site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तरकारीको मूल्य घट्यो, भारतबाट आयातित तरकारी कम हुँदै

काठमाडौं । नेपालमा उत्पादित भएका तरकारी बजारमा आउन थालेपछि तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार बजारमा नेपालमा उत्पादित तरकारी आउन सुरु भएसँगै तरकारीको मूल्य घटेको हो । 

बाह्रखरीसँग कुरा गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीका वरिष्ठ बजार सञ्चालन अधिकृत मनोज धितालले कालीमाटी तरकारी बजारमा आयातित अधिकांश तरकारी नेपाली उत्पादन भएको बताए । “हाल बजारमा रहेको अधिकांश तरकारी नेपाल कै उत्पादन हो, भारतबाट केही मात्रामा मात्र रहेको छ । स्वदेशी उत्पादन भएको र आयात धेरै भएकाले पनि तरकारी मूल्य घट्दो क्रममा छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धितालका अनुसार भारतबाट आलु, प्याज, कागती, खुर्सानी र केही मात्रामा आलु आयातित भएको छ भने हाल बजारमा आएका बाँकी सबै तरकारी नेपालकै उत्पादन हो । कालीमाटी तरकारी बजारमा तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, नुवाकोट, मकवानपुर, भक्तपुर, ललितपुर, गोरखा, दोलखा, चितवन, धादिङ, काभ्रेसँगै भारत र चीनबाट समेत गरेर दैनिक आठ सय टनको हाराहारीमा तरकारी आयात हुने गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले दिएको जानकारी अनुसार हाल तरकारीको आयात भोलुम पनि वृद्धि भएको छ । समितिका अनुसार तरकारीको आयात भोलुम वृद्धि हुँदा मूल्य घट्छ भने आयात भोलुम कम हुँदा मूल्य बढ्ने गरेको छ । 

समितिका अनुसार कालीमाटी तरकारी बजारमा कात्तिक १५ गते ६१९ टन तरकारी आयात भएको थियो । त्यसैगरी, क्रमश, १६ गते ७५४, १७ गते ४७८ टन, १८ गते ७६३ टन, १९ गते ७२५ टन, २० गते ७९३ टन तरकारी आयात भएको छ । तरकारी आयातको अवस्था हेर्दा आयात धेरै भएकाले पनि तरकारीको मूल्य घट्न थालेको देखिन्छ ।
 
समितिका अनुसार बुधबारको तुलनामा बिहीबार ठूलो नेपाली र भारतीय गोलभेँडा खुद्रा औसतमा १६ प्रतिशत, सानो गोलभेँडा १०.५३ प्रतिशत, रातो आलु ४.६२ प्रतिशत, सुकेको प्याज ५.०७ प्रतिशत, लोकल गाजर ६.९० प्रतिशत, लोकल काउली १६ प्रतिशत र  रायोको सागको १५ प्रतिशत मूल्य घटेको छ । 

आजको मूल्य कति ?

कालीमाटी तरकारी बजारमा आज अधिकांश तरकारीको मूल्य घटेको छ । समिति अनुसार आज ठूलो नेपाली गोलभेँडा,  ठूलो भारतीय  र सानो गोलभेडाको अभिकतम खुद्रा मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ । त्यसैगरी क्रमशः रातो आलु प्रतिकिलो ७०, सेतो आलु प्रतिकिलो ६०, सुकेको प्याज प्रतिकिलो १५०, लोकल गाजर प्रतिकिलो १६०, लोकल बन्दा र काउली प्रतिकिलो ११०, लोकल मुला प्रतिकिलो ५०, भन्टा प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १३०, मटरकोशा प्रतिकिलो १८०, सिमी प्रतिकिलो ९०, तितो करेला प्रतिकिलो ११०, लौका प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ११०, स्कुस प्रतिकिलो ४०, रायोको साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १२० र तोरीको साग प्रतिकिलो ७०, तरुल प्रतिकिलो ८०, च्याउ कन्य प्रतिकिलो ८० र डल्ले च्याउ प्रतिकिलो ४७० रुपैयाँ छ  । 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १४:४१
प्रतिक्रिया दिनुहोस्