site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भाइटीकापछि गोलभेंडाको मूल्य ४३ प्रतिशत वृद्धि, अधिकांश तरकारीको मूल्य सयभन्दा माथि 

काठमाडौं । सामान्यतयाः चाडपर्वको समयमा बजारमा वस्तुको माग धेरै हुने भएकाले मूल्य पनि बढ्ने गर्छ । माग घट्नेबित्तिकै मूल्य पनि स्वतः घट्छ । तर, तरकारीको हकमा भने चाडपर्वपछि पनि मूल्य बढ्ने क्रम रोकिएको छैन । 

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारपछि अधिकांश तरकारीको मूल्य वृद्धि भएको देखिएको छ ।  तिहारअघिको तुलनामा तिहारपछि गोलभेंडाको मूल्य ४३ प्रतिशत वृद्धि भएको छ । यस्तै, अन्य तरकारीको मूल्य पनि बढेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य वृद्धि हुनुको प्रमुख कारण आयात कमी हुनु बताउँदै आएको छ । तिहारपछि कतिपय तरकारीको मूल्य किलोमा ५० रुपैयाँसम्म वृद्धि भएको छ । भाइटीकाको दिन (कात्तिक १२ गते) को तुलनामा दोस्रो दिन सानो गोलभेंडाको औसत खुद्रा मूल्य प्रतिकिलो २८.५७ प्रतिशतले बढेको छ भने सानो टनेल गोंलभेडा प्रतिकिलो १७.३९ प्रतिशत, रातो आलु प्रतिकिलो २.७४ र भिण्डी प्रतिकिलो ८ प्रतिशत वृद्धि भएको छ । 

त्यसैगरी १२ गते र १४ गतेको तुलनामा नेपाली ठूलो गोलभेडाको औसत खुद्रा मूल्य ४३.४८ प्रतिशत,  ठूलो भारतीय गोलभेडा ४३.४८ प्रतिशत, सानो गोलभेडा १९.५ प्रतिशत, सानो टनेल गोलभेडा प्रतिकिलो ८.७०, रातो आलु २.७४, लोकल घिउ सिमी प्रतिकिलो २३.५३ प्रतिशत र घिउसिमी हाइब्रिड प्रतिकिलो २३.५३ प्रतिशत मूल्य वृद्धि भएको छ ।   

कालीमाटी तरकारी बजारमा तनहुँ, सिन्धुपाल्चोक, सर्लाहि, नुवाकोट, मकवानपुर, भक्तपुर, लतितपुर, झापा, गोरखा, दोलखा, चितवन, धादिङ, काभ्रेसँगै भारत र चीनबाट समेत तरकारी आयात हुने गरेको छ । 

आज (बिहीबार) भने कालीमाटी तरकारी बजारमा नेपाली गोलभेडा र ठूलो भारतीय गोलभेडा प्रतिकिलो १७०, सानो गोलभेडा र सानो टनेल गोलभेडा प्रतिकिलो १३०, रातो आलु प्रतिकिलो ८०, भारतीय रातो आलु प्रतिकिलो ५०, सुकेको प्याज प्रतिकिलो ११०, लोकल गाजर प्रतिकिलो १८०, लोकल बन्दा प्रतिकिलो ७०, लोकल काउली प्रतिकिलो १५०, लोकल मूला प्रतिकिलो ७०, भेन्टा  प्रतिकिलो ८०, सिमी प्रतिकिलो ११०,  तिले करेला र परवल प्रतिकिलो १३० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी लौका प्रतिकिलो ९०, पाकेको फर्सी प्रतिकिलो ६०, हरियो डल्ले फर्सी प्रतिकिलो ८०, भिण्डी  प्रतिकिलो १३०, स्कुस प्रतिकिलो ४०, रायोको साग प्रतिकिलो १२०, पालुँगो, मेथी र चमसुरको साग प्रतिकिलो १४०, तोरीको साग प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो २००, च्याउ (कन्य) प्रतिकिलो २००, डल्ले च्याउ प्रतिकिलो ५३०, चुकुन्दर प्रतिकिलो ११०, जिरीको साग प्रतिकिलो १७० रुपैयाँ रहेको छ । 

कालीमाटीमा आजको लागि निर्धारण गरिएको अधिकांश तरकारीको मूल्य एक सय रुपैयाँ भन्दा माछि छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १३:५७
प्रतिक्रिया दिनुहोस्