site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘गुटैगुटको महासंघ’ कांग्रेसमा न नेता न उत्तराधिकारी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकका प्रमुख पार्टीहरु गुटरहित हुन सकेका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले त नेकपा केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा गुटमा लागेको भन्दै टाउको जोडेर समाचार लेखिदिएको भन्दै चर्को आलोचना गरे ।

उनले सञ्चारमाध्यमले आफूहरुको अपमान गरेको आरोपसमेत लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपामा देखिएको गुटसम्बन्धमा लगातार समाचार प्रकाशित भएको, केन्द्रीय सदस्यहरुले पनि नेतृत्वले नै गुटबन्दी गरेको आरोप लगाएपछि ओलीको यस्तो टिप्पणी आएको हो ।

तर नेकपामा मात्रै होइन, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि गुटरहित छैन ।

Global Ime bank

कांग्रेसकै कतिपय नेताले त आफ्नै पार्टीलाई ‘गुटैगुटको महासंघ’ समेत भनेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि लगातार लाग्दै आएको आरोप के हो भने उनी गुटभन्दा बाहिर निस्कनै चाहेनन् ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र अर्का सभापति सुशील कोइरालाविरुद्ध लगातार फरक मत राख्दै गुटबन्दी गर्दै अघि बढेका सभापति देउवा अहिले सभापति र पटक–पटक प्रधानमन्त्री भइसक्दा पनि त्यो गुटभन्दा बाहिर निस्कन नसकेको कांग्रेसकै नेताहरुको तर्क छ ।

सभापति देउवाका विश्वासपात्र हुन्– उपसभापति विमलेन्द्र निधि । उनलाई सभापति देउवाको गुटभित्र अर्का उपसभापति विजयकुमार गच्छदारले टक्कर दिन चाहन्छन् । तर, सभापति देउवा जति निधिलाई विश्वासमा लिन सफल भएका छन् त्यति गच्छदारलाई सकेका छैनन् ।

गच्छदारसँग उनको सम्बन्ध भनेको ‘स्वार्थ’को सम्बन्ध हो । किनकि गच्छदार अर्को समूहमा गइहाले भने आफ्नो गुट कमजोर हुने ठानेर पनि देउवा गच्छदारलाई ‘थामथुम’ पारेर राख्ने अवस्थामा रहेको कांग्रेसका एक केन्द्रीय सदस्यको तर्क छ ।

देउवाको समूहमा विशेष गरेर निधि, आरजु राणा देउवा, गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँणलगायतका नेताहरु छन् ।

प्रवक्ताको जिम्मेवारी आइसकेपछि विश्वप्रकाश शर्माले पनि उनलाई साथ दिँदै आएका छन् ।

संस्थापन पक्षभित्र गुटभित्र उपगुट नभएका होइनन् तर उनीहरु अस्तित्वमा छैनन् । आवश्यक परेका बेलामा देउवालाई नै सहयोग गर्न बनेका गुटहरु भएको ती नेताको तर्क छ ।

तर, संस्थापनइतर समूहमा भने गुटैगुट छन् । उनीहरुलाई पनि लागेको छ कि– हामीभित्र भएका गुटैगुटले शेरबहादुर देउवा थप बलियो हुने मौका पाएका छन् ।

“हो हामीबीच विभिन्न गुट–उपगुट छन्,” केहीदिनअघि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बाह्रखरीसँगको कुराकानीमा भनेका थिए, “फेरि पनि गुटैगुट कायम रह्यो भने पार्टी शेरबहादुर देउवाकै हातमा पुग्नेछ । उहाँलाई रोक्नका लागि पनि हामीले गुट समाप्त गरेर एउटै उमेदवार दिनुपर्छ ।”

उनले पार्टीमा महाधिवेशनका बेला देखिएका गुट नै पछि सक्रिय हुँदा समस्या उत्पन्न भएको बताए । “नेतृत्वमा जो पुग्छ, उ गुटरहित हुनुपर्छ तर त्यो हुन सकेन,” कोइरालाको भनाइ थियो ।

संस्थापन इतर समूहको नेताका रुपमा रामचन्द्र पौडेलले आफूलाई उभ्याउँछन् । किनकि शेरबहादुर देउवाको समकक्षी हुँदा पनि त्यो सहज भएको कांग्रेसका एक नेताको टिप्पणी छ ।

“किनभने रामचन्द्र दाइ कोइराला लिगेसीको गुटमा उभिएका हुन्,” ती नेताको टिप्पणी छ, “अहिले कोइरालाहरु यो हाम्रो जग हो, हाम्रो जगमा तपाईं उभिनु स्वाभाविक होइन र तपाईं हाम्रो जगमा उभिँदा आफू पनि बलियो हुन सक्नुभएन । गुटलाई पनि बनाउन सक्नुभएन भन्ने आरोप छ । यो जगमा हामी उभियौं भने तपाईंभन्दा धेरै बलियो हुन्छौं भनेर कोइराला परिवारकै नेताहरु अघि सरेका छन् । र, हामी एउटा समूहको नेता भएर उभिँदा बलियो हुने र शेरबहादुर देउवालाई च्यालेन्ज गर्न सकिने भएकाले हामीलाई छोड्नुपर्छ भन्ने तर्क उहाँहरुको छ ।”

पौडेलले आफ्नो समूहमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, डा. शेखर कोइराला, डा. रामशरण महतलगायतका नेताहरु रहेको तर्क गर्छन् । तर, यी सबैका आ–आफ्नै उपगुट छन् ।

प्रकाशमान सिंहले आफ्नो छुट्टै गुट चलाएका छन् । कोइराला समूहका फरक फरक गुट छन् । “हामी फरक फरक ठाउँमा छैनौं, आवश्यक परेका बेलामा हामी एकै ठाउँमा उभिन्छौं,” महामन्त्री डा. कोइरालाको भनाइ थियो ।

तेस्रो समूह सिटौला नेतृत्वमा 

कांग्रेसमा सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेललाई सभापतिमा टक्कर दिएका नेता हुन् कृष्णप्रसाद सिटौला । १३ औं महाधिवेशनमा सभापतिमा उनकै उमेदवारीले गर्दा कांग्रेस नेतृत्व चयनका लागि दुई चरणको मतदान भएको थियो । पछिल्लो मतदानमा उनको समूहले देउवालाई समर्थन गरे पछि सभापतिमा निर्वाचित भएका थिए ।

तर पछि देउवा गुटबाट बाहिर निस्कन नसकेको भन्दै सिटौलाले आफ्नो गुट कायम राखे । अहिले पत्रकारले गुट कायम रहेको नरहेकोबारेमा प्रश्न गरेमा आगामी महाधिवेशनमा आफ्नो भूमिका स्पष्ट हुने घुमाउरो जवाफ सिटौलाले दिने गर्छन् ।

“कृष्ण सिटौलाको स्ट्रेन्थ पहिलाभन्दा बढेको छ, त्यो नेविसंघको पदाधिकारी चयनमा पनि देखिएको छ,” बाह्रखरीसँगको कुराकानीमा कांग्रेसका ती नेताको तर्क छ, “देउवा भर्सेस पुरानो संस्थापन टिम युनाइटेड नहुने हो भने आफ्नो उमेदवारी यथावत राख्न पनि सक्नुहुन्छ ।”

तर, सिटौलाले यस विषयमा मुख खोलिसकेका छैनन् ।

केही मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने उनको समूहमा रहेका नेताहरु संस्थापन र इतरसमूहमा विभाजित भइसकेका छन् ।

उत्तराधिकारी को ?

राजनीतिमा उत्तराधिकारीको महत्व बेला बेलामा पुष्टि हुँदै आएको छ । नेपालमा मात्रै होइन दक्षिण एसियाली मुलुकमै राजनीतिक उत्तराधिकारीको चर्चा बेला बेलामा चल्ने गरेको छ ।

अहिले सभापति शेरबहादुर देउवा जनस्तरमा आलोचित छन् तर पार्टीभित्र भने उनी अरु नेताभन्दा बलिया छन् ।

यो गुटकै कारण सम्भव भएको हो । तर उनको भावि उत्तराधिकारी को त ? भन्ने बारेमा पार्टीभित्र कुनै बहस भएको पाइँदैन ।

देउवाको विकल्प खोज्ने अवस्थामा पहिलो विकल्प विमलेन्द्र निधि नै हो । 

दोस्रो विकल्प उपसभापति, महामन्त्री आफ्नो समूहमा ल्याएर देउवाले शशांक कोइरालालाई नै उत्तराधिकारी बनाएर अघि बढ्न सक्ने आकलन कांग्रेसभित्रै छ ।

देउवा समूहमा निधिनै उत्तराधिकारी भएको तर्क कांग्रेस नेताहरु गर्छन् ।

ती नेताको तर्क छ, “गच्छदारलाई सभापति बनाएर अहिले पार लगाउने अवस्था देखिँदैन । शेरबहादुर देउवाको जुन होल्ड छ त्यो होल्डमा उत्तराधिकारी निधिबाहेक अन्त लैजाँदा त्यो ब्रेक हुन्छ । निधिले नै त्यसलाई ब्रेक गर्दछन् ।”

देउवाको अर्को विकल्प अर्थात् उत्तराधिकारी भनेको आरजु देउवा नै हुन् । 

उनी पनि अहिले सो समूहमा देउवापछिको भूमिका निर्वाह गर्न बेलाबेलामा कस्सिने गरेकी छन् ।

“देउवा आफू नलड्दा आरजुलाई जसरी पनि सेट गर्दछन्,” ती नेताको तर्क छ, “उनको आफ्नो उत्ताराधिकारी सभापति को बनाउने भन्दा पनि को सभापतिको उमेदवार बनाउँदा आरजुलाई महामन्त्रीको उमेदवार बनाउन सकिन्छ सुरक्षित ढंगले त्यसैलाई उनले समर्थन गर्छन् ।”

संस्थापनइतर समूहमा उत्तराधिकारी को ?

शशांक बीपीकै छोरा, महामन्त्री, धेरैलाई नचिढाएको व्यक्तिका रुपमा परिचित छन् । 

सबैले उनी भए पनि केही गर्ने होइनन् त्यसैले हामीले भूमिका पाइन्छ भन्ने अपेक्षा गर्ने नेताहरु बढी छन् ।

शेखरको गतिविधि व्यापक छ । उनी आक्रामक रुपमा पार्टीभित्र सक्रिय छन् ।

पार्टीमा देउवालाई थ्रेट गर्ने र विपक्ष नेताको भूमिका निर्वाह गर्न सक्ने क्षमता शेखरमा छन् । तर उनी ‘सबैको नेता’ बन्न सकेका छैनन् ।

प्रकाशमान सिंह निरन्तरताको हिसाबले लामै समय राजनीतिमा बिताएका नेता हुन् ।

पारिवारिक विरासतसमेत कायम रहेका सिंह पार्टीभित्र लगातार चुनाव जित्दै आएका नेतामा पनि चिनिन्छन् ।

तर, उनमा पार्टीलाई नेतृत्व दिएर अघि बढ्ने क्षमता कम देख्छन् कांग्रेसकै नेताहरु ।

संस्थापनइतर समूहको रोजाइमा एक नम्बरमा परेका अर्का नेता हुन् गगन थापा ।

थापालाई कुनै न कुनै महत्वपूर्ण भूमिका दिएर आफ्नो समूहमा ल्याउन दुवै पक्षका नेताहरु सक्रिय भए पनि थापा अहिलेसम्म सिटौलाबाहेक अर्को गुटमा खुलेर लागेका छैनन् ।

पारिवारिक विरासतबाहिर नेतृत्व जाने अवस्थामा थापाको अर्को प्रतिष्पर्धी नदेखिएको कांग्रेसभित्र चर्चा हुने गर्छ ।

फाइल तस्बिर 


   
    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC