site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गरिमा धान पीडित किसान भन्छन् - के गरेर पेट पाल्ने, सरकारलाई दु:ख सुनाइदिनू !

काठमाडौं । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको बीउले धानै नफलेपछि कृषक चिन्तित बनेका छन । सरकारले पीडित किसानलाई क्षतिपूर्ती दिने बताए पनि के-कति क्षतिपूर्ती दिने भनेर खुलाएको छैन । अरु किसानले धानबाली भित्र्याएर अर्को खेती सुरू गरिसक्दा पनि गरिमा धान रोपेका कृषकले भने यो वर्ष कसरी छाक टार्ने भन्‍ने
पिरलो छ । 

गरिमा धान लगाएका चितवन कालीका नगरपालिका-६ का कृषक फूलमान लामाले गत वर्ष पनि गरिमा धान नै लगाएका थिए । गत वर्ष राम्रो उत्पादन भएकाले यो वर्ष पनि् उनले गरिमा धान नै रोपे । पोहोर साल आफैंले उत्पादन गरेको बीउँ रोप्ने योजनामा उनी थिए । तर आफैंले उत्पादन गरेको बीउ राम्रो नहुन पनि सक्छ भनेर स्थानीय एग्रोभेटबाट सरकारले उपलब्ध गराएको गरिमा धानको बीउ किने । 

फसल राम्रो हुने आशा गरेका लामाले फल्ने समयमा पनि धानको बाला नलागेपछि आश्चार्यमा परे । पछिमात्रै उनले थाहा पाए कि कभर गरिमा धानको भए पनि भित्र अर्कै बीउ रहेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले १२ कठ्ठामा गरिमा धान रोपेका थिए । जेठको २८ गते ब्याड राखेका थिए । त्यसको ठिक एक महिनापछि असार २५ गते धान रोपे । असारमा रोपेपछि दशैंताका पाक्नुपर्ने धानको बालासमेत लागेन । 

रोपाइँ गरिसकेपछि धानमा राख्ने  मल पाउन उस्तै समस्या थियो । जसोतसो मल, औषधी किनेर जोगाएको धानको बाला लागेन । केही समयसम्म त धानको बाला लाग्ला नै भनेर धैर्य गरे । तर धान काट्ने बेलासम्म पनि धानमा बाला त परै जाओस, फूल पनि देखिएन । फूल खेल्नुपर्ने धान खाली घाँसजस्तो मात्र देखियो । 

उनले भने, "धानको बीउ नक्कली परेछ । बाला नै नलागेपछि धानको बोट काटेर फाल्ने विचार थियो, तर भित्रबाट धानमा फूल खेल्न थालेको देखे, फल्छ भन्‍ने आशा पलायो । तर, धानको बाला भने लागेन । छिमेकीको खेतमा धान थन्क्याएर तोरी पनि फूल्‍ने बेला भयो, हाम्रो धान नै काटिएको छैन ।"

धानको बाला झुलेर लहलह हुनुपर्ने ठाउँमा बाला नै छैन । भएको जति भुस मात्र छ । "मिहनतपूर्वक लगाएको बालीमा फल नलाग्दा हामीजस्तो गरिब किसानलाई ठूलो पीडा हुँदो रहेछ, उनले पीडा सुनाए, "वर्षभरीका लागि लगाएको बालीले फल दिएन । के खाने भन्ने पिरलो छ । गतवर्ष ३६ क्विन्टल धान फलेको खेतमा यो वर्ष मुस्किलले ३० प्रतिशत पनि फल्छ कि फल्दैन केही भन्न सकिने अवस्था छैन । पराल काटेर धान भित्र्याउने हिम्मत आएन्, अलिअलि लागेको बाला पनि काट्ने मन छैन ।" 

उनले हरेक वर्ष धान काटेपछि तोरी रोप्ने गरेको थिए । "धानको बीउ नक्कली परेकाले न धान फल्यो न तोरी लगाउन पाइयो," उनले भने, "दोहोरो घाटामा परियो । दुई बाली लगाउन पाइएन र हाम्रो लागत अनुसार क्षतिपुर्ति पाए राहात हुन्थ्यो । राहातले किसानलाई बाँच्ने आधार दिलाउँछ, नत्र के खानु ?"  

सरकारले क्षतिपुर्ति दिने भन्‍ने सुनेपछि उनले स्थानीय कालीका नगरपालिका वडा नम्बर ६ मा गएर बेहोरा फारम भरेको छन् । उनले भने, "केन्द्र सरकारले क्षतिको बेहोरा उपलब्ध गराए क्षतिपूर्ती दिन्छु भनेको छ । सरकारले चाँडै उपलब्ध गराओस् । तोरी छर्ने समय पनि सकियो, धान पनि फलेन् ।"

उनले आगामी वर्ष कुनै पनि हालतमा स्थानीय धान रोप्ने बताए । पीडा पोखे, "दु्:खले मानो रोपियो मुरी भित्र्याउन पाइन मन धेरै रोएको छ । मेरो कुरा सरकार समक्ष पुर्‍याइदिनु ।"

त्यसैगरी कालीका नगरपालिका-८ की अर्का कृषक गिता रानामगर र कविता राना मगरको पिडा पनि उस्तै छ  । उनीहरुले जुटपानी विरेन्द्र अधिकारीको बीउबिजन पसलबाट गरिमा धानको बीउ ल्याएका थिए ।

गिताले साढे तीन कठ्ठा र कविताले चार कठ्ठामा गरिमा बीउको धान लगाएका थिए । पहिलो पटक गरिमा धान लगाएको बताउने उनीहरुले यो वर्ष नयाँ धान रोपेकाले विगतका वर्षमाभन्दा धेरै फल्छ भन्ने सोचेको भए पनि यथार्थ त्यस्तो भएन । सँगैका छिमेकीले धान भित्र्याएर अर्को बाली लगाइसक्दा उनीहरु भने धान नै भित्र्याउने हो कि होइन भन्ने चिन्तामा छन् । 

आय आर्जनको बाटो भनेकै खेतीपाती भएको बताउने उनीहरुले धान काटेपछि तोरी, सिमी र आलु रोप्ने गरेको भए पनि यो वर्ष धान नभएको र अन्य बाली लगाउन नपाएकाले वर्षभरी के खाने भन्ने पिर छ ।

गिता मगरले विगतका वर्षमा २४ मुरी धान भित्र्याएको खेतमा यो वर्ष पराल मात्र भित्र्याउनु पर्ने बाध्यता छ । बीउ नै नक्कली परेपछि खेतमा धान होइन पराल र भुष फलेको छ  । उनले भनिन्, “हामीले धान काटेपछि तोरी, आलु, सिमी रोप्ने गरेका थियौं, तर यो वर्ष धानको बीउँ नै नक्कली पर्‍यो, अर्को बाली लगाउन समेत पाएनौं, सरकारले क्षतिपूर्ती दिन्छ भने धान नै देओस्, हामी धान नै लिन चाहान्छौ ।"

२०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्राली लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालीबाट गरिमा जातको वर्णशंकर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । सो धान थन्क्याउनु पर्ने समयमा बाला नलागेपछि विज्ञ अनुसन्धान टोलीले स्थलगत निरीक्षण समेत गरेको थियो । कृषि मन्त्रालयले धानको डीएनए फिंगर प्रिन्ट परीक्षणपछि गरिमा धान नक्कली भएको बताएको थियो ।

सामान्यतया, एक हेक्टर जमीनमा १५ किलो धानको बीउ प्रयोग हुने गर्छ । यसलाई हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धान लगाइएको अनुमान छ । कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी चितवनमा यो धान लगाइएको थियो । यससँगै कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ र नवलपरासी पूर्वमा यो धान लगाइएको थियो । चितवनमा मात्र ९४० बिघामा यो धान लगाइएको बताइएको छ ।

यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १२५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो । तर गरिमा धान लगाएका विभिन्न जिल्लामा भने अनुसार नभएपछि किसान मर्कामा परेका छन् ।

कार्तिक २५ गते बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताएका थिए । किसानको बीउमा लागेको लगानी हरेर क्षतिपूर्ति दिने बताइएको भए पनि अहिलेसम्म कुनै कमद चालिएको छैन ।

'बीउ सिफारिस गर्ने कर्मचारी र व्यापारीलाई कारबाही गरियोस्'

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता भिम रावलले नफल्ने गरिमा जातको धानको बीउँ सिफारिस गर्ने कर्मचारी र संलग्न व्यापारीलाई कारबाही गर्न माग गरेका छन् ।

उनले ट्विटरमार्फत यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले पीडित किसानलाई उचित क्षतिपूर्ति दिनुपर्नेसमेत माग गरका छन् । 

उनले ट्विटरमा लेखेका छन्,  "नफल्ने गरिमा जातको धानको बीउ सिफारिस गर्ने कर्मचारी र संलग्न व्यापारीलाई कारबाही गरियोस् । यस्तो बीउको कारण धान नफलेर पीडित भएका कैलालीलगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस् ।"

नफल्ने गरिमा जातको धानको बिउँ सिफारिस गर्ने कर्मचारी र संलग्न ब्यापारीलाई कार्वाई गरियोस् ।यस्तो बिउँको कारण धान नफलेर पीडित भएका कैलाली लगायत जिल्लाका किसानहरूलाई उचित क्षतिपूर्ति दिइयोस् । श्रमिक जनताको हित गर्ने कम्युनिष्ट पार्टीको नीति अनुरूप नेपाल सरकारले पाइला चालोस् ।

— Bhim Rawal (@BhimRawal179) November 13, 2019


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्