
काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ जेठ ३ गते रिलिज हुँदा सोही मितिमा अर्को चलचित्र पनि रिलिज हुँदैछ । चलचित्र ‘वीर विक्रम–२’ पनि सोही दिन रिलिज हुनेछ ।
निर्देशक प्रदीप भट्टराईले चलचित्र ‘जात्रै जात्रा’लाई निर्देशन गरेका छन् भने ‘वीर विक्रम–२’लाई मिलन चाम्सले निर्देशन गरेका छन् । ‘जात्रा’को सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्माण गरिएको हो । यो चलचित्रमा अघिल्लो सिरिजमा विपिन कार्की, रिविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतले निरन्तरता पाएका छन् भने सिक्वेलमा आइपुग्दा दयाहाङ राई थपिएका छन् ।
‘जात्रा’मा भेटिएको पैसा पुलिसलाई बुझाउँदा तीन करोडमा दुई करोड ८० लाख रुपैयाँ नक्कली भेटिएपछि त्यसको जिज्ञासा मेटाउन सिक्वेल बनेको हो ।
यता, मिलन चाम्सले अघिल्लो सिरिजमा रुचाइएको लभ स्टोरी चलचित्र ‘वीर विक्रम–२’ बनाएका हुन् । पल शाह, निरज हुसेन, वर्षा शिवाकोटी, बुद्धी तामाङ लगायत कलाकारलाई लिएर उनले ‘वीर विक्रम–२’ बनाएका हुन् । ‘वीर विक्रम’मा रहेका दयाहाङ राई, दिया पुन, अनुपविक्रम शाही, अपर्ण थापा यो पटक यसको सिरिजमा देखिँदै छैनन् ।
‘वीर विक्रम’मा देखिएका दयाहाङलाई यो पटक भने सोही दिन रिलिज हुने चलचित्र ‘जात्रै जात्रा’मा दर्शकले देख्न सक्नेछन् ।