
ढाका । बंगलादेशको मुख्य विपक्षी पार्टी बंगलादेश नेशनल पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले भारतको असम राज्यमा लागु गरिएको नेशनल रजिस्टर अफ सिटिजन (एनआरसी)ले बंगलादेशको स्वतन्त्रता र सम्प्रभुतामा मात्रै होइन यो उपमहादीपलाई नै खतरा रहेको बताएका छन् ।
युनाइटेड न्यूज अफ बंगलादेशका अनुसार बीएनपी नेताले सो कुरा मीरपुरमा आयोजित एक कार्यक्रममा आइतबार बताएका हुन् ।
उनले भने,‘‘ हामीले सुरुदेखि नै भारतमा एनआरसीको कुरालाई लिएर चिन्ता व्यक्त गरेका छौं । हामीलाई लाग्छ कि भारतमा एनआरसीले बंगलादेशको स्वतन्त्रता र सम्प्रभुतामा खतरा छ । ’’
एनआरसीले बंगलादेशमा मात्रै होइन पुरै उपमहादीपलाई अस्थिर गर्नेछ । एनआरसीले यो उपमहादीपमा संघर्ष र हिंसालाई बढावा दिनेछ ।’’ भारतले असममा लगाएको प्रावधानले त्यहाँका करिब १९ लाख मानिस अहिले नागरिकताविहीन हुन पुगेको बताइँदै आएको छ ।
यसको उदेश्य साम्प्रदायिक राजनीति स्थापना गर्ने भएको समेत जनाएका छन् । (बीबीसी)