
इरान रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले तेल तस्करी गर्न लागेको आशंकामा एक पानीजहाजसहित १६ जना मलेसियन चालक दलका सदस्यलाई नियन्त्रणमा लिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
इरानको सरकारी टेलिभिजनको वेबसाइट आईआरआईबीका अनुसार इरानी कर्प्सले १३ लाख लिटर 'इन्धन तस्करी' गर्न लागेको आशंकामा अबु मुसा टापुबाट करिब १५ सामुद्रिक माइल परबाट नियन्त्रणमा लिएको हो ।
"नियन्त्रणमा लिइएका १६ जना चालक दलका सदस्य भने मलेसियाका नागरिक हुन्," इरानी सञ्चारमाध्यमलाई आईआरजीसीका क्षेत्रीय नौसेना कमान्डर ब्रिगेडियर जनरल अली ओजमाइले भने ।
दक्षिणी खाडी क्षेत्रका मुख्य तीन टापुमध्ये अबु मुसा एक हो । जुन इरानको नियन्त्रणमा भए पनि उक्त टापु संयुक्त अरब इमिरेट्सले दाबी गरिरहेको छ । "यो इन्धन तस्करी गर्न लागेको तेल ट्यांकर नियन्त्रणमा लिएको छैटौं पानीजहाज हो," ओजमाइले थपे ।
सेप्टेम्बरमा स्ट्रेट अफ होर्मुजबाट आईआरजीसीले इन्धन तस्करी गर्न लागेको आशंकामा १२ फिलिपिनो चालक दलका सदस्यसहितको पानीजहाज नियन्त्रणमा लिएको थियो । त्यसैगरी जुलाई १४ मा पनि खाडीको बाटो हुँदै इन्धन तस्करी गर्न लागेको अवस्थामा 'विदेशी ट्यांकर' नियन्त्रणमा लिएको थियो ।
उक्त कर्प्सले स्टेना इम्पेरोबाट जुलाई १९ मा बेलायती झण्डाबाहक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । उक्त तेल ट्यांकर करिब दुई महिनापछि फिर्ता गरेको थियो ।
अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने तथा अत्यधिक दबाब दिएसँगै यस वर्ष खाडी क्षेत्रमा तनाव बढेको हो । अलजजिरा