site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 एमबीबीएस विद्यार्थीको किताब नै बिरामी हुन् 
SkywellSkywell

उनले प्रथम श्रेणीमा एसएलसी पास गरिन् । उनको पढाइलाई उनका शिक्षक गोपाल आचार्यले निगरानी गरिरहेका रहेछन् । त्यसैले उनले एसएलसी पास भएको थाहा पाएपछि गोपाल आचार्यले उनलाई आईएससी पढ्न उत्प्रेरित गरे । यति बेलासम्म उनलाई साइन्स पढ्नेतर्फ ध्यान थिएन । उनी त जागिर खाएर आमालाई सहयोग गर्ने मनस्थितिमा थिइन् । त्यसैले गोरखापत्रका पानापाना पल्टाएर जागिर खोज्दै थिइन् । महिनाको ६४ रुपैयाँ तलब पाउने जागिर गरौँ कि भन्ने पनि उनलाई लागेको हो ।  

तर, गोपाल सरले उनलाई त्रिचन्द्र कलेजमा गएर आईएससीमा भर्ना हुन सुझाए । त्यसैले उनी त्रिचन्द्र कलेज गइन् । त्यतिबेला भारतीय प्रोफेसरहरू थिए त्यहाँ । उनलाई प्रिन्सिपलले ‘तुम साइन्स पढ सकोगी’ भनेर सोधेछन् । उनले पनि ‘हाँ सकुंँगी,’ भनेर भनिछन् । त्यसपछि आईएससीमा उनको भर्ना भयो ।

उता साइन्स फ्याकेल्टीमै भर्ना हुन आएकी थिइन् सानुमैया वैद्य (दली) पनि । यी दुई बीच मित्रता भयो । सानुमैयाँले उनलाई ‘मेरी दिदीले पनि साइन्स पढेकीले दिदीको किताब र नोटहरूबाट सहयोग हुन्छ,’ भनेपछि यी दुवैको आईएससीको पढाइ तीव्र गतिमा अगाडि बढ्यो । कति दिन त उनी एकाबिहानै नरदेवी पुग्थिन्, सानुमैयाँ कहाँ । र, त्यहाँबाट दुवै कलेज जान्थे ।

KFC Island Ad
NIC Asia

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्राध्यापक डाक्टर सरस्वती पाध्ये काठमाडौं मेडिकल कलेजको कार्यकक्षमा हामीसँग भेटपछि आफ्ना पुराना दिन सम्झिँदै थिइन् । उनले भनिन्, “आईएससीको पढाइ सजिलो थिएन । त्यो दुई वर्ष त मैले फलामको चिउरा चपाएभन्दा पनि कडा मिहिनेत गर्नु परेको थियो । आखिर जसरी पनि पढाइ राम्रो नम्बर ल्याएर सिध्याउनु नै थियो ।”

उनी आईएससी पनि पास भइन् । सानुमैया दली पनि पास भइन् । यसरी आईएससी सकेपछि उनी आयुर्वेद चिकित्सा पढ्न तर्फ आकर्षित भइन् । त्यसैले उनले आयुर्वेद पढ्नका लागि निवेदन दिइन् । तर, त्यहाँ उनलाई एडमिसन लिइएन । ‘तिम्रो नम्बर राम्रो छ । तिमीले डाक्टरी पढ्नु पर्छ । कविराज बन्नु हुँदैन’ भनेर उनलाई फर्काइयो ।

Royal Enfield Island Ad

यो बताउँदै गर्दा प्राडा सरस्वती पाध्ये हाँसिन् । आफूलाई एमबीबीएस गरेर डाक्टर हुनुपर्छ भन्ने कुरा आफ्नो दिमागमा नै नभएको उनी बताउँदै थिइन् । अहिले सम्झँदा पनि आश्चर्य लाग्छ उनलाई । तर, आफ्नो भाग्यमा एमबीबीएस भएकाले घुमिफिरी त्यो आफ्नो भागमा आएको उनको भनाइ छ ।

त्यसपछि उनले कोलम्बो प्लान अन्तर्गत एमबीबीएसको सिटका लागि आवेदन दिइन् । त्यसको अन्तरवार्तामा सामिल भइन् । र, एमबीबीएसको सिट पनि पाइन् । 

डा. सरस्वती पाध्ये भन्छिन्, “अहिले फर्किएर हेर्दा लाग्छ, त्यतिबेला सोर्सफोर्स भएकाहरूलाई बम्बई, कलकत्ता, दिल्ली जस्ता ठूला सहरका मेडिकल कलेजतिर पठाइएको थियो । सोर्स नहुने हामी जस्तालाई सानासाना सहरतिर पठाइयो । मलाई र रमा वैद्यलाई दरभंगा मेडिकल कलेजमा एमबीबीएस पढ्न पठाइएको थियो । त्यसबेला मलाई भारु १ सय४० रुपैयाँ स्कलरसिप दिइन्थ्यो । जबकि अरू ठूला सहरमा जानेलाई भारु २ सय रुपैयाँ दिइन्थ्यो ।”

उसबेला छनोट गर्ने हाकिमले ‘तिम्रो आमा मात्रै हुनुहुँदो रहेछ । दरभंगा नजिक हुन्छ भनेरै तिमीलाई दरभंगा पठाएका हौँ,’ भनेका थिए । त्यसबेला आफूलाई सोर्स फोर्सका बारेमा थाहा नभएको उनी बताउँछिन् । 

०००

डा. सरस्वती पाध्येको बाल्यकाल काठमाडौंको देवपत्तन (देउपाटन) मा बित्यो । उनको बाल्यकाल त्यसबेलाका अन्य केटाकेटीहरूजस्तै सामान्य रहेको बताउँछिन् । उनको बिहानको समय घरमै साधारण पठनपाठनमा बित्थ्यो । साँझ साथीसंगीसँग खेल्नमा बित्थ्यो । पशुपति क्षेत्रमा बसोबास भएकाले पशुपतिको दर्शन नियमित जान्थिन् उनी । कैलास डाँडामा गएर सुरेली खेलेको अहिले पनि उनलाई सम्झना छ । 

वर्षाको मौसममा हिलोमाटोको आहाल हुन्थ्यो त्यस क्षेत्रमा । त्यहाँ ट्वारट्वार गरिरहेका भ्यागुताहरू भेटिन्थे । उनी कहिले काँही भ्यागुतो समाउँथिन् । त्यसबेला न फोहोरको मतलब थियो । न त धुलोमाटोकै । पाकेको पनि खाइन्थ्यो । नपाकेको पनि खाइन्थ्यो । तर केही हुन्थेन ।

यद्यपि डा. सत्यालले भनेको उनलाई आज सम्झना हुन्छ । उनी भन्थे रे, ‘नोट समाए पछि हात धुनुपर्छ’ । अहिले ठीक त्यही समय आएको छ । अर्थात्, नोट समाए पनि हात धुनुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

डाक्टर सरस्वती पाध्येको अनुहारमा मृदुमुस्कान फैलियो । उनले भनिन्, “त्यो बेला खै के उमेर थियो ! हिँड्न त जानेकै थिइनँ मैले । जहाँ जाँदा पनि दगुरेरै पुग्थेँ । घरबाट केही किन्न पठाउँदा पनि खुर्रर्रर्र दगुरेर बाहिर गयो र किनेर दगुर्दै ल्यायो ।”

डा. पाध्येका एक जना दाजु र तीन जना दिदी बहिनी थिए । दाजुलाई संस्कृत पढाउन एकजना गुरु घरमा आउँथे । त्यो बेला उनी पनि दाजुसँगै बसेर कौमुदी पढ्थिन् । 

त्यसबेला देउपाटनमा एउटा पाठशाला थियो । त्यो पाठशालामा उनले पनि पढिन् । त्यहाँ बाबुराम आचार्यका छोरा गोपाल आचार्यले पनि पढाउँथे । उनी अंग्रेजी पनि जान्दथे । त्यसैले कहिले काहीँ विद्यार्थीलाई अंग्रेजी पनि सिकाउँथे । 

गोपाल गुरुले अंग्रेजी सिकाउने तरिका गजब थियो । ‘ए माने एउटा, बीएटी ब्याट । ब्याट माने चमेरो । सीएटी क्याट । क्याट माने बिरालो...’.भन्दै घोकाउँदै पढाउँथे । 

अर्का गुरु थिए गोकर्णका । उनी पाठशाला आए पछि केहीबेर तमाखु खान्थे अनि विद्यार्थीलाई पढ्पढ् भन्दै आफू निदाउँथे । उनी संस्कृत पढाउँथे । सरस्वतीलाई अंग्रेजी मोहले त्यहीबेलादेखि तान्दै लग्यो । उनी गुरु निदाएको मौका छोपी गोपाल गुरुको कक्षा कोठामा पुग्थिन् । र, अंग्रेजीमा विशेष ध्यान दिन्थिन् ।

त्यसबखत ‘क्यालेन्डर रिडर’ नाम गरेको अंग्रेजीको किताब थियो । त्यसअघि उनले ठूलो वर्णमाला पढेर अंग्रेजी जानेनी थिइन् । ठूलो वर्णमालामा उनले ‘ए’ अ, ‘एए’ आ, ‘केए’ क भन्ने पढेकी थिइन् ।

उनको अग्रेजी भाषाप्रतिको रुची देखेर एकदिन गुरु उनका पिताजी समक्ष गए । र भने, ‘यी नानीलाई अंग्रेजी भाषाको पढाईमा रुची छ । अंग्रेजी पढाउनु पर्‍यो’ भने । तर सरस्वतीका पिताजीले स्वधर्मे निधनम् श्रेयः परधर्मो भयावहः भन्दै ‘संस्कृत पढिरहेकै छ, अंग्रेजी पढ्न हुँदैन’ भनेर गुरुलाई पठाइदिएछन् ।

प्रारम्भमा उनले दाजुलाई पढाउन आउने गुरुबाट संस्कृत सिकेकी हुन् । दाजुको अचानक निधन भयो । पछि उनी पाठशाला गएर संस्कृत पढ्दै थिइन् । त्यही पाठशालाले उनमा अंग्रेजीप्रति मोह जगाएको थियो । 

उनलाई अंग्रेजीका बारेमा धेरै कुरा थाहा थिएन । न त म्याथकै बारेमा थाहा थियो । उनलाई त केही अंग्रेजीका अक्षरको ज्ञान थियो । बाँकी संस्कृत नै उनले जानेकी थिइन् ।

२००७ सालको क्रान्ति सफल भएर मुलुकमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछि केटाकेटीहरूका लागि भनेर एउटा बाल संगठनको स्थापना गरियो । संगठनले बालबालिकाहरूका लागि विभिन्न कार्यक्रम गर्दथ्यो । त्यसैमा थियो केटाकेटीलाई ठूलो चौरमा पीटी खेलाइने काम । पीटी खेल्न सरस्वती पनि जान्थिन् ।

हठात्, २००८ सालको असोजमा एपेन्डिक्सका कारण उनको पिताजीको निधन भयो । उनको दिदीको पनि त्यसअघि निधन भइसकेको थियो । 

तिनताक बाल संगठनका केटीहरू स्कुलमा गएर भर्ना हुने लहर चल्यो । सरस्वतीलाई पनि एक जना साथीले ‘जाउँ हिँड् स्कुलमा भर्ना हुन’ भन्दै पद्मकन्या विद्या आश्रममा लिएर गइन् । ती साथीले उनलाई सात कक्षामा भर्ना गराउन लिएर गएकी थिइन् । तर, अंग्रेजी ट्रान्सलेसन नआएकाले सरस्वतीको भर्ना पाँच कक्षामा भयो । 

यहीँबाट उनको पढाइले गति लियो । पठनपाठन अगाडि बढ्यो । सोही वर्ष उनी कक्षामा प्रथम भइन् । भट्टराई थरका एक शिक्षक थिए स्कुलमा । उनी बिहान पशुपति जाँदा सरस्वतीलाई भेट्थे । रिजल्ट आइसके पछि एक पटक भेट्दा भट्टराई सरले भने, ‘नानी तिमी फस्र्ट भयौ । तिमी ६ मा होइन, ७ मा भर्ना हुनु’ । उनलाई ६ कक्षा फड्काइयो । ७ कक्षामा भर्ना गरियो ।

त्यसपछि उनी कक्षामा निरन्तर प्रथम हुँदै गइन् । पिताजी, दाजु र दिदीको निधन भइसकेकाले उनलाई एक्ली आमाले नै हुर्काएर पढाइन् । उनकी आमालाई पढ्न आउँथ्यो । उनी रामायण, महाभारत, गीता, उपनिसद् सबै पढ्थिन् । तर, उनलाई लेख्न भने आउँथेन । 

उनी भन्छिन्, “सायद उहाँलाई लेख्नै सिकाइएन । तर, बाल्यकालमा मैले आमाबाट पनि धेरै ज्ञान प्राप्त गरेँ ।” 

उनले २०१३ सालमा एसएलसी पास गरिन् । त्यस वर्ष २४ जना विद्यार्थी फस्र्ट डिभिजनमा पास भएका थिए । जसमा दुई जना केटी मात्र पास भएका थिए, सरस्वती र सानुमैया वैद्य (डा. सानुमैया दली) । 

त्यसपछि सरस्वतीको बाटो त्रिचन्द्र कलेजतिर मोडियो ।

०००

सरस्वती एमबीबीएस पढ्न भनेर दरभंगा पुगिन् । एमबीबीएसको पढाइ सहज र सरल पक्कै थिएन । धेरै मिहिनेत गर्नु पथ्र्यो । त्यो पाँच वर्ष उनले अथाह मिहिनेत गरिन् । त्यस बेला आफूले गरेको मिहिनेत सम्झिँदा आज पनि उनलाई रोमाञ्चित बनाउँछ । 

सारा समय पढाइमा नै बित्थ्यो । एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्रीलगायतका धेरै विषयमा ध्यान दिनुपर्ने हुन्थ्यो । अझै क्लिनिकल पढाइ सुरु भएपछि त अस्पतालबाहेक अरू केही कामलाई फुर्सद मिल्थेन । 

त्यसबेला दरभंगा मेडिकल कलेजमा पनि बेलायतबाट पढेर आएका प्रोफेसरहरूले पढाउँथे । त्यहाँका गोराहरूले राम्रो व्यवस्था गरिदिएकाले दरभंगाको पढाइ पनि राम्रो रहेको उनी बताउँछिन् ।

पढ्नमा सक्दो ध्यान दिएकाले उनले समयमै पढाइ सकिन् । त्यसबेला इन्टर्न गर्ने चलन थिएन । उनी हाउस सर्जनसीप गर्न थालिन् ।

दरभंगा मेडिकल कलेजमा एकजना प्रोफेसर तिवारी थिए । उनी ओटीमा छिर्दा उनलाई पछाडिबाट गाउन बाधिदिन्थे, सिस्टरहरूले । र उनी ओटीमा गएर सर्जरी गर्थे । त्यसबाट प्रभावित सरस्वतीलाई लाग्थ्यो, ‘म पनि गाइनोकोलोजी नै पढ्छु’ । त्यसैले पनि उनले त्यही विषयमा ध्यान दिइन् । 

०००

पढाइ सिध्याएर डा. सरस्वती पाध्ये काठमाडौं फर्किन् । काठमाडौं भित्रिएपछि उनको जागिरको पहिलो काम प्रसूति गृहबाट सुरु भयो । जागिर खाँदा सुरुमा उनको तलब ४ सय ५० रुपैयाँ थियो । प्रसूति गृहमा छ महिना काम गरिन् । छ महिना नबित्दै उनको सरुवा नेपालगन्ज अस्पतालमा भयो । उनी नेपालगन्ज गइन् । मेडिकल अफिसरकारूपमा नेपालगन्ज पुगेकी सरस्वती पाध्येले त्यहाँ तीन वर्ष बिताइन् । नेपालगन्जमा त्यसबेला ५० शय्याको अस्पताल थियो । 

उनी भन्छिन्, “नेपालगन्जमा जाडोमा धुलो र गर्मीमा हिलो छपक्कै हुन्थ्यो । गर्मीको त कुरै नगरे भयो, कति कति ! तर पनि बस्नै पर्नेथियो । हामीले बस्ने क्वाटर पनि सानो उँचाइका भएकाले गर्मी असाध्यै हुन्थ्यो । त्यस्तैमा पूरा अवधि बिताइयो ।” 

त्यहाँ सिनियर मेडिकल अफिसर बस्ने घर अग्लो थियो । त्यहाँ गर्मी कम हुन्थ्यो । जुनियर मेडिकल अफिसर बस्ने घर सानो भएकाले अत्यधिक गर्मी हुन्थ्यो । 

तर, काममा भने उनलाई कुनै बाधा व्यवधानले रोकेन । उनले त्यहाँ हरेक किसिमका रोगको उपचार गरिन् ।

प्राडा सरस्वती पाध्ये भन्छिन्, “त्यसबेला नेपालगन्जमा कति बच्चालाई बँचाइयो पनि । कति बाँचेनन् । हामीले साधन–स्रोत नहुँदा नुहुँदै पनि काम बिरामीको हितमा काम गरेका थियौं ।” 

निश्चित समय बितेपछि उनको सरुवा काठमाडौंमा भयो । त्यसबेला भरखरै मातृशिशु कल्याण केन्द्रको स्थापना भएको थियो । त्यसले समय समयमा हेल्थ क्याम्प गर्दथ्यो । ठाउँठाउँमा गर्भवती महिलाहरूको जाँच गर्न उनी गाडीमा औषधिसहित जान्थिन्, टिम लिएर । कहिले बालकोट, कहिले ठिमी, कहिले गोकर्ण । काठमाडौं वरपरका गाउँगाउँ पुगेर, त्यहाँको हेल्थपोस्टको संयोजनमा उनी गर्भवती महिलाहरूको उपचार गर्थिन् ।

सहरमा अस्पताल जाने चलन त थियो । तर, गाउँमा त्यो नभएकाले गाउँगाउँमा गएर गर्भवतीको उपचार गर्नुपरेको उनी बताउँछिन् ।

०००

मेडिकल अफिसरका रूपमा काम गर्दै जाँदा पाँच वर्ष बित्यो । उनले ‘एमआरसीओजी’ अर्थात् स्त्री तथा प्रसूति रोगमा विशेषज्ञताका लागि बेलायतबाट तालिम लिने मौका पाइन् ।

उनी बेलायत गइन् । बेलायतमा तालिम सजिलो थिएन । साताको छ दिन नरोकिएर काम गर्नुपथ्र्यो । काम थालेपछि घर फर्किन सकिन्थेन । बिदा एकदम सानो समयका लागि मात्रै मिल्ने उनी बताउँछिन् ।  

उनले महिनाको ६५ पाउन्ड स्कलरसिप बापतको रकम पाउँथिन् । तर, ब्रिटिस काउन्सिलले जहिले पनि ‘जब’ खोज ‘जब’ खोज भनिरहन्थ्यो । ‘जब’ पाए तिनले स्कलरसिप बापतको पैसा दिनु पर्दैनथ्यो । उनी पनि जागिर खोज्न नगएकी होइनन् । इन्टरभ्यु लिइन्थ्यो तर जागिर पाइन्थेन ।

प्राडा पाध्ये भन्छिन्, “एक पटक मैले काम पाएँ । त्यो ‘जब’ मा मैले मासिक १ सय ४० पाउन्ड पाउने भएँ । त्यसबेला मलाई १ सय ४० ले नछोड्ने भयो भन्ने पनि लाग्यो ।”

तालिम भनेको अस्पतालमा काम गर्नु नै हुन्थ्यो । काम गर्दागर्दै कहिले काहीँ त अस्पतालमै पनि सुत्नु पर्दथ्यो । त्यहाँका नर्सहरूले पनि धेरै कुरा सिकाएको उनी अझै सम्झिन्छिन् । उनका अनुसार पहिले एकैचोटी एमआरसीओजीको जाँच हुन्थ्यो । तर, उनी गएकै वर्षदेखि पार्ट वन र पार्ट टु गरेर जाँच छुट्याइयो । 

तर, पढ्ने ल त नै थियो उनलाई । पढ्नलाई डराउँथिनन् । त्यसैले सिक्नलाई उनलाई केहीले बाधा पारेन । हरेकसँग उनले सिक्दै गइन् । र जाँच पास गर्दै गइन् । अन्ततः उनले बेलायतबाट ‘एमआरसीओजी’ पास गरिन् । 

उनी ‘एमआरसीओजी’ पास भएकी मात्रै थिइन्, काठमाडौंबाट स्वास्थ्यको डाईरेक्टरको चिठी गयो, ‘तपाईंको पढाइ सकिएको बुझिएकाले तुरुन्तै फर्किनु होला’ । चिठी डाइरेक्टर भरतराज वैद्यले पठाएका थिए ।

उनी काठमाडौं फर्किन् । उनी काठमाडौं आउँदासम्म स्वास्थ्यमा अर्का डाइरेक्टर आइसकेका रहेछन् । उनी फर्किएपछि डा. पाध्येलाई कहाँ राख्ने भन्ने कुरो भएछ । त्यसैले मन्त्रालयले उनलाई विशेषज्ञ पदमा कामु मुकरर गरेर पत्र दिँदै जनकपुर पोस्टिङ ग¥यो । तर, भोलिपल्टै उनलाई हेल्थ क्याम्पका लागि नेपालगन्ज पठाइयो । 
प्राडा पाध्ये भन्छिन्, “कतै विशेषज्ञ पनि कामु हुन्छ ? तर नेपालका त्यसबेलाका हाकिमले मलाई कामु विशेषज्ञको चिठी थमाउँदै जनकपुर खटाए ! र त्यसकै भोलिपल्ट नेपालगन्जको हेल्थ क्याम्पमा जानु भनेर चिठी दिए ।”

तीन साताको हेल्थ क्याम्पपछि काठमाडौं फर्किनासाथ उनलाई मन्त्रालयले ‘तपाईं जनकपुर किन नगएको’ भनेर स्पष्टीकरण सोध्यो । उनी छक्क परिन् । किनभने जनकपुर पोस्टिङ गर्ने तिनै हाकिमले हेल्थ क्याम्पमा नेपालगन्ज पठाएका थिए । फेरि स्पष्टीकरण पनि सोधिरहेका छन् ! 

त्यसपछि जनकपुर पोस्टिङ भए पनि उनी काजमा रहेर वीर अस्पतालमा काम गर्दैरहिन् । 

त्यसको केही समयपछि उनले ल्याप्रोस्कोपी तालिम पनि लिइन् । अनि त कहिले गाइनो क्याम्प त कहिले ल्याप्रोस्कोपी क्याम्प । यस्तै स्वास्थ्य शिविरहरू जाँदाजाँदै उनको समय बित्दै गयो । यसरी नै उनले नेपालका धेरै जिल्ला र विकट ठाउँहरू पुग्ने अवसर पाइन् ।

एक पटक ल्याप्रोस्कोपी क्याम्प लिएर डा. पाध्ये सुर्खेत पुगेकी थिइन् । त्यसैबेला राजपरिवारका सदस्यहरू पनि सुर्खेतमै थिए । त्यसबेला रानी रत्नले ल्याप्रोस्कोपी क्याम्पको उद्घाटन गरेको उनी सम्झना गर्छिन् ।

वीर अस्पतालमा भए पनि स्वास्थ्य शिविरको कुरा चल्यो कि सरस्वती पाध्ये नै जानु पर्दथ्यो । उनी भन्छिन्, “कपडाको ब्याग त जतिबेला पनि तयारी अवस्थामा राख्नु पर्दथ्यो मैले !”

प्रसंगबस् उनले बेलायतको कुरा गर्दै बेलायतका डाक्टर भन्दा हामी यताका डाक्टर धेरै जान्ने भएको बताइन् । उनी भन्छिन्, “नेपालका डाक्टरहरूले अनेक रंगका रोगीलाई जाँच्नु पर्ने हुन्थ्यो । जबकी बेलायतमा कतिपय रोग त हुन्थेन पनि । जस्तो, पाठेघर झर्ने रोग बेलायतमा देखिएन ।”

प्राडा सरस्वती पाध्येले एउटा महत्त्वपूर्ण कुरा उठाइन् । उनी भन्छिन्, “हामीले पढ्दा हामीलाई भनिन्थ्यो, तिम्रो दिमाग र हातका दुईवटा औँला चलाउ । त्यसरी नै तिमीहरूले बिरामीको उपचार गर । अर्थात् हामीले हाम्रो बे्रन नै चलाउनु पथ्र्यो उपचारमा । आज त्यो छैन । हामीलाई उसबेला भनिन्थ्यो, ‘तिम्रो किताब नै पेसेन्ट (बिरामी) हो है’ । दरभंगामा होस् वा बेलायत, हामीलाई त्यही सिकाइएको थियो । तर, आज पेसेन्ट र डाक्टरको बीचमा त्यो सम्बन्ध नै छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro