
नयाँ दिल्ली । भारतमा ल्याइएको नागरिकता संशोधन विधेयकका कारण त्यहाँ आन्दोलन झन् चर्किँदै गएको छ । आज वामपन्थी दलहरुले भारत बन्द कार्यक्रमको आयोजना गरेका छन् । अन्य दलले पनि सो बन्दको समर्थन गरेका छन् । प्रहरीले विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई संघीय राजधानी नयाँ दिल्लीसमेत देशका विभिन्न भागबाट गिरफ्तार गरेको बीबीसीले जनाएको छ ।
राजधानी दिल्लीमा प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन । दिल्लीबाट चर्चित अभियन्ता योगेन्द्र यादव र बेंगलुरुमा इतिहासकार तथा गान्धीवादी रामचन्द्र गुहालाई पक्राउ गरिएको छ । दक्षिण कन्नडमा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागु गरिएको छ । यद्यपि वामपन्थी दलले त्यहाँ विरोध प्रदर्शन गरेका छन् । हैदरावाद, चेन्नई र चण्डीगढमा विरोध प्रदर्शन भएका छन् ।
नागरिकता विधेयकको विरुद्धमा आज भारतभर प्रदर्शन भइरहेका छन् । नयाँ दिल्लीका थुप्रै मेट्रो स्टेशन बन्द भएको बीबीसीले जनाएको छ ।