site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लकडाउन’ मा साहित्यकार ! कोही लेखपढमा, कोही सामाजिक सञ्जालमा

काठमाडौं । यतिबेला साहित्यकर्मीहरू पनि घरमै सेल्फ क्वारेन्टाइन (एकान्तबास) बिताइरहेका छन् । आज तिनको दिनचर्या पढ्नु र लेख्नुमा सीमित भएको छ । साहित्यकार र कविहरूको जमघट विमोचन, कवि गोष्ठी, विभिन्न कार्यक्रमहरूमा हुँदै आए पनि अहिले सबैले आफूलाई आफ्नो घरमै संकुचन गरेका छन् । सुरक्षित गरेका छन् । यतिबेला घरमै बस्दा कोरोना भाइरस (कोभिड–१९) लाई जित्न सकिने सबै एकमत छन् । 
तथापि, तिनको रचनात्मक कार्यमा कुनै कमि आएको छैन । घरमा बसे पनि लेखाइ-पढाइमा तिनको समय बित्ने गरेको केही साहित्यकर्मी बताउँछन् ।

कवि छविरमण सिलवालसँग फोन सम्पर्क गर्दा उनी ठमेलमा थिए । पर्यटकीय स्थल ठमेलमा छविरमणको गार्मेन्टको व्यवसाय रहेकाले पनि उनी थोरै समय निकालेर सोमबार अपराह्न ठमेल पुगेका थिए । तर सुनसान ठमेलमा केही क्षण बिताएर आफू घरै फर्किने उनी बताउँदै थिए । 

ठमेलको सन्नाटामा रुमल्लिएका छवि भन्छन्, “अब घरै फर्किने हो । र घरै बस्ने हो । घरमै बस्दा कोरोनाबाट बच्न सकिन्छ । म मात्र होइन, हरेक नेपालीले यसतर्फ ध्यान पु¥याउने बेला भएको छ ।”

कोरोना भाइरसको संक्रमणले विश्वका धेरै मुलुक आक्रान्त बनेको छ । युरोप र अमेरिकाजस्ता विकसित मुलुकलाई समेत धौधौ बनाएको कोरोना भाइरसले नेपालीलाई नछोओस् भनेरै सरकारले आउँदो एकसातासम्म देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । लकडाउनमा कोही पनि बाहिर निस्कन नपाउने भनिएको छ ।

केही दिनदेखि आफू घरमै बसेको बताउँछन् साहित्यकार तथा स्रष्टा समाजका संरक्षक पवन आलोक । आजको अप्ठेरो परिस्थितिमा कोरोना भाइरससँग जुझ्ने दरिलो आधार भनेकै स्टे–होम अथवा सेल्फ क्वारेन्टाइन भएकोले सबैले घरमै बसेर राज्यलाई सहयोग गर्नुपर्ने उनी बताउँछन् । 

यो समय लेख्ने पढ्नेहरूका लागि उपयुक्त समय भएकोले यतातिर पनि उनको समय बित्दो छ । उनी लेखपढमा समय खर्चिरहेका छन् । यतिबेला मुलुक लकडाउनको स्थितिमा रहेकाले हरेकले लापरबाही नगरेर घरै बस्न पनि उनी सुझाउँछन् । 

पवन आलोक भन्छन्, “हामी नेपालीको एउटा प्रवृत्ति छ, कुनै पनि कुरालाई गम्भीरतापूर्वक नलिने ! हल्लाको पछाडि लाग्ने र लापरबाही गर्ने । यतिबेला हामीले लापरबाही नगरेर गम्भीर हुने बेला आएको छ । यसले नै हामीलाई कोरोना भाइरसबाट बचाउँछ ।”

कवि तथा साहित्यकार वियोगी बुढाथोकी बिहानको केही समय मर्निङवाकमा खर्चिने बताउँछन् । त्यसपछि दिनभर घरमै बसेर आफ्नो सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक पत्रिका ‘शिवपुरी सन्देश’को काममा लाग्ने गरेको बताउँछन् ।

कवि बुढाथोकी भन्छन्, “नेपाली नागरिकको आत्मबल दह्रो छ । कोरोना भाइरसलाई परास्त गर्न तिनले सक्छन् । तर त्यसका लागि हामी सबै सतर्क हुनु जरुरी छ । हामीले हेलचेक्राइँ ग¥यौं भने त्यसको परिणाम हामी सबैले भोग्नुपर्ने हुनसक्छ । तसर्थ, घरै बसौं ।”

यतिबेला भीडमा जानुलाई खतरापूर्ण मानिएको छ । सबैभन्दा उत्तम घरको बास नै हो । यसलाई सबैले स्वीकारेका पनि छन् । यद्यपि, घरै बसे पनि लेखक कविले आफ्ना रचनाका माध्यमबाट कोरोना विरुद्ध सचेतना फैलाउँदै आएका छन् । कवि बुढाथोकीले आफूले यस्तै कविता सामाजिक सञ्जालमा पोस्ट गर्दैआएको बताए ।
सामाजिक सञ्जाललमा बुढाथोकीको कविताले भन्छ,
 

मुलुक सुनसान हुनुको कारण, सहर गाउँ गएको छ 
विदेशिएकाहरू उतै सुरक्षित हनु पर्ने भएको छ
आउनुस् जो जहाँ छौं, मिलेर सावधानी अपनाऔँ 
यता कोरोनाको चिन्ताबाट, सिंगो देश नै रोएको छ ।

कवि विधान आचार्य पनि घरै बसेर कविताका माध्यमबाट कोरोनाविरुद्धको सचेतना फैलाउनुपर्ने विचार व्यक्त गर्छन् । कवि आचार्य पनि यतिबेला घरमै बसी रचनात्मक काममा लागेको बताउँछन् । 

यतिबेला राज्यले निर्देशित गरेका विषयहरूमा प्रत्येक नेपालीले गम्भीर हुनुपर्ने उनको भनाइ छ । ‘तर यतिबेलाको अवस्था देख्दा हामीले यसलाई खासै महत्त्व दिइरहेका पो छैनौं कि ?’ भन्ने उनको आशंका छ । 

कवि विधान भन्छन्, “हालैका दिनमा कवि गोष्ठी, किताब विमोचन भएको पनि देखियो । जुन नहुनुपर्ने थियो । मन्त्री परिषद्को बैठक पनि भिडियो कन्फ्रेन्स कल सिस्टमबाट गरेको भए राम्रो हुन्थ्यो । र त्यसले सर्वत्र सकारात्मक सन्देश दिनेथियो । तर मिटिङमा मन्त्रीहरू सबै एकै ठाउँमा बसेको देखेपछि त्यसले सकारात्मक सन्देश देला र ?”

कवि विधान, यतिबेला सबै नेपालीले घरमै बसेर राज्यले गरेका निर्णयहरूलाई सहयोग गर्दा कोरोना भाइरसको संक्रमणलाई निस्तेज पार्न सकिने बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro