काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित उद्योग विभागको अगाडि रहेको पसलमा कैदीहरूले उत्पादन गरेका नेपाली कपडा किन्न पाइन्छ । गत असोज ८ गतेबाट सञ्चालनमा आएको यो पसलमा केन्द्रीय कारागार कारखाना भोटेबहालका कैदीहरूले बनाएका शुद्ध नेपाली सुति कपडा बिक्री गरिन्छ । सहुलीयत मूल्य सुति कपडा प्रर्दशन तथा बिक्री कक्षको नाममा खोलिएको यस पसलमा एक महिनाको अवधिमा चार लाखभन्दा बढीको सुति कपडा बिक्री भएको हो ।
बाह्रखरीसँग कुरा गर्र्दै कपडा बिक्री कक्षमा कार्यरत मालती गिरीले एक महिनाको अवधिमा चार लाखभन्दा बढी मूल्य बराबरको सुति कपडा बिक्री भएको जानकारी दिइन । “उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको उद्योग विभाग अन्तर्गत केन्द्रीय कारागार कारखानाद्वारा उत्पादित सुति कपडा बिक्री सुरु भएको एक महिना पूरा भयो, हालसम्ममा चार लाख बढीको कारोबार भएको छ,” उनले भनीन् ।
केन्द्रीय कारागार कारखानामा काम गर्ने एक सय ५० कैदीहरुले उत्पादन गरेका सुति कपडालाई बिक्रीको लागि राखिएको हो । कैदीहरूले एक मिटर कपडामा तान र रङ हालेबापत २ देखि ६ रुपैयाँ कमाउने गरेका छन् । तर उनीहरुले पाउने पारिश्रमिक भने मासिक रुपमा प्राप्त गर्छन ।
एउटै कम्पाउण्डभित्र जेल र कारखाना भएकाले पनि कैदीहरुलाई काम गर्न सहज भएको छ । जसले गर्दा बिहान १० बजे देखी ४ बजेसम्म कैदीहरुले कारखानामा काम गर्न पाउँछन् । योसँगै कारखानामा काम गरेबापत कैदीहरूको २० प्रतिशत कैद छुट हुने बताइएको छ ।
यसअघि कारागारको कारखानाभित्रै कपडाको बिक्री हुँदै आएको थियो । कैदीहरूले उत्पादन गरेका कपडाहरू बाहिर बिक्री गर्न राखिएको भने यो पहिलोपटक हो । कारागारको कारखानाभित्र ग्राहकलाई जान सहज नभएकाले बाहिर पसल खोलेको गिरीले बताइन् ।
पसलमा , सर्ट, कुर्था–सरवाला, दौरा-सुरुवाल, तन्ना, सिरक, तकियाको खोल, कुसन, रुमाल, झोला बनाउन मिल्ने खालका शुद्ध सुतिको कपडा पाइन्छ । पसलमा प्रतिमिटर ५३ रुपैयाँ ५० पैसादेखि २३० रुपैयाँसम्मका कपडा पाइन्छन् ।
कारागारबाट निर्माण भएका कपडाहरुमा खेस कपडा प्रति मिटर ११०, माछा काँडे कपडा प्रति मिटर ११५, डोरे कपडा प्रतिमिटर ८६ देखि एक सय (दुई प्रकारका), चेक कपडा प्रतिमिटर ११५, पकेट रुमाल प्रतिथान २४ रुपैयाँ, तौलिया रुमाल एक थान १४८.५०, सुति धोती प्रतिथान ५५०, जिन कपडा प्रतिमिटर १४०, ठूलो गज तन्ना प्रतिमिटर २३०, सानो गज तन्ना प्रतिमिटर १७०, झोला प्र्रतिथान ३०, २-४० प्लेन कपडा प्रतिमिटर ८४, २-२० प्लेन कपडा प्रतिमिटर ९५, ठूलो गज कोरा प्रतिमिटर ११५, सानो गज कोरा प्रतिमिटर ५८, ठूलो गज हरियो÷ निलो कपडा प्रतिमिटर २१० रुपैयाँ रहेको छ ।
त्यसैगरी, चेक कपडा अन्तर्गत, सिरकको पल्ला प्रतिमिटर १३८.५५, सेतो प्लेन कपडा प्रतिमिटर ८५ र रंगिन प्लेन कपडा प्रतिमिटर ५३.५० रुपैयाँमा बिक्री भइरहेको छ । पसलबाट विशेषत् तौलिया, रुमाल, तन्ना, सिरकको खोल, चेक कपडा, माछा काँडे कपडा, डोरे कपडा सबैभन्दा धेरै बिक्री हुने गरेको छ ।
यसैबीच गिरीले दसैँ तिहारको समयमा भन्दा हाल व्यापार कम भएको बताइन् । गिरीका अनुसार कैदीहरुले निर्माण गरेका सुति कपडाको बिक्री तथा प्रदर्शन कक्ष चाडपर्व लक्षित नभएर सधै भरको लागि हो ।
सुति कपडा स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिने भएकाले पनि सुति कपडा ग्राहकको रोजाईमा पर्ने गरेको छ । कैदीबन्दीहरुले उत्पादन गरेका कपडा प्रयोग गर्नाले उनीहरुप्रतिको नकारात्मक धारण कम गिरीले बताइन् ।
( गिरी कारागारभित्र काजमा कार्यरत छिन् । )