site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दसैंपछि बढ्‍यो सुनचाँदी कारोबार, तिहारको चार दिनमा ७ अर्बको कारोबार

काठमाडौं । गएको दसैंपछि बजारमा सुनको कारोबार बढेको छ । व्यापारीहरुका अनुसार बजारमा चहलपहल बढेको छ । 

बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दसैंपछि सुनचाँदीको कारोबार बढेकाले व्यवसायी उत्साहित भएको बताए । “दसंैपछि सुनको कारोबार बढेको छ । नजिकै विवाहको समय आएकाले पनि हुन सक्छ, बजारमा चहलपहल बढेको छ । तिहारको चार दिनमा सुन व्यवसायी खुसी हुने गरी कारोबार भयो । गएकोे तिहारमा मात्र सात अर्ब बढीको कारोबार भएको छ, ” उनले भने 

देशभर रहेका करिब २२ हजार सुनचाँदी पसलबाट यो कारोबार भएको हो । पछिल्लो ५ महिनायता सुस्ताएको बजार तिहारमा फस्टाएपछि आगामी विवाहको लगनसँगै व्यवसाय बढ्नेमा व्यवसायी आशावादी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तिहारमा धनतेरसका दिन सबैभन्दा धेरै सुनचाँदीको कारोबार  हुने गरेको छ । यसदिन सुनचाँदीका गरगहना तथा भाँडा खरिद गरे लक्ष्मी माता खुसी खुसी हुन्छिन् भन्ने मान्यता छ, जसले गर्दा तिहारमा सुनचाँदीको कारोबार अन्य समयमा भन्दा धेरै हुने गरेको छ ।  । व्यवसायीका अनुसार यस समयमा सिक्री, सुन र चाँदीको सिक्का पैसा, बाला, चाँदीका अम्खराजस्ता सामानको किनबेच धेरै हुने गरेको छ  ।

तिहारमा उच्च व्यापार हुँदा सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँको हाराहारीमा थियो भने चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ थियो ।

महासंघका अनुसार गत वर्ष तिहारमा करिब ११ अर्ब बराबरको सुनचाँदीको व्यापार भएका थियो । नेपालमा वर्षभरि करिब ५० अर्बको सुनचाँदी कारोबार हुन्छ । कुल कारोबारको २० प्रतिशत तिहारकै समयमा हुने गरेको छ । 

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० देखि ५० किलोसम्म पुग्छ । मूूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा पुगेको र दैनिक करिब १० किलोको हाराहारीमा मात्र कारोबार हुने गरेको व्यवसायीहरु बताउँछन् ।

आजको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन (सोमबार) को तुलनामा आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आजको लागि छापावाला सुन प्रतितोला ७० हजार ८ सय, तेजावी सुन प्रतितोला ७० हजार ५ सय र चाँदी प्रतितोला ८६५ रुपैयाँ निर्धारण गरिएको छ  ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १३:४५
प्रतिक्रिया दिनुहोस्