काठमाडौं । तरकारीको मूल्य बढ्न सुरु भएको झन्डै ६ महिना भइसक्यो । ठूला चाडमध्येका तिज, दसैंमा पनि उपभोक्ता महँगो तरकारी खान नै बाध्य भए । नजिकै आउँदै गरेको तिहारमा पनि तरकारीको मूल्य घट्ने छनक देखिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारका बजार सञ्चालन अधिकारी मनोज धितालले बजारमा तरकारीको आपूर्ति नै कम भएकाले मूल्य बढेको बताए । “बजारमा तरकारीको आयात नै कम छ, आयात कम भएकाले मूल्य बढेको हो । आयात धेरै भएको दिन मूल्य पनि घटेको छ,” उनले भने ।
भारतबाट काठमाडौं उपत्यकामा दैनिक करिब ८ सय टन तरकारी आयात हुने गरेको छ । आयात धेरै भएको दिन तरकारीको मूल्य घट्ने गरेको छ भने आयात कम हुँदा मूल्य वृद्धि हुने गरेको छ । भन्सारमा विषादी परीक्षण सुरु हुँदा र तराईमा गएको बाढीपहिरोका नाममा गत वैशाख १७ बाट तरकारीको मूल्य बढ्न थालेको थियो । त्यसयता बीचमा केहीपटक घटेपनि निरन्तर मूल्य बढ्ने क्रममै छ ।
कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गएको वैशाख १६ गते अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको ठूलो नेपाली गोलभेँडा भोलिपल्टै प्रतिकिलो २० रुपैयाँ बढेर प्रतिकिलो ९० रुपैयाँ पुगेको थियो । त्यो समय हरेक तरकारीको मूल्य अकासिएको थियो ।
वैशाख र जेठमा विषादी परीक्षण, असार र साउनमा बाढीपहिरोका कारण आयात कम भएर मूल्य वृद्धि भएको बताएको कालीमाटी बजारले त्यसयता आयात कम भएर मूल्य वृद्धि भएको दाबी गरेको छ ।
सञ्चालक धिताल भन्छन्, “अहिलेको कारण पनि त्यही हो । वर्षाको कारण समयमा तरकारी लगाउन सकिएन । भएको तरकारी पनि कुहियो, अहिले नेपाल र भारतमै पनि तरकारी उत्पादन कम भएको छ । आयात धेरै भएको समयमा मूल्य घट्छ, कम हुँदा बढ्छ ।”
धितालका अनुसार यही कात्तिक महिनाकै तथ्याङ्क हेर्ने हो भने पनि तरकारी आयातमा घटबढ भएको छ । काठमाडौं उपत्यकामा भारतबाट दैनिक करिब ८ सय टन तरकारी आयात हुने गरेको छ । तर, कात्तिकको पहिलो दिन ८ सय ३८ टन आयात भएको तरकारी त्यसपछि भने क्रमशः घटेको छ । दोस्रो दिन ७४५ टन, तेस्रो दिन ६५६ टन, चौथो दिन ७४६ टन, पाँचौ दिन ६९८ टन र छैटौं दिन ४०९ टन तरकारी आयात भएको छ । तरकारी आयात बढी आएको दिन बजारमा मूल्य पनि कम भएको सञ्चालक धितालको दाबी छ ।
कहाँबाट कति हुन्छ तरकारी आयात ?
कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार कलीमाटी तरकारी बजारमा तनहुँ, सिन्धुपाल्चोक, सर्लाहि, नुवाकोट, मकवानपुर, भक्तपुर, लतितपुर, काठमाडौ, झापा, गोरखा, दोलखा, चितवन, धादिङ, काभ्रेसँगै भारत र चीनबाट समेत तरकारी आयात हुने गरेको छ ।
आर्थिक वर्ष २०७३–०७४ मा कुल २ लाख ४९ हजार २ सय टन तरकारी काठमाडौँ उपत्यकामा भित्रिएकोमा ४४ प्रतिशत ७३५ तरकारी भारतबाट आएको थियो । जसअनुसार भारतबाट कुल १ लाख ११ हजार ३ सय ९२ टन तरकारी भित्रिएको थियो । यसैगरी आर्थिक वर्ष २०७४–०७५ मा कालीमाटीमा २ लाख २७ हजार ६४५ टन तरकारी मध्ये भारतबाट ४४ प्रतिशत तरकारी आयात भएको थियो भने चीनबाट ०.४३ प्रतिशत तरकारी आयात भएको थियो ।
त्यसैगरी, धादिङबाट ९.८० प्रतिशत, काभ्रेबाट १०.७४ प्रतिशत, तनहँुबाट ०.४६ प्रतिशत, सिन्धुपाल्चोकबाट १.५६ प्रतिशत, सर्लाहिबाट ३.८८ प्रतिशत, नुवाकोटबाट १.६७ प्रतिशत, पर्साबाट ०.५३ प्रतिशत तरकारी आयात भएको थियो ।
त्यसैगरी मकवानपुरबाट ६.८५ प्रतिशत, ललितपुरबाट १.६१ प्रतिशत, भक्तपुरबाट ४.२२ प्रतिशत, काठमाडौबाट ३.५९ प्रतिशत, झापाबाट १.४२ प्रतिशत, गोरखाबाट ०.४० प्रतिशत, दोलखाबाट ०.७ प्रतिशत, चितवनबाट ५.२१ प्रतिशत र अन्य ठाउँबाट २.८३ प्रतिशत तरकारी आयात भएको थियो ।
तिहारपछि मूल्य घट्ने सम्भावना
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले तिहारपछि तरकारीको मूल्य घट्ने सम्भावना रहेको बताएको छ । तिहारपछि वा मंसिर सुरु भएसँगै बजारमा नयाँ उत्पादन भित्रिने भएकाले तरकारीको मूल्य घट्न सक्ने समितिको भनाइ छ । त्यो समय बजारमा नयाँ उत्पादनको रुपमा आलु तथा प्याज भित्रिने गरेको समितिले जनाएको छ ।