site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिबन्धपछि अनौपचारिक बाटो हुँदै भारतीय प्याज नेपालमा, प्रतिकिलो १८० रुपैयाँ

काठमाडौं । भारत सरकारले असोज १२ गतेबाट अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेको थियो । प्याजमा पूर्ण रूपले भारतमा निर्भर नेपालमा त्यसको असर तत्कालै सुरु भएको थियो । जसका कारण दसैंको मुखैमा भारतले प्याज निर्यातमा रोक लगाएपछि दसैंमा प्याजको मूल्य बढेको थियो । परिणामस्वरुप उपभोक्ताले एक किलो प्याजलाई २०० सय रुपैयाँसम्म तिरे ।

पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको थियो । निर्यात रोकेपछि भारतमा मूल्य घट्ने अनुमान गर्दै भारतीय विश्लेषकहरूले सरकारी कदमको स्वागत गरे । तर, यसबाट काठमाडौंलगायत नेपालका प्रमुख सहरमा प्याज अभाव सुरू भयो । जुन अभाव अहिले पनि कायमै छ ।

नेपालमा भारतको कानपुर, नासिक, इन्दोरलगायतबाट प्याज आइरहेको थियो । तर असोज १२ गते बिहान ९ बजेबाट भारतीय व्यवसायीले नेपाललाई प्याज दिन नसक्ने जवाफ दिएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतले प्याज निर्यातमा रोक लगाए पनि उपत्यकाको  मूख्य तरकारी बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले भने प्याज आयात नरोकिएको बताएको छ । 

यसैबिच बाह्रखरीसँग कुरा गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकृत विनय श्रेष्ठले कालीमाटी तरकारी बजारमा दैनिक ५० देखी ६० टन प्याज आयात भएको बताए । 

“प्याज निर्यातको लागि भारतले प्रतिबन्ध फुकुवा गरेको छैन, तर कालीमाटीमा दैनिक ५०-६० टन प्याज भारतबाटै आयात भएको छ ।  अनौपचारिक बाटो भएर भारतबाट प्याज आयात भएको हो । व्यापारीको आफ्नै खालको सम्पर्क सुत्र हुन्छ । तर हाम्रो भन्सार हुँदै प्याज आयात भएको छ,” उनले भने ।

नेपालमा खपत हुने ९५  प्रतिशत भारतबाट आयात हुने गरेको बताउँदै उनले एकोहोरो भैरहवा नाकाबाट आयात हुने प्याज प्रतिबन्धपछि धनुषा, सर्लाही, मोरङ् वा व्यापारीलाई सहज हुनेगरी अनौपचारीक नाका प्रयोग गरेर प्याज आयात हुनेगरेको प्रस्ट पारे । पछिल्लो समय भारतसँगै चीनबाट १२-१३ टन प्याज आयात भएको समितिले जानकारी दिएको छ । 

प्याज रोप्ने समयमा बाढी, पहिरोको कारणले समस्या भएको थियो भने भारतले आन्तरिक माग पूरा गर्न नसकेर प्याज आयातमा रोक लगाएको हो ।

पछिल्लो समय कालीमाटी तरकारी बजारमा प्याज प्रतिकिलो १६० को हाराहारीमा भए पनि मंसिर १ गतेभने मूल्य बढेर प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १८० रुपैयाँ पुगेको छ ।

यसैबीच भन्सार विभागले गत आर्थिक वर्ष  ०७५-७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको बताएको छ । सो वर्ष आयातित १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४-७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो । 


 

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १६:४४
प्रतिक्रिया दिनुहोस्