site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
 दैनिक ८० टन चिनियाँ प्याज नेपालमा, स्वादै छैन : उपभोक्ता

काठमाडौं । दसैंको मुखैमा भारतले अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेको थियो । भारतले प्याज निर्यातमा रोक लगाएपछि दैनिक ८० देखि ९० टन चिनियाँ प्याज नेपाल भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले हाल चीनबाट दैनिक ८० देखि ९० टनसम्म प्याज आउने गरेको जानकारी दिएको छ । “भारतीय प्याजको आपूर्ति बन्द भएपछि चिनियाँ प्याजको आपूर्ति बढ्दो क्रममा छ, दैनिक ८० देखि ९० टनसम्म प्याज आयात भइरहेको छ,” कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ बजार सञ्‍चालक अधिकृत मनोज धितालले बाह्रखरीलाई जानकारी दिए । 

प्याजमा पूर्ण रूपले भारतमा निर्भर नेपालमा असाेज १२ गतेबाट त्यसको असर सुरू भएको थियो । जसका कारण दसैंको मुखैमा प्याजको मूल्य बढेको थियो भने हालसम्म पनि त्यो असर देख्न सकिन्छ, फलत: २ सयदेखि २ सय ५० रुपैयाँसम्म तिरेर प्याज खानुपर्ने अवस्था सिर्जना भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । निर्यात रोकेपछि भारतमा मूल्य घट्ने अनुमान गर्दै भारतीय विश्लेषकहरूले सरकारी कदमको स्वागत गरका थिए । त्यससँगै काठमाडौंलगायत नेपालका प्रमुख सहरमा प्याज अभाव सुरू भएको थियो । हाल बजारमा प्याज अभाव छैन, तर मूल्य वृद्धिका कारण आम उपभोक्ता मारमा छन् । 

उपभोक्ता भन्छन् : प्याजमा स्वाद नै छैन

भारतले प्याज निर्यातमा रोक लगाएपछि चिनियाँ प्याजले नेपाली बजार धानेको छ । तर, चिनियाँ प्याजको स्वाद नभएको उपभोक्ताले बताएका छन् । ठूलो आकार भएको चिनियाँ प्याजको स्वाद नभएको उपभोक्ताले बताएका हुन् । 

चाबहिल निवासी डोल्मा तामाङ भछिन्, “आकार हेर्दा एउटै प्याजले छाक टर्नेजस्तो देखिन्छ तर कुनै स्वाद छैन, खल्लो छ ।” चिनियाँ प्याजको स्वाद नभएको बताउने डोल्मा एकजना मात्र होनन् अधिकांश उपभोक्ताले चिनियाँ प्याजको स्वाद नभएको प्रतिक्रिया दिएका छन् ।

यता कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा यही विषयमा कुरा गर्दा वरिष्ठ बजार सञ्‍चालक अधिकृत धितालले नेपाली र भारतीय प्याजको स्वाद एउटै हुने भए पनि चिनियाँ प्याजमा पानीको मात्रा बढी हुने भएकाले स्वादमा केही फरक पर्ने बताए । 

“चिनियाँ प्याजमा पानीको मात्रा धेरै हुन्छ, जसले गर्दा स्वादमा फरक आउँछ,” उनले प्रष्ट पारे । कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको चाइनिज प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय र थोक अधिकतम मूल्य १ सय ४५ रुपैयाँ रहेको छ ।

मूल्य वृद्धि भए पनि प्रयोग रोकिएन 

प्याजको मूल्य वृद्धि रोकिएको छैन । तर, मूल्य वृद्धि भयो भनेर प्याज प्रयोग गर्नेहरुको संख्यामा पनि कुनै कमी आएको छैन  । कारण भन्सार विभागले दिएको जानकारी अनुसार विभागको पछिल्लो तथ्यांकअनुसार प्याजको माग धान्न नेपालले ४ महिनामा ४ हजार क्‍विन्टलभन्दा बढी प्याज आयात गरेको छ ।  

त्यस अवधिमा ४ करोड १९ लाख किलो प्याज आयात भएको हो । भन्सार विभागका अनुसार चालु आवको कात्तिक मसान्तसम्ममा आयात भएको ४ करोड १९ लाख किलो प्याजमा १ अर्ब ५९ करोड रुपैयाँ विदेशिएको छ । विभागका अनुसार त्यसमध्ये १ अर्ब ५६ करोड रुपैयाँ भारत र बाँकी चीन तथा नामिबिया गएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्