लाहरुमा निर्वाचन विरोधी गतिविधी गर्दै घरदैलो कार्यक्रम गर्न थालेपछि उनीहरुमाथी निगरानी बढाइएको प्रवक्ता पन्थीले बताए ।
गतसाता प्रहरी र माओवादी कार्यकर्ताबीच कालीकोटमा झडप नै भएको थियो ।
गृहप्रवक्ता पन्थी भन्छन्, “निर्वाचन प्रचार गरेर घर फर्केका उमेदवारका सवारी साधन उनीहरुका निशानामा परेका छन् । त्यो काम उनीहरुकै हो भन्नेमा सरकार विश्वस्त छ । राजनीतिक उद्देश्य भन्दा पनि आपराधिक शैलीमा यस्ता काम भएका छन् ।”
नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द खनालले पनि निर्वाचन विरोधी गतिविधी गर्ने चन्द माओवादीका नेता तथा कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको बताए ।