
मुख्यमन्त्री राउतलाई महामूर्खको उपाधिसहित सम्मान गरिँदै । र, विभिन्न तहका मूर्खहरूको उपाधि पाउने सामाजिक अगुवाहरूको सम्मानका लागि तयार पारिएका व्यंग्यात्मक मालाको भारी । तस्बिर : सुरेश यादव/बाह्रखरी
जनकपुर । मिथिला नाट्यकला परिषद् (मिनाप) ले होली पर्वको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको छ । उक्त अवसरमा आयोजकले राउतलाई तरुलको माला र फर्सीको टोपी लगाइदिएर सम्मान गरेको हो ।
होली पर्वको अवसरमा मिनापले हरेक वर्ष दुई दिवसीय विशेष समारोह आयोजना गर्दै आएको छ, पहिलो दिन होली महोत्सव र अर्को दिन महामूर्ख सम्मेलन । समाजमा राम्रो काम गर्ने व्यक्तित्वहरूलाई सम्मान स्वरुप व्यंग्यात्मक रूपमा विभिन्न मूर्खको विभिन्न उपाधि प्रदान गर्दै फरक फरक तरकारीको माला लगाइदिएर सम्मान गर्ने सम्मेलनको चलन छ ।
सम्मेलनमा प्रदेशसभा सदस्य एवं राजपाका सचेतक परमेश्वर साहलाई ‘भवकौवा’ को उपाधिसहित परवलको माला लगाइदिएको छ । प्रदेश सांसद एवं समाजवादी पार्टी दलका उपनेता रामअशिष यादवलाई ‘हराशंख’ को उपाधिसहित करेलाको माला र प्रदेशसभा सदस्य (राजपा) मनिष सुमनलाई ‘पटमूर्ख’ को उपाधिको साथमा केसौरको माला लगाइदिएर सम्मान गरिएको छ । प्रदेशसभा सदस्य (नेकपा) लाई ‘सिलौटशंकर’ को उपाधिसँगै किम्बुको माला प्रदान गरियो ।
जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रलाई ‘टुनमुसरी’ को उपाधि र खुर्सानीको माला, साहित्यकार रोशन जनकपुरीलाई ‘बलिगोमना’ को उपाधि र गाजरको माला, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरलाई ‘खेसारीलाल’ को उपाधि र भिण्डीको माला, महोत्तरीस्थित पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी यादवलाई ‘खापसुरत’ को उपाधि र कटहरको माला प्रदान गरिएको छ ।
यस्तै, जनकपुरस्थित संकटमोचन माविका प्रअ बलराम साहलाई ‘बज्रकिट’ को उपाधि र आलुको माला, कवित्री पुनम झालाई ‘अगलबदली’ को उपाधि र मुलाको माला, होटल व्यवसायी जीवनाथ चौधरीलाई ‘घरघुसना’ को उपाधि र टमाटरको माला, पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई ‘लोरहाशंकर’ को उपाधि र काउलीको माला तथा युवा व्यवसायी सुशिल कर्णलाई ‘वंशकुरहैर’ को उपाधि र केलाको माला लगाएर सम्मान गरिएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले होलीको अवसरमा समाजको यथार्थलाई झल्काउनेगरी आयोजना गरिने व्यंग्यात्मक कार्यक्रमको प्रशंसा गरे । ‘समाजमा राम्रो गर्नेहरूलाई प्रोत्साहन तथा गलत गर्र्नेको आलोचना हुनेगरी आयोजना गरिने यो कार्यक्रमले विभिन्न तहका सरकार लगायत जिम्मेवार निकायलाई खबरदारी गरिरहेको छ’ उनले भने, ‘यो परम्परालाई भविष्यमा पनि निरन्तरता दिनु आवश्यक छ ।’