site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रिटिङ रिटिङ नबजाउ बिनायो’ का गायक सम्मानित

विराटनगर । शिक्षासेवी सीएम कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट दुईजना स्रष्टा पुरस्कृत भएका छन् ।
 
मोरङको पथरीस्थित एभरेष्ट अंग्रेजी आवासीय मावि स्थापना गरेर शिक्षा सेवामा लागेका कन्दङ्वाको स्मृतिमा स्थापित पुरस्कारबाट वरिष्ठ लोकगायक एलपी जोशी र युवा साहित्यकार धनकुटे कान्छा (शंकर चापागाईं) पुरस्कृत भएका हुन् । ५० हजार राशिको ‘सीएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार’ जोशीलाई समर्पण गरियो । 

त्यस्तै ३५ हजार राशिको ‘सीएम कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कार’  धनकुटेलाई प्रदान गरिएको थियो । जोशी र धनकुटेलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र स्मृति कोषका अध्यक्ष रविन कन्दङ्वाले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जोशी ६ दशकभन्दा लामो समयदेखि लोकगायनमा सक्रिय छन् भने धनकुटे दुई दशकदेखि नेपाली भाषा साहित्यमा सक्रिय छन् । कन्दङ्वाले पथरीक्षेत्र पहिलो अंग्रेजी विद्यालयका रुपमा २०४३ सालमा एभरेष्ट अंग्रेजी आवासीय मावि स्थापना गरेका थिए । कन्दङ्वाले शिक्षासँगै राजनीति, साहित्य र संगीतको समेत सेवा गरेका थिए । 

उनको २०६२ सालमा निधन भएको थियो । कन्दङ्वाको निधनपछि परिवारका सदस्यले कोष स्थापना गरेर स्रष्टा सम्मान र साहित्यिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा कवि बद्री भिखारी, सुमन पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, देवान किराती, रमेश सायन, विवश बलिभद्र कोइराला, सुमिता वाङ्देल चेली, सरला चापागाईंलगायतले प्रतिनिधि सिर्जना प्रस्तुत गरे । 

त्यस्तै कुलपति उप्रेती, वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ समालोचक दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने शिक्षासेवी कन्दङ्वाको साहित्य, संगीत र राजनीतिक व्यक्तित्वका विषयमा चर्चा गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्