
काठमाडौं । केही वर्षयता आफ्ना पुस्तकमार्फत ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन् । पब्लिकेसन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईको आगामी पुस्तकको नाम ‘वरिपरि नै सर्वोपरि’ रहेको छ ।
संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेसन्समार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुईवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ प्रकाशन गरेका थिए ।
प्रसाई अमेरिकामा स्वास्थ्य सम्बन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् । उनले दुई दशकभन्दा बढी समयदिखी जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन् । प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन् ।
यसअघिको पुस्तकहरुमा खानपान र स्वस्थ्य जीवनशैली सिकाउने प्रसाईले अबको पुस्तकमा भने पाठकहरुलाई हामी र हाम्रा वरपरको प्रकृतिबारे वर्णन गर्नेछन् । उनको मन्त्र हुनेछ ;
जोगाएर राखौँ - हावामा अक्सिजन, जमिनमाथि वनस्पति, जमिनमुनि पानी, किनकि यीनैमा टिकेको हुन्छ हामी सबैको जिन्दगानी ।
पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शीर्षक र उपशीर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् ।
हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यीनको बेलैमा संरक्षण गरिएन भने आगामी पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।
प्रकृतिले हामीलाई दिएको अक्सिजनकै कुराकानी गर्दा उनी यो कसरी उत्पादन हुन्छ भन्ने देखि लिएर कस्तो किसिमको पानीमा कति मात्रामा अक्सिजन पाइन्छ जस्तो जानकारी पनि उनले उल्लेख गरेका छन् । पृथ्वीले पाइरहेको कुल अक्सिजन मध्ये दुइ तिहाइभन्दा बढी सुक्ष्म जीवहरुले उत्पादन गरिरहेको उनी बताउँछन् ।