site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गड्याम मान्छे !

शिव प्रकाश


टाढै बस

मान्छे हुँ, म पनि !  
छेऊ परे थाहा हुन्छ 
काखीको गन्ध र स्वासको दुर्गन्ध
अनुहार हैन,
मनको पोट्रेट कसले देखेको छ ?
मान्छेको मन अनुहारमा उत्रिनु हुँदैन
उत्रियो भने यो संसारमा मान्छे बाँकी रहँदैन
देखेर हैन, बेहोरेर चिनिन्छ गड्याम मान्छे !
मान्छे हुँ– त्यसैले तिम्रो मित्रु हुँ
मान्छे हुँ– त्यसैले तिम्रो शत्रु पनिहुँ
मान्छे नै हो मान्छेको परम मित्रु
मान्छे नै हो गड्याम मान्छेको परम शत्रु !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मान्छेले नै दिन्छ– 
मान्छेलाई आश र विश्वास 
मान्छेले नै दिन्छ– 
मान्छेलाई घात र सन्त्रास  
सबैभन्दा खुसी पनि मान्छेसँगै छ मान्छे
सबैभन्दा दुःखी पनि मान्छेसँगै छ गड्याम मान्छे ! 

मान्छे तिमी, 
प्रेम गर्न सिक
घृणाको जन्म त्यहीँबाट हुन्छ 
बाँकी सिक्नु पर्दैन 
प्रेमभन्दा घृणाको सम्बन्ध बलियो हुन्छ 
हेरेर हैन, भोगेर चिनिन्छ गड्याम मान्छे !
थाहा छ, 
असल हुन केहीगर्नु पर्दैन, खराब मात्र नगरे हुन्छ 
तर, ‘हुन’ सजिलो छैन, जति ‘देखिन’ छ 
के थाहा तिमीलाई 
असल देखिन कति कमसल किरिम पाउडर घसेको छ
राम्रो देखिन कति नराम्रा रङ्ग पोतेको छ
झन् राम्रो देखिन
आफ्नै अण्डकोषको माला भिरेर हिँडे्को छ गड्याम मान्छे ! 

मलाई थाहा छ– 
तिमीलाई असल हैन, राम्रो चाहिएको छ 
त्यसैले म– 
हुनचाहन्नँ देखिनमात्र चाहन्छु
कहिल्यै असल हैन, सधैं राम्रो
जे देखिन्छ त्यो हैन, 
जे देखिँदैन त्यहीहो गड्याम मान्छे  !
मान्छे भित्र कुमान्छे लुकाएर  
मान्छे भित्र मान्छेबिनाको मान्छे लिएर   
मान्छे भित्रको मान्छे मारेर मान्छे बनेर हिँड्ने
जुन मान्छे होइन, त्यही मान्छे हो गडड्याम मान्छे !

० ० ०

गड्याम समय !
एउटा समयको मृत्यु भैसकको छ
अर्को जन्मिन बाँकी छ 

तिमी भन्छौ– समयले जन्माउँछ 
म भन्छु– समयलाई जन्माउनु पर्छ ।
जब निश्चेतनालाई 
चेतनाले बारम्बार बलात्कार गर्छ  
एउटा समयको जन्म हुन्छ ।

तिमीतयार हुनुपर्छ बलात्कृत हुन
तिमीतयार हुनुपर्छ बलात्कार गर्न 
चेतना पनि तिमी हौ 
निश्चेतना पनि तिमी हौ 
तिमी नै तयार हुनुपर्छ समय जन्माउन ।
समयले जन्मएको हैन
सन्की आइन्सटाइन र न्युटन 
समयलाई जन्माएका हुन् 
सन्यासी बुद्ध र वयस्क विवेकानन्दहरुले 
बासी विचारहरुसँग सहवास गरेर सुतेनन्,
उन्माद चेतनाका भोका होमर र सोक्रेटिजहरु
नित्से, कन्फुसियस, भोल्टेयर र देवकोटाहरु
एकलेक्जेन्डर, गान्धी, माक्र्स र मन्डेलाहरु
समयको अर्को टुक्रा जन्माउन
भोकसँग प्रेम गरेर बाँचिरहेका छन्–
पागल गोविन्द केसीहरु ।
जब अन्धकारलाई उज्यालोले बलात्कार गर्छ 
तब एउटा समयको जन्म हुन्छ  । 
जबदा भिन्चीको गाढा चेतनाले
एउटा भर्जिन क्यान्भसको अस्मिता लुट्छ
मोनालिसाका ओठमाकामुक मुस्कानको जन्म हुन्छ 
एकटुक्रा समय हो– मोनालिसा
जब पिकासोको उन्माद चैतन्यले फेरि बलात्कार गर्छ
समयले आँखाखोल्छ– 
यौनाङ्गमा आफ्नै आँखा उम्रिएको देख्छ
त्यहाँ समयको अर्को टुक्रा फेरि जन्मिन्छ– ब्लू पिरियड !
जब कथित मान्यताहरुको मृत अस्तित्व लुटिन्छ
त्यहाँ फेरि एउटा समयको जन्म हुन्छ । 
दिनर रात ! 
भोका र भोगीहरुको पाठशाला मात्रहो  
दिनको अँध्यारोमा मानिसहरु
भोकका पाठहरु घोक्छन्
रातको उज्यालोमा भोगका परीक्षाहरु दिन्छन् 
अनुत्तीर्णहरु समयलाई दोषी ठान्छन् 
तर धरतीअहिले 
समयविहीन टुहुरो बाँचेको छ   
तिमी भन्छौ– समय आउँछ
म भन्छु– समय कहिल्यै आउँदैन, सधैं जान्छ
तिमीजस्तै, तिमीसँगै गइरहन्छ 
तिमीआएका छैनौ
तर सधैं गइरहेका छौ, निरन्तर गइरहेका छौ
तिमीत्यही ‘इलुजन’को आशमा छौ
म मेरो विश्वासमा छु ।

त्यसैले आज जन्मियो– 
गड्याम बलात्कारी यो कविता
र, यो पनि सानो एक टुक्रो समय हो !
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्