site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतीय फूलका माला कालिमाटीमा, नेपाली पुष्प व्यवसायी आन्दोलित 

काठमाडौं । भारतबाट आयातीत २० ट्रक माला (सयपत्री) कालीमाटी बजारमा बेच्न सुरु गरिएको छ । चार दिन अघि बालाजु औद्योगिक क्षेत्रमा स्टोर गरिएको माला आजबाट बेच्न सुरु गरिएको हो । कालीमाटी बजारमा प्रतिगोटा मालाको होलसेल मूल्य एक सय रुपैयाँ छ ।

भारतीय माला आएसँगै नेपाली  पुष्प व्यवसायीहरु भने आन्दोलनमा उत्रिएका छन् । भारतबाट आयातीत फूल अबैध भएकाले बजारमा सस्तो पर्ने भएकाले नेपालमा उत्पादित फूलले बजार नपाउँने भन्दै व्यसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच फ्लोरी कल्चर एशोसीएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठले अबैद्य तरिकारले आएको फूलबारे  सरकारी निकायससँग आग्रह गर्दा कुनै चासो नदेखाएका बताए । “सरोकारवाला निकायसँग आग्रह गरेका हौं । तर कसैले चासो देखाएन । त्यसैले पुष्प व्यवसायीहरुको अधिकारीका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हो,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्लान्ट क्वारेन्टाइन विभाग, राजश्व तथा अनुसन्धान विभाग, भन्सार विभाग, बाणिज्य विभागलाई पत्राचार गर्दा पनि कुनै पनि निकायले छानविन नगरेको श्रेष्ठको गुनासो छ । 

“किसानले उत्पादन गरेका फूल बजारमा जान पाउनु पर्छ भन्ने हाम्रो माग हो,” यस्तै, अबस्था रहे पुष्प व्यवसाय  गर्नुको औचित्य छैन,” उनले भने ।  

यता कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने भारतबाट आयातीत फूल अबैध नभएको बताएको छ । बैद्य अबैद्य जाँचबुझ गर्ने धेरै निकाय भएकाले आँखा छलेर ल्याउन सम्भव नहुने समितिको भनाइ छ ।  

कालिमाटीका व्यवसायी दीपकप्रसाद पौडेलले भारतबाट आयादित फूल अवैद्य नभएको बताउँछन् । “व्यवसाय गर्न सबैले पाइन्छ । सबै आयातीत फूलको कागजात तथा खरिद र बिक्री दुबै बिल हामीसँग छ,” उनले भने । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ०९:५०
प्रतिक्रिया दिनुहोस्