काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । विशेषतः तिहारमा फूल र भाइमसलाको बढी कारोबार हुन्छ । तिहारमा यो वर्ष फूलको मूल्य वृद्धि हुने भए पनि भाइमसलाको मूल्य भने नबढ्ने भएको छ । बाह्रखरीसँग कुरा गर्दै नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यो वर्ष तिहारमा भाइमसलाको मूल्य नबढ्ने बताए । तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला हो । तिहारमा यसकोे कारोबार करोडौंमा हुने गरेको छ ।
तिहारमा नरिवल, काजु, किसमिस, पेस्ता, बदाम, छोकडा, सुपारी, सिश्री, दालचिनीलगायतको सर्वाधिक व्यापार हुने गरेको छ । “उपभोक्ताले यो वर्ष गत वर्षकै मूल्यमा भाइमसला किन्न पाउनेछन् । मूल्य बढेको छैन । तर सुकुमेल, ल्वाङ र मखनाको मूल्य भने केही वृद्धि भएको छ,” अध्यक्ष श्रेष्ठले भने
गत वर्ष प्रतिकिलो तीन हजार रहेको सुकुमेल यो वर्ष ५५ सय पुगेको छ । त्यसैगरी गतवर्षको तुलनामा ल्वाङ प्रतिकिलो ३ सय बढेको छ भने मखना प्रतिकिलो १५० रुपैयाँ बढेको छ । यी बाहेक अन्य मसलाको मूल्य वृद्धि नभएको श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार गतवर्ष काजु प्रतिकिलो १५ सय ५०, किसमिस प्रतिकिलो ५५०–६५० ( दुई प्रकारका किसमिस मध्ये हरियो सस्तो पर्छ भने रातो अलि महँगो) सम्म थियो । त्यससैगरी पेस्ता प्रतिकिलो १७ सय देखि १९ सय, नरिवल प्रतिकिलो ४ सय ८० देखि ५ सय रुपैयाँ, छोकडा प्रतिकिलो दुई सयदेखि दुई सय २० रुपैयाँ, आल्मण्ड प्रतिकिलो १३ सय देखि १५ सयसम्म, सुपारी प्रतिकिलो ६५०, ओखर ६२० र ७००, दालचिनी प्रतिकिलो ५५०, मिश्री प्रतिकिलो १८० देखि २२०, खुर्पानी प्रतिकिलो नौ सय, अलैची प्रतिकिलो १५ सय रुपैयाँ थियो भने यो तिहारमा पनि गतवर्षकै मूल्यमा मसला किन्न सकिने व्यापारीको भनाइ छ ।
नेपालमा उत्पादन हुने गरेको हाडे ओखर समेत विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । नेपालमा विशेषगरी, भारत, अमेरिका, अस्ट्रेलिया, साउदी, चीनलगायत देशबाट तिहारको लागि प्रयोग हुने भाइमसला आयात गरिन्छ ।
मालाको मूल्य बढ्यो
यसवर्ष फूल तथा मालाको मूल्य भने बढ्ने भएको छ । बाह्रखरीसँग कुरा गर्दै फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले गतवर्षको तुलनामा बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएको बताए । “गत वर्षको तुलनामा यो वर्ष फूल तथा मालामा मात्र होइन, बजारमा हरेक वस्तुको मूल्य वृद्धि भएको छ,” उनले भने ।
गतवर्षको तुलनामा फूलमा १२ देखि १५ प्रतिशत मूल्य वृद्धि भएको छ । जसले गर्दा उपभोक्ताले एक मिटरको मालाको (जहाँ ४० थुँगा हुन्छ) लागि उपभोक्ताले गुणस्तर हेरेर खुद्रा मूल्य एक सय रुपैयाँ सम्म तिर्नुपर्ने देखिएको छ । गत वर्ष एक मिटर मालाको मूल्य ६० देखि ८० रुपैयाँ थियो ।