site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जिल्ला उपसभापतिहरूको प्रशिक्षणलाई पौडेल समूहको बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । 

केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल समूहको भेलाले प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको हो । 

पौडेल समूहले आयोजना गरेको केन्द्रीय सदस्य, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र उपसभापतिहरूको संयुक्त भेलाले प्रतिष्ठानले बुधबार आयोजना गरेको एक दिने प्रशिक्षण बहिष्कार गर्ने निष्कर्ष निकालेको भेलामा सहभागी एक नेताले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेलालाई सम्बोधन गर्दै नेता पौडेलले महाधिवेशन भाँड्न सभापति शेरबहादुर देउवाले उपसभापतिहरूको प्रशिक्षण आयोजना गरेको आरोप लगाउँदै उक्त प्रशिक्षणमा सहभागी हुन नहुने बताए । “महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा महाधिवेशन भाँड्ने खेल भइरहेको छ,” उनले राखेको धारणा उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, “यस्ता कुराको हामीले विरोध गर्नुपर्छ । प्रतिवाद गर्नुपर्छ ।” 

महामन्त्री शशांक कोइरालाले पनि प्रशिक्षणले पार्टीको १४औं महाधिवेशनलाई प्रभवित पर्ने भन्दै उपसभापतिहरूलाई सहभागी नहुने आग्रह गरेका थिए । “प्रशिक्षणले महाधिवेशन प्रभावित गर्छ । उपसभापतिहरूलाई नजान आग्रह गर्छु,” कोइरालाले भेलामा राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो । 

यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि आफूनिकटका उपसभापतिहरूलाई प्रशिक्षण कार्यक्रममा नजान आग्रह गरे । महाधिवेशन प्रभावित पार्न प्रशिक्षण आयोजना गरिएको जिकिर गर्दै उनले सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन पनि प्रशिक्षणमा जान नहुनेमा जोड दिए । 

अवसरको दाउमा सिटौला

“महाधिवेशन प्रभावित गर्नकै लागि प्रशिक्षण कार्यक्रम राखिएको हो । सभापतिलाई निर्णय सच्याउनका लागि पनि प्रशिक्षणमा जानुहुँदैन ।” कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि बुधबार पार्टी केन्द्रीय कार्यालयमा एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

सभापति देउवाले एकलौटी रूपमा पार्टीका केन्द्रीय विभाग विस्तारसँगै आमन्त्रित केन्द्रीय सदस्यहरूको मनोनयन गरेको भन्दै पौडेल समूह असन्तुष्ट छ । गत शनिबार सभापति देउवाले पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूसमेत समावेश गरी पार्टीका १३ केन्द्रीय विभाग विस्तारसँगै पाँच नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पौडेल समूह असन्तुष्ट छ । 

१४औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि पार्टीका केन्द्रीय विभाग गठन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको पौडेल समूह बुधबार बिहान चाक्सीबारीमा भेला आयोजना गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १२:०१
प्रतिक्रिया दिनुहोस्