
काठमाडौं । नेपाली रंगमञ्च, कला-हास्य व्यङ्ग्य र गीतसंगीतका क्षेत्रमा बितेको पाँच दशकभन्दा लामो समयदेखि समर्पित मदनकृष्ण श्रेष्ठलाई ‘रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान-२०७६’ समर्पण गर्ने निर्णय रेडियो अन्नपूर्ण नेपालको व्यवस्थापन समितिले गरेको छ ।
रंगमञ्च, कला-हास्य व्यङ्ग्य, गीतसंगीत र लेखनका क्षेत्रमा श्रेष्ठले पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै नगद राशी पचास हजारसहित सो सम्मान श्रेष्ठमा समर्पण गर्न लागिएको रेडियोले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
रेडियो अन्नपूर्ण नेपालको पाँचौ वार्षिकोत्सवका अवसरमा जेठ १४ गते एक विशेष कार्यक्रममा सो सम्मान अर्पण गरिने जानकारी दिइएको छ ।
२०७५ सालबाट समर्पण गर्न थालिएको यो सम्मान यस अघि पहिलो पटक नेपाली एवं नेवारी गीतसङ्गीतको श्रीवृद्धिमा योगदान दिए वापत गीत संगीतका वरिष्ठ साधक योगश वैद्यमा समर्पण गरिएको थियो ।