site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुईतिहाइको सरकारलाई विदेशी लगानीकर्ताले पत्याए, स्वदेशीले पत्याएनन्

काठमाडौं । सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सिर्जना भएको बताइरहेको छ । तर पनि दुईतिहाइको सरकार बनेको दुई वर्ष पुग्नै लाग्दा पनि लगानीकर्ताले सरकारलाई नपत्याएको देखिएको छ ।

लगानीको अवस्था हेर्दा गत वर्षको तुलनामा यो वर्ष लगानी घटेको देखिन्छ । दर्ताका आधारमा उद्योगको संख्या घटेको देखिए पनि गतवर्षको तुलनामा वैदेशिक लगानी भने अढाई गुणाले बढेको देखिन्छ ।

उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पुँजी विश्लेषणका आधारमा उद्योगमा भएको लगानी घटेको देखिन्छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिक ८ गते सम्म ९२ उद्योग विभागमा दर्ता भएका छन् । यो संख्या गत वर्षको यहि अवधीमा दर्ता भएका उद्योगको संख्याभन्दा ८६ कम हो । गत वर्ष यहि अवधिमा विभागमा १ सय ७८ उद्योग दर्ता भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको उल्लेखित अवधिमा विभागमा दर्ता भएका ९२ उद्योग मध्ये पर्यटनमूलक क्षेत्रमा नै सबैभन्दा धेरै ३६ उद्योग दर्ता भएका छन् । त्यसैगरी,  कृषि तथा वन्यजन्तु क्षेत्रमा ३, ऊर्जामूलक क्षेत्रमा १६, सूचना, प्रसारण तथा  सञ्चार प्रविधि क्षेत्रमा २, उत्पादनमूलक क्षेत्रमा २२ उद्योग, र सेवामूलक क्षेत्रमा १३ उद्योग दर्ता भएका छन् । यी सबै उद्योगको कुल पूँजी ५५ अर्ब ४१ करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ भने ५ हजार ७ सय १२ जनालाई रोजगारी दिने क्षमता राख्दछन् । गत वर्षभन्दा १३ अर्ब ४३ करोड ९९ लाख ६० हजार रुपैयाँ कम लागतका उद्योग  दर्ता भएका हुन् । 

गतवर्षको यही अवधिमा दर्ता भएका १ सय ७८ उद्योगमध्ये पर्यटनमूलक क्षेत्रमा सबैभन्दा धेरै ५५ उद्योग दर्ता भएका थिए । त्यसैगरी, कृषि तथा वन्यजन्तु क्षेत्रमा ९, निर्माण क्षेत्रमा ३, ऊर्जामूलक क्षेत्रमा ६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा ७, उत्पादनमूलक क्षेत्रमा ४५ र सेवामूलक क्षेत्रमा ५३ उद्योग दर्ता भएका थिए । ती उद्योगको कुल पुँजी ६८ अर्ब ८५ करोड ९७ लाख ५० हजार रुपैयाँ थियो । यस अवधिमा दर्ता भएका उद्योगले ८ हजार ९ सय ४२ जनालाई रोजगारी दिने क्षमता राख्दथे । 

त्यसैगरी, नेपालमा गतवर्षको सोहि अवधिमा वैदेशिक लगानी तर्फको उद्योगको संख्या घटेको छ । तर, संख्या घटेपनि लगानी भने बढेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार गतवर्षको पहिलो चार महिनामा नेपालमा वैदेशिक लगानी तर्फ १३१ उद्योग दर्ता भएका थिए । जसमध्ये कृषि तथा वन्यजन्तु क्षेत्रमा ५ उद्योग, सूचना तथा प्रविधि क्षेत्रमा १० उद्योग, उत्पादनमूलकमा २१ उद्योग,  खनिज क्षेत्रमा २ उद्योग, सेवामूलक क्षेत्रमा ४२ उद्योग  र पर्यटनमूलक क्षेत्रमा ५१ उद्योग गरेर कुल  १३१ उद्योग दर्ता भएका थिए । जसले ५ हजार ७२ जनालाई रोजगारी दिने क्षमता राखेका थिए । 

नेपालमा वैदेशिक लगानी अन्तर्गत गत वर्ष भन्दा चालू आर्थिक वर्षमा उद्योग दर्ताको संख्या भने घटेको छ । गत वर्ष १३१ उद्योग दर्ता भएकोमा सोहि अवधिमा यो वर्ष भने जम्मा ८३ उद्योग मात्र दर्ता भएका छन् । जुन गत वर्षको उद्योग दर्ताको संख्या मध्ये ४८ कम हो । 

तर उद्योग दर्ताको संख्या घटेपनि लगानी प्रतिवद्धता भने दोब्बर वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक लगानी तर्फ १४ अर्ब ४८ करोड ६० लाख बराबरको लगानी प्रतिवद्धता आएको हो । जुन गत वर्षको भन्दा दोब्बर बढी हो । 

यो वर्ष वैदेशिक लगानीतर्फ, पर्यटनमूलक क्षेत्रमा ३९ उद्योग, सेवामूलक क्षेत्रमा २८ उद्योग, उत्पादनमूलक क्षेत्रमा ८ उद्योग, सूचना तथा प्रविधि क्षेत्रमा ७ उद्योग र कृषि तथा वन्यजन्तु क्षेत्रमा १ गरेर कुल ८३ उद्योग दर्ता भएका हुन् । यी उद्योगले ४ हजार ६ सय ११ जनालाई रोजगारी दिने क्षमता राखेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १२:३५
प्रतिक्रिया दिनुहोस्