site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पमाथि महाअभियोग, पदबाट हट्लान् ?

वाशिङटन । अन्ततः लामो समयदेखि चर्चामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन कंग्रेसमा बुधबार बहस र मतदान भएको छ ।  स्थानीय समयअनुसार बुधबार साँझ (नेपाली समयअनुसार अहिले बिहान) मतदान हुँदा संसदको तल्लो सदन कंग्रेसले प्रस्ताव बहुमतले पारित गरेको छ । 

अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट्सको बहुमत भएकोले प्रस्ताव पारित हुने निश्चित थियो । र, भयो पनि त्यही ।

राष्ट्रपतिविरुद्धमा मुख्य रुपमा दुई आरोप थिए । तल्लो सदनमा प्रस्ताव पारित भएपछि माथिल्लो सदन सिनेटमा अब प्रक्रिया अघि बढ्नेछ । ट्रम्पले आउँदो महिना माथिल्लो सदनमा महाअभियोगको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । 
यद्यपि माथिल्लो सदनमा ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवस्थामा उनी पदबाट हट्ने अवस्था भने आइहाल्ने सम्भावना छैन । ट्रम्पले महाअभियोगको यो प्रयासलाई ‘सत्ता परिवर्तन’को प्रयास र ‘घोटाला’ भनेका छन् ।

के हो अभियोग ?

ट्रम्पको विरुद्धमा युक्रेनका राष्ट्रपति बोलोडिमिर जेलेन्स्कीसँग सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका सम्भावित उमेदवार जो बाइडेन र उनका छोराको विरुद्धमा भ्रष्टाचारको जाँचको लागि दबाब दिएको आरोप लागेको थियो ।  बाइडेनका छोरा युक्रेनको एक उर्जा कम्पनीमा उच्च अधिकारी छन् । 
महाअभियोग प्रक्रियाका क्रममा युक्रेनका राष्ट्रपति बोलोडिमिर जेलेन्स्की र ट्रम्पबीच भएको फोन वार्ताको जाँच हुनुका साथै डेमोक्रयाट्स पार्टीको नियन्त्रण रहेको न्यायीक समितिले उनको विरुद्धमा औपचारिक आरोप तय गरेको थियो । 

सो फोन वार्तामा राष्ट्रपति ट्रम्पले युक्रेनी उर्जा कम्पनी बुरिज्माको लागि काम गरिसकेका जो बाइडेन र उनका छोरा हन्टर बाइडेनको विरुद्ध जाँच गर्न आग्रह गरेका थिए ।

न्यायीक समितिका चेयरम्यान तथा डेमोक्रयाट्स पार्टीका अध्यक्ष जेरी नाडलेरका अनुसार ट्रम्पविरुद्ध दुई मुख्य आरोप छन् । पहिलो ट्रम्पले सत्ताको दुरुपयोग गरेको र दोस्रो राष्ट्रपतिले संसदको काममा बाधा सिर्जना गरेको । राष्ट्रपतिलाई उनले आफ्नो राजनीतिक लाभका लागि युक्रेनलाई दिनुपर्ने आर्थिक सहयोग रोकेका थिए । तर ट्रम्पले सबै आरोप अस्वीकार गर्दै संसदले आफू विरुद्ध चाँडो भन्दा चाँडो महाअभियोगको प्रक्रिया पूरा गरोस् भनेर आग्रह गरेका थिए ।

अब के होला ?

विपक्षीको बहुमत भएको तल्लो सदनमा यो प्रस्ताव पास भइसकेको छ  । अब यसबारेमा माथिल्लो सदन सिनेटले जाँच प्रक्रिया अघि बढाउनेछ । 

तर, माथिल्लो सदनमा ट्रम्प समर्थित रिपब्लिकन पार्टीकै बहुमत छ । यदि राष्ट्रपतिविरुद्ध दुई तिहाईको बहुमतले अभियोग प्रमाणित भएमा अमेरिकी इतिहासमै महाअभियोगको प्रक्रियाबाट हट्ने पहिलो राष्ट्रपति ट्रम्प हुनेछन् । यद्यपि त्यस्तो हुन मुश्किल छ । 

ट्रम्प र उनका सहयोगी यो जाँच प्रक्रियामा पहिलादेखि नै प्रश्न उठाउँदै आइरहेका छन् । ह्वाइट हाउस र केही रिपब्लिकन नेताहरुले यो प्रक्रियालाई दुईसाता भित्र टुंगो लगाउन चाहेका छन् ।

ट्रम्प तेस्रो व्यक्ति

अमेरिकाको इतिहासमा दुई राष्ट्रपति १८८६ मा एन्ड्रयु जोन्सन र १९९८ मा बिल क्लिन्टनको विरुद्धमा महाअभियोग प्रस्ताव ल्याइएको थियो ।  जोन्सनको विरुद्धमा भ्रष्टाचारको लागि र क्लिन्टनको विरुद्धमा उनकी इन्टर्न मोनिका लेवेन्स्की यौनकाण्डमा दिएको बयानमा ढाँटेको भन्ने विषयमा महाअभियोग प्रस्ताव ल्याइएको हो  ।
जोन्सन र क्लिन्टन दुवै डेमोक्र्याट्स पार्टीका हुन् । यद्यपि उनीहरुलाई पदबाट हटाउन भने ती प्रस्तावले सकेका थिएनन् । 

अहिले सो प्रस्ताव ट्रम्पको विरुद्ध पनि तल्लो सदनमा पास भएको छ र उनी यस्तो प्रस्ताव ल्याइने तेस्रो अमेरिकी राष्ट्रपति भएका छन् ।  अनि अभियोग लाग्ने रिपब्लिकन पार्टीका पहिलो राष्ट्रपति पनि भएका छन् । हट्नेमा परे भने पनि उनी पहिलो राष्ट्रपति हुनेछन् । महाअभियोग प्रस्ताव ल्याइएका तेस्रो राष्ट्रपति भइ नै सकेका छन् । 
तर, हट्ने सम्भावना अहिलेको सिनेटको संख्यालाई हेर्दा लगभग असम्भव छ ।  तर, उनले गलत काम गरेको भनेर आगामी राष्ट्रपति चुनावमा धेरथोर उनका विरुद्धमा नकारात्मक जनमत बन्न भने सक्ने अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ ।  १९७४ मा तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनमाथि आफ्नो एक विरोधीको जासूसी गरेको आरोप लगाइएको थियो । त्यसलाई वाटरगेट काण्डको नाम दिइएको थियो । यद्यपि महाअभियोग लगाउनुभन्दा पहिला उनले राजीनामा दिएका थिए । 

वाशिङटनमा महाअभियोगमा मतदान हुँदै गर्दा ट्रम्प भने मिचिगनमा एक सभालाई सम्बोधन गरिरहेका थिए । उनले विपक्षी डेमोक्रयाट्सका गतिविधिलाई त्यहाँ आलोचना गरेका थिए । (एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  ०४:४९
प्रतिक्रिया दिनुहोस्