काठमाडौं । उमेर यस्तै १३ वर्षको हाराहारी हुँदो हो उनले बनारसस्थित वसन्त कन्या विद्यालयबाट म्याट्रिक पास गर्दा ।
पिताजी उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसैले बनारस हिन्दू युनिभरसिटी (बीएचयू) मै रहेको महिला कलेजमा साइन्स पढ्ने गरी भर्ना गरिदिए ।
विज्ञानको पढाइ, सहज त थिएन । तर, पिताजीको चाह पूरा गर्न उनी पढाइमा जोडतोडका साथ लागिन् । साइन्सको पढाइमा प्राक्टिकल कक्षा बढी गर्नु पथ्र्यो । प्राध्यापकले पहिले प्राक्टिकल गरेर देखाउँथे । पछि विद्यार्थीले पनि त्यस्तै गर्नु पथ्र्यो । उनले पनि पढाइका क्रममा दर्जनभन्दा बढी भ्यागुता चिरेको आज पनि सम्झिन्छिन् ।
उनका पिताजीले बनारसमा काम गरेकै १२ वर्ष बितिसकेको थियो । साँझ घर फर्किँदा उनको पिताजी केही न केही किनेर ल्याउँथे । ‘‘पिताजी घर फिर्दा खाली हाल आएको कहिल्यै थाहा पाइन ।’’
पूर्व बैंकर तथा चर्चित कथाकार हिरण्यकुमारी पाठकका पिताजी तोत्रराज पाण्डेलाई भेट्न उनको डेरामा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, भूपि शेरचनलगायतका व्यक्तिहरू आइरहन्थे । बनारसमा धेरै जसो नेपाली विद्यार्थीका अभिभावक भएका कारण पनि उनका पिताजीलाई भेट्न विद्यार्थीसहित विभिन्न व्यक्तिहरू आइरहन्थे ।
हिरण्यकुमारी पाठक यतिबेला पनि सम्झिन्छिन् त्यो प्रसँग, “भूपि शेरचन आउँदा आलो नरिवल लिएर आउनु हुन्थ्यो । मलाई खान दिनुहुन्थ्यो । उहाँले खुबै माया गर्नुहुन्थ्यो ।”
वर्षको एक पटक गर्मी महिनाको बिदामा उनको परिवार एक दुई महिनाका लागि काठमाडौं उक्लिन्थ्यो । बिदा सकिएपछि फेरि बनारस ।
०००
त्यस वर्ष पनि गर्मीको बिदा सुरु भइसकेको थियो । कपि चेक गर्नुपर्ने हतारोले काठमाडौंको यात्रा तय हुन सकिरहेको थिएन । बाँकी दैनिकी उस्तै थियो ।
‘‘एक दिनको घटना हो,’’ उनी सम्झन्छिन्, ‘‘बिहान सखारै गंगाजीमा नुहाएर ध्यान र पाठ सिध्याएर पिताजी फर्किनु भएको थियो । चियासिया खाएपछि उहाँले असजिलो अनुभव गर्नुभयो । एकदुई चोटी बान्ता पनि भयो । त्यसपछि ओछ्यानमा ढल्किनुभयो । उठ्न गाह्रो भइरहेको थियो ।’’
हिरण्यकुमारी नजिकै परिचित दादाजी कहाँ गइन् र वृतान्त सुनाइन् । उनका पिताजीले बारसमा साथी प्रशस्त कमाएका थिए । त्यस टोलका साथीहरू डाक्टर लिँदै उनको घरमा पुगे । हतार हतार विश्वविद्यालयकै शिक्षण अस्पतालमा उनलाई लगियो ।
हिरण्यकुमारी सम्झन्छिन्, “बिहान अस्पताल पुर्याएर सबै साथी उहाँको उपचारमा लागे । तर कसैको केही लागेन । साँझ बुवाले देह त्याग्नुभयो । उहाँको मृत्युको कारण ‘कोलेरा’ बताइएको थियो ।”
पिताजीको अन्तिम संस्कार हरिश्चन्द्र घाटमै गरियो । तेह्र दिनको संस्कार सिध्याएपछि बनारस पुगेका आफन्तको साथ लागेर पाठकको परिवार काठमाडौं फर्कियो ।
पाठक भन्छिन्, “त्यो यात्रा नितान्त शून्यताले भरिएको थियो । परिवारको मूली गंगाजीमा अर्पण गरेर रित्तै रित्तै हामी फर्किएका थियौं ।”
२०१४–१५ सालको समय हो, हिरण्यकुमारी पाठक, उनकी आमा र दाजुहरू काठमाडौं आइपुगे । बनारसमा आईएससी पढ्दापढ्दै छोडेर काठमाडौं आएकी हिरण्यकुमारीको साइन्सको पढाइ रोकियो । उनलाई आर्टस् पढ्न भनियो । उनले पनि ‘म साइन्स पढ्छुँ’ भन्न सकिनन् । उनको पढाइ पद्मकन्या क्याम्पसमा सुरु भयो, आर्टस् फ्याकेल्टीमा । त्यहाँ उनले ‘डोमेस्टिक साइन्स’ लिएर आफ्नो पढाइ सुरु गरिन् ।
आइए पास भएर बीए पढ्दापढ्दै उनको बिहे भयो । धोविधारा डिल्लीबजारको घरमा उनको नवीन यात्रा सुरु भयो । जीवनले बेग्लै मोड लियो । घरजम भएकाले त्यही अनुरुप जीवनले लय समात्यो ।
पिताजीबाट मसिना कुराहरू सिकेकी, बुझेकी, जानेकी हिरण्यकुमारीले घर–परिवार सम्हालिन् । पढाइ रोकिनन् । उनले बीए पास गरिन् ।
केही समय जगदम्बा स्कुलमा पढाइन् । त्यसैबेला त्रिविले एमएको पढाइ खोलेकाले ‘म एमए पढ्छु’ भन्दै पढाउने कर्मबाट छुटकारा लिइन् ।
त्यो बेला एमए पढ्न त्रिपुरेश्वर जानुपथ्र्यो । उनी हाँस्दै भन्छिन्, “हाम्रो परिवार ठूलो थियो । सासूले पढ्न सधैँ उत्साह दिनुभयो । म खाना पकाएर, परिवारका सदस्यलाई खान दिएर, एमएको क्लास लिन त्रिपुरेश्वर पुग्थें । डिल्लीबजारदेखि त्रिपुरेश्वर हिँडेरै जानु पथ्र्यो । अहिलेको जस्तो गाडीको सुविधा कहाँ हुनु !”
जीवनका कैयन विषय–प्रसंगहरूले उनलाई जागिर खान प्रेरित गर्यो । आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने पिताजीबाट पाएको ज्ञान बलियो बनेको थियो । त्यसैले जतिसुकै अप्ठेरोमा पनि उनले कहिल्यै कसैको अगाडि हात फैलाइनन् । उनलाई लाग्यो, सबैभन्दा सजिलो बाटो भनेको जागिर नै हो । त्यसबेलासम्म उनकी छोरीको जन्म भइसकेको थियो ।
त्यसैबेला स्थापनाको तरखरमा रहेको राष्ट्रिय वाणिज्य बैंकले अधिकृत कर्मचारी माग ग¥यो । हिरण्यकुमारीले आवेदन दिइन् । छनोटमा परिन् । २०२२ सालदेखि उनको बैकिङ सेवा प्रारम्भ भयो । जहाँ उनले जीवनका ऊर्जाशील २८ वर्ष बिताइन् ।
०००
उनी यस्तै तीन चार वर्षकी थिइन्, काठमाडौंबाट बनारस जाँदा । बनारस हिन्दु विश्वविद्यालयमा नेपाली विभाग स्थापनापछि नेपाली भाषा पठनपाठनका लागि उनका पिताजीलाई पठाइएको थियो ।
यो गम्भीर जिम्मेवारी पाएका पाण्डे पहिले आफू बनारस पुगे । अनि प्रारम्भिक व्यवस्था मिलाएर काठमाडौं फर्किए र पूरा परिवारकासाथ बनारस गए ।
उनी भन्छिन्, “आज पनि मलाई सम्झना हुन्छ, थानकोट भएर भीमफेदी झर्दाको त्यो यात्रा ! हुन त मेरो उमेर यस्तै तीन चार वर्षको थियो होला । तर पनि त्यसको धमिलो सम्झना मेरो मानसपटमा तैरिन्छ । अचेल कहिले काहीँ फर्पिङको बाटो हेटौँडा जाँदा त्यो सम्झना पुनः जागृत भएर आउँछ ।”
उनका अनुसार काठमाडौंबाट हिँडेर चित्लाङ, कुलेखानी, चिसापानी, भीमफेदी हुँदै अमलेखगन्ज पुगेको बाल्यकालको त्यो सम्झना अहिले बाक्लो बादलझैँ झुम्मिएर आउँछ । विशेष गरी काठमाडौंबाट फर्पिङको बाटो हुँदै हेटौंडासम्मको यात्रामा उनको त्यो सम्झना बल्झिन्छ ।
मंगलबार बिहान बानेश्वरस्थित निवासमा कुरा गर्दा हिरण्यकुमारी पाठक भन्दैथिइन्, “तीन चार वर्ष हुँदाको कुरा पनि बिर्सिँदो रहेनछ ! त्यसबेला बुवा हिँड्नु हुन्थ्यो । दुई दाजुहरू डोकोमा बसेका थिए । आमा र म उलिनकाठमा बसेका थियौं । र कुलेखानी वा त्यस्तै कुनै ठाउँमा बास बस्दा बिहानै गुन्द्रुक र भात पकाएर खाएर हिँडेको छायाजस्तै अनुभूत गरिरहेको हुन्छु म, अहिले पनि !”
त्यसबेला दुई तीन पटक आफूहरू भीमफेदीको बाटो भएर हिँडेको उनी सम्झिन्छिन् । भीमफेदीबाट सबेरै खाना खाएर अमलेखगन्जसम्म पुगेर रेल समातेको उनको सम्झनामा ताजा छ ।
अमलेखगन्जबाट वीरगन्जसम्म जाने छोटीलाइनको छुकछुके रेलको बोगी (डिब्बा) को रंग रातो थियो । मानिस थोरै हुन्थे । सामान राख्ने बोगी पनि त्यसमा नै जोडिएको हुन्थ्यो । धेरै स्पिड नभएको त्यो ट्रेनमा आफूलाई रमाइलो लाग्ने उनी बताउँछिन् ।
रेल चढेर वीरगन्ज पुगेपछि त्यहाँबाट रक्सोल गएर रक्सोलबाट अर्को ठूलो ट्रेन चढेर बनारस गएको सम्झना पनि उनको मानसपटलमा ताजै छ । रेलमा चढ्दा सानो सानो माटोको भाँडोमा चिया खाएको पनि उनी सम्झन्छिन् ।
बनारसमा प्रारम्भिक बसाइ असीघाटमा थियो । पिताजीका साथीहरूले त्यही क्षेत्रमा डेरा खोजिदिएका थिए । बनारसमै अध्ययन गरेका उनका पिताजीका धेरै साथी त्यहीं थिए ।
पिताजी आफ्नो काममा लागे । केटाकेटी टोल छिमेकमा साथी बनाउन थाले ।
त्यसबेला पठनपाठनका लागि बनारस एउटा विशाल हब नै थियो । बनारस जानु भनेकै पढ्नलाई भन्ने मान्यता थियो । त्यसैले हिरण्यकुमारीका साथै उनका दाजुहरूको पनि पढाइ सुरु भयो ।
असीघाटमा बस्दाताकाको हिन्दूमस्लिम दंगा उनका लागि एउटा पाठ थियो । टाढा कतै अल्लाहको नारा सुनिन्थ्यो भने कतै हरहर महादेव गुन्जिन्थ्यो ।
त्यस क्षेत्रमा बस्नेहरूलाई घरबाट बाहिर निस्कन मनाही गरिएको थियो । हिरण्यकुमारी भन्छिन्, “हामी त लामो समय घरमै बस्यौं । काठको झ्याल पूरा बन्द गरेर कैयौं दिन बस्नु परेको थियो ।” केही समयपछि दंगाको समाधान हुँदै गयो । बनारस आफ्नो लयमा फर्कियो ।
उनका पिताजीको कामको व्यस्तता सुरु भयो । उप्रान्त, सोनारपुरा केदारघाटमा राम्रो फ्ल्याट लिएर उनको परिवार स¥यो । केदारघाटको त्यो डेरा सानो गल्लीमा थियो । गाडी जान्थेन, तर रिक्सा छिथ्र्याे । केदारजीको मन्दिर रहेको त्यस इलाकाको केही पर गंगा नदी बग्थ्यो । त्यसै रमणीय र धार्मिक क्षेत्र वरपर हिरण्यकुमारीले आफ्नो बाल्यकाल बितेको चर्चा गरिन् ।
त्यहाँ विद्वान् व्यक्तिहरूको बसोबास थियो । सबै बीएचयूका प्रोफेसरहरूको बस्थे । बेग्लाबेग्लै समुदायका व्यक्तिहरू बसे पनि एकै परिवारका झैँ गरी बसेको उनी बताउँछिन् ।
त्यस पछिका दिनमा वसन्त कन्या विद्यालयमा हिरण्यकुमारीको पढाइ सुरु भयो । उनी बसमा स्कुल जान्थिन् । बसमै आउँथिन् । फुर्सदमा टोलका साथीहरूसँग खेल्दै रमाइलोसँग बाल्यकाल बितेको उनी बताउँछिन् ।
त्यही टोलमा केही बंगाली परिवार पनि भएकाले उनले साथीहरूसँग बंगाली पनि बोल्न थालिन् । उनी आज पनि हिन्दी र बंगाली भाषा राम्ररी बोल्न सक्छिन् ।
वसन्त कन्या विद्यालयमा उनी आफ्नो कक्षामा एकमात्र नेपाली थिइन् । सुरुमा हिन्दी भाषाको ज्ञान नभएकाले उनलाई गाह्रो भएको थियो । तर, स्कुलका शिक्षक शिक्षिकाहरूले राम्ररी सिकाएकाले उनको हिन्दी बलियो हुँदै गयो ।
उनी भन्छिन्, “मलाई सबैले माया गरेर हिन्दी सिकाउँथे । शिक्षकहरूले पनि ‘ए नेपाली है । यिसको हिन्दी सिखनेके लिए मद्दत करो...’ भन्दै सबैलाई आग्रह गर्थे । र सबैले मलाई हिन्दी सिक्न र बुझ्न ठूलो मद्दत गरे ।”
त्यही स्कुलमा नै उनको भेट कमलमणि दीक्षितकी पत्नी अन्जु दीक्षितसँग पनि भएको थियो । दीक्षितसँग उनको भेटघाट धेरै अघि काठमाडौंमा पनि भएको थियो । पछि बनारसको कन्या विद्यालयमा पनि भयो । उनी आफू चार पाँच कक्षामा पढ्दा दीक्षित उनीभन्दा दुई तीन कक्षा माथि पढ्दै थिइन् । त्यसबेलामा आफूलाई नेपाली देख्दा पनि खुसी लागेको उनी बताउँछिन् ।
बनारसको त्यही वसन्त कन्या विद्यालयबाट उनले म्याट्रिक पास गरिन् ।
०००
सोनारपुरा नजिकै लङ्का नामको टोल थियो । जहाँ उनको पिताजीका एक जना मिल्ने साथी थिए, लालविजय शरण सिंह । उनको रवाफ र ठाँट काठमाडौंका राणाजीहरूजस्तै थियो । तिनको ठूलो कम्पाउन्ड भएको घर थियो । उनको पिताजीसँग राम्रो सम्बन्ध भएकाले दुवै परिवारमा आउजाउ थियो । सबैले लालविजय सिंहलाई ‘दादा’ भन्थे ।
दादाजीले पाण्डे परिवारलाई कहिले काँही खाना खान बोलाउँथे । त्यस्तो अवसरमा तिनले उनीहरूका लागि पर्दा लगेको घोडाले तान्ने बग्गी नै पठाउँथे ।
दादाजी कहाँ जाँदा हिरण्यकुमारीकी आमाले पनि कहिले काहीँ सेल त कहिले आलुको अचार बनाएर लग्थिन् । उनीहरू पनि नेपाली खान्की मिठो मानेर खान्थे ।
हिरण्यकुमारी भन्छिन्, “त्यसैबेला झण्डै एक सय वर्ष पुग्न लागेकी ‘दादी मा’ (हजुरआमा) ले चस्मा लगाएर दाल चामल केलाइरहेको मैले देखेकी छु । त्यस घरमा छोरा बुहारी सबै अनुशासित थिए । मिलनसार पनि उत्तिक्कै थिए । त्यस घरका सदस्यहरूबाट मैले पनि धेरै कुरा सिक्न पाएँ ।”
०००
हिरण्यकुमारी पाठकका पिताजीले उनलाई जहिले पनि मिहिनेत गरेर काम गर्नु भनेर सिकाए । ‘इमानदारिताकासाथ काम गर्नु, जुनै काम गर्दा पनि हुन्छ’ भन्थे । ‘कसैका अगाडि हात नफैलाउनु’ भन्ने दिव्य सन्देश आफूले पिताजीबाटै प्राप्त गरेको उनी बताउँछिन् ।
पिताजीबाट प्राप्त यो ज्ञानलाई उनले सधैं मनमा गाँठो पारेर राखिन् । उनका अनुसार कम्प्युटरको हार्डडिस्कमा रेकर्ड भएजस्तै पिताजीको भनाइ अहिले पनि मनमा बसेको छ । पिताजीको यो भनाइले हमेशा उनलाई मार्गनिर्देश गरिरह्यो ।
बीए पढ्दापढ्दै उनको बिहे भयो । बसोबास धोबिधारामा सर्यो । घरमा संयुक्त परिवार थियो । संयुक्त परिवार ठूलो हुनु स्वाभाविक थियो । उनकी सासु बुहारीहरूलाई खुबै माया गर्थिन् । सासुले काम गर्न अनुमति दिएकी थिइन् ।
त्यसबेला कहिले काहीँ पैसाको अभाव हुँदा आफूले खुत्रुक्केमा जम्मा गरेर राखेको पैसा निकालेर खर्च गरेको सम्झना गर्छिन्, उनी ।
आफ्नै बलबुतामा राष्ट्रिय वाणिज्य बैंकमा अधिकृतको जागिरे भएपछि नयाँ प्रकृत्तिको काममा हात हालिन् । डोमेस्टिक साइन्स लिएर पढे पनि बैंकिङ सिक्दै गइन् ।
२०२२ सालमा बैंकमा जागिर खाँदा करिब ४५ जनाको अधिकृत समूहमा पाँच जना मात्रै महिला थिए । ती सबै अधिकृतलाई प्रारम्भमा १५ दिने तालिम दिइएको थियो । व्यावहारिक तालिम लिन नेपाल बैंक लिमिटेडमासमेत गएको उनी सम्झिन्छिन् ।
२०२२ साल माघ १० गतेदेखि वाणिज्य बैंकले बैंकिङ कारोबार सुरु गर्यो । त्यस पछि बैंकिङ क्षेत्रको नयाँ किसिमको काम सुरु भयो । उनको प्रारम्भिक समय केन्द्रीय कार्यालयका विभिन्न विभागहरूमा नै बित्यो ।
यद्यपि, उनलाई जहिले पनि पिताजीको भनाइले गाइड गर्यो । र त्यही भनाइले हिम्मत पनि मिल्दै गयो ।
त्यसैबेला बैंकका नायब महाप्रबन्धक थिए, पुण्यकेशरी उपाध्याय । उनले त्यसबेलाका महिला अधिकृतहरूलाई बोलाएर ‘प्रोमोसन हुने हो भने काठमाडौं बाहिर पनि जानुपर्छ’ भने । अरु महिला कर्मचारीले ‘प्रोमोसन पनि चाहिँन्न । जाँदा पनि जान्नौं’ भनेछन् । तर पाठकले ‘मलाई प्रोमोसन त चाहिन्छ भनिन् । उपाध्यायले उनलाई बाहिर जान भने । उनले पनि नाई भनिनन् ।
अनि पुण्यकेशरीले ‘विराटनगर जानुहुन्छ ?’ भनेर सोधेछन् । उनका पिताजीको मावल विराटनगर भएकाले पनि उनले ‘हुन्छ’ भनिन् ।
हिरण्यकुमारी पाठक २०२३–२४ सालतिर सहायक प्रबन्धकमा सरुवा भएर विराटनगर शाखा गइन् । उनीसँगै उनकी आमा र बच्चाहरू पनि थिए । र, शाखामा बैंकिङको कामसँग आफूलाई जानकार गराउँदै काम सिक्दै गइन् ।
एक वर्ष विराटनगर बस्दा ‘बुवाकै मावलमा बसेको’ उनी बताउँछिन् ।
उनी काठमाडौं फर्किन् । फेरि केन्द्रीय कार्यालयका विभागहरूमा काम गर्दै गइन् । तर यो सँगसँगै कहिले काहीँ सानो–सानो अवधिका लागि शाखामा प्रबन्धक नहुँदा उनी कार्यबाहक प्रबन्धक भएर धेरै चोटी देशका विभिन्न शाखाहरूमा पनि गइन् ।
पाठक भन्छिन्, “मलाई यसले काम गर्नमा हिम्मत र जाँगर दुवै प्रदान गर्यो । यसरी मैले शाखाहरूमा प्रबन्धक हुँदै केन्द्रको विजनेस विभाग, योजना विभागमा पनि काम गर्दै गएँ ।”
०००
२०३३ साल तिरको कुरा हो । धीरविक्रम नाम गरेका व्यक्ति वाणिज्य बैंकमा महाप्रबन्धक भएर आए । केही समयपछि उनले हिरण्यकुमारी पाठकलाई ‘प्रबन्धक भएर जान्छौ ?’ भनेर सोधेछन् । पाठकले पनि ‘जान्छु’ भनिछन् । त्यसको केही समय पछि नै रामशाहपथमा रहेको सिंहदरबार शाखामा उनको सरुवा भयो ।
प्रबन्धकका रूपमा शाखा सम्हाल्नु त्यसबेलामा सजिलो थिएन । तर पनि उनले काम सुरु गरिन् । उनको काम गर्ने शैलीले नै सबै कर्मचारी प्रभावित बनायो । अफिसका कर्मचारीहरूले पनि उनलाई सहयोग गर्दै गए ।
त्यसबेला सिंहदरबारभित्र रहेका विभिन्न सरकारी कार्यालयहरूको तलब खाने बैंक नै सिंहदरबार शाखा थियो । तत्कालीन राष्ट्रिय पञ्चायतका माननीय, मन्त्रीहरू पनि सिंहदरबार शाखामा चेक साँटन आइरहन्थे ।
हिरण्यकुमारीले एउटा प्रसंग उल्लेख गरिन्, “एक दिन सूर्यबहादुर थापा र केबी शाही मेरो चेम्बरमा आए । थापाले ‘बहिनी, हामी एकै छिन कुरा गर्छौं है, तपाईंलाई डिस्टर्ब त हुँदैन’ भने । ठूलो कोठा भएकाले मैले पनि ‘हुँदैन’ भनेपछि उनीहरू दुवैजना कुनामा बसेर कुरा गर्न थाले । मैले चिया मगाई दिएँ । केही समयपछि उनीहरू फर्किए । त्यसको केही दिनमै सूर्यबहादुर थापा प्रधानमन्त्री भए !”
उनले आफूले कहिल्यै नियम विपरीत काम नगरेको बताउँछिन् । अहिले पनि उनी सम्झिन्छिन्, बैंकमा हुँदाका केही रोचक प्रसंग ।
एक पटक परराष्ट्र मन्त्रालयका सचिवले असार मसान्तका दिन आफूलाई पैसा चाहिएको बताए । तर असार मसान्तका दिन साल तमामी भएकाले ढुकुटी खोलिन्थेन । आन्तरिक लेखापढीको काम मात्रै हुन्थ्यो । त्यसैले नियमानुसार आफूले पैसा दिन नसक्ने कुरा सचिवलाई बताइन् । ती सचिवले उनलाई थर्काएछन्, ‘महिला भएर मात्रै, पुरुष भएको भए देखाईदिन्थेँ...!’
सचिव निस्किए । प्रबन्धक पाठकको कन्पारो तात्यो । उनले बाहिर निस्केर ती सचिवको कठालो समाएर कोठामा ल्याउँदै भनिछन्, ‘लु... त्यो कुर्सीमा महिला छैनन् । पाइन्ट सर्ट लगाएका कुनै पुरुष नै छन् भन्ने सम्झिनुस् । लौ के गर्न सक्नुहुन्छ, गर्नुस् । तपाई परराष्ट्रमा काम गर्ने सचिवले यसरी नियम विपरीत काम गर्नुस् भन्न सुहाउँछ ?’
पाठकको रौद्ररुप देखेपछि ती सचिव केही बोल्नै नसक्ने भए । कतिपयले प्रबन्धक पाठकलाई ‘तपाईंको अब सरुवा चिठी आउँछ’ पनि भने । तर उनले जहिल्यै नीति नियम र निर्देशन हेरिन् । व्यक्ति हेरिनन् ।
त्यस्तै, एक पटक नेता रामराजा प्रसाद सिंहले ड्राफ्टको पेमेन्ट दिन आग्रह गरे । तर त्यो ड्राफ्टमा दस्तखत नमिलेकाले उनले दिन मानिनन् । पछि सिंहले ठाउँठाउँमा यो विषयलाई लिएर गुनासो पनि गरेको उनी बताउँछिन् ।
पाठक भन्छिन्, “मैले गलत काम कहिल्यै गरिनँ । एक जना व्यापारीको कर्जा समेत मैले रोकिदिएको छु । महाप्रबन्धक (जीएम) ले समेत भन्दाभन्दै पनि मैले लोन दिइनँ । जीएमले दिनुस् भने । मैले पनि निवेदनमा यति रकम लगानी गर्ने भनेर तोक लगाएर पठाई दिनुस्, अनि दिन्छु भनेँ । मैले भनेँ नि, मैले नियम विपरीत केही गरिनँ ।”
आफूले नेतृत्व लिएको अफिसमा पनि पाठकले महिला कर्मचारीहरूलाई अफिस समयमा कुरुस चलाउने, स्वीटर बुन्ने जस्ता काम नगर्न कडा निर्देशन दिएकी थिइन् । र उनलाई सधैँ सबै कर्मचारीले साथ दिए ।
शाखामा राष्ट्रिय पञ्चायतका सदस्य नेताहरूको भिड हुने भएकाले उनले पछि विशेष पहल गरेर राष्ट्रिय पञ्चायत परिसरमै सिंहदरबार शाखाको काउन्टर राख्ने व्यवस्था मिलाइन् । जुन काउन्टर लामो समयसम्म रह्यो ।
उनी भन्छिन्, “मैले कहिले पनि झुकेर काम गरिनँ । बैंकको नीति, नियम र निर्देशनलाई मात्र ध्यान दिएर काम गरेँ । शायद मैले गरेको कामको मूल्याँकन गरेरै होला, मलाई गोदवा पनि प्रदान गरिएको थियो ।”
०००
हिरण्यकुमारी पाठक करिब १२ वर्ष सिंहदरबार शाखामा प्रबन्धक भएर बसिन् । त्यसपछि उनी फस्र्ट क्लास अफिसरमा प्रोमोसन भएर केन्द्रीय कार्यालयमा सरुवा हुँदै तालिम विभागको स्थापना गर्दै विभागीय प्रमुख भएर तालिमसम्बन्धी विभिन्न काम गरिन् ।
र, करिब २८ वर्ष वाणिज्य बैंकमा बिताएर अवकाश लिइन् । साढे दुई दशकभन्दा बढीको समय बैंकिङ क्षेत्रमा बितेको बताउने पाठक भन्छिन्, “मेरो जोवन नै बैंकमा बित्यो । त्यसो त मैले गरेको कामलाई धेरैले प्रशंसा गरे । तर पनि महिलाले गरेको काम भन्न छाडेनन् ! मलाई आज पनि त्यसैमा दुःख लाग्छ ।” यतिबेला जीवनको उत्तरार्धमा साहित्यको पठनपाठन र लेखनमा उनको समय बितिरहेको छ ।