काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक १५ टन फोहोर संकलन हुने गरेको छ । यसमध्ये करिब ९५ प्रतिशत फोहोर प्राङ्गारिक भएको बताइएको छ । प्राङ्गारिक फोहोरबाट मल बनाउने काम भने थालिएको छैन । ठाउँ अभावका कारण भन्दै समितिले कुहिने र नकुहिने फोहोर छुट्याउने काम समेत गरेको छैन ।
बाह्रखरीसँग कुरा गर्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सञ्चालक अधिकृत धन नारायण शाहले वुमन इन्भारोमेन्ट ग्रुप नेपाल नामक निजी कम्पनीले दैनिक रुपमा कालीमाटीको फोहोर संकलन गर्दै आएको छ । कम्पनीसँग २०७६ साउन १२ गते दुई वर्षका लागि सम्झौता भएको हो । कालीमाटी तरकारी बजारमा सबैभन्दा बढी चहलपहल बिहान ३ देखि ८ बजेसम्म हुन्छ । फोहोर पनि यही समयमा बढी निस्किने हो । “ठाउँ अभावका कुहिने र नकुहिने फोहोर छुट्याउन पनि सकिएको छैन । तर प्रयास गरिरहेका छौं । जति फोहोर हुन्छ, एकै ठाउँमा हुन्छ,” शाहले भने ।
४५ रोपनी क्षेत्रफलमामा फैलिएको कालीमाटी तरकारी बजारमा थोक कारोबारको लागि बहुउद्देश्यिय भवन र टहरा ३५० वटा, खुद्रा बजार, ७१ वटा फलफूल तथा अन्य कृषि वस्तु कारोबार गर्ने सटर १८ वटा र स्टोरिङ केज २४ वटा रहेका छन् । बजार सेवा विस्तारका लागि समिति अन्तर्गत काठमाडौंको चोभारमा करिब २३ रोपनी र नौबिसेमा ४.५ रोपनी जग्गा सहितको संरचना रहेको छ भने भविष्यमा उपयुक्त बजार विकास संरचना तया। गरी सञ्चालनमा ल्याउने कार्ययोजना रहेको समितिले जानकारी दिएको छ ।
बिहान ८ देखि राति १० बजेसम्म सरसफाइ
काठमाडौं महानगरपालिकाले घामको झुल्कोसँगै सरसफाइ सुरु गर्ने अभियान नै चलाएको थियो । कतिपय ठाउँमा यो अभियान सुचारु छ भने कतिपय ठाउँमा यसको प्रयोग भएको देखिँदैन । यता कालीमाटी फलफूल तथा तरकारी बजारमा जुनसुकै समयमा सरसफाइ भएको देखिन्छ । बजारमा सुनसुकै समयमा चहलपहल हुने भएकाले सफाइलाई निरन्तरता दिएको समितिले बताएको छ । बिहान ८ देखि राति १० बजेसम्म बजार सफाइ गर्ने तालिका नै भएको समितिको दाबी छ ।
भोलिपल्ट बिक्री हुने सामान अघिल्लो दिन राति नै भित्रिने र बिहान ३ बजेबाटै व्यापार सुरु हुन्छ । यसले गर्दा बिहानै फोहोर उठाउन सम्भव नभएको शाहले भनाइ छ । “बिहानको समय बजार सामान, उपभोक्ता र व्यवसायीले भरिने भएकाले बिहान ८ बजेपछि राति १० बजेसम्म सरसफाइ हुन्छ,” शाहले भने । काठमाडौं महानगरपालिकाका अनुसार महानगरबाट दैनिक संकलन हुने करिब ५ सय टन फोहोरमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी बजारबाटै संकलन हुन्छ । यस्तो फोहोरबाट प्राङ्गारिक मल बनाउन सकिने भए पनि फोहोर उत्पादक तथा संकलकले यसमा ध्यान दिएका छैनन् ।