
काठमाडौं । प्रशिद्ध गायक दीपक खरेलको स्वरमा सजिएको सात गीतहरूको सङगालो ‘माई म्युजिकल ओडिसी’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उपस्थित अतिथि तथा पत्रकारले सो गीति एलबमको संयुक्तरुपमा विमोचन गरे ।
उक्त अवसरमा गायक दीपक खरेलले गीत संगीतको यात्रामा आफूलाई स्रोताहरूले असीमित माया दिएको बताउँदै स्रोताका लागि चौधौं कोसेली ‘माई म्युजिकल ओडिसी’का रुपमा प्रस्तुत गरेको बताए । सार्वजनिक गरिएको गीति संग्रहमा कुल सात वटा गीत र गजलहरू समाबेस छ ।
कार्यक्रममा गीतकार राजेन्द्र रिजालले दीपक खरेलसंगको चालीस वर्ष पुरानो सांगीतिक सम्वन्धको चर्चा गरे । डा. सनतकुमार वस्तीले गायक खरेलको गायकीको चर्चा गर्दै दीपकद्वारा गाइएका गीत शाब्दिक दृष्टिकोणबाट गहन र गम्भीर रहेको बताए ।
कार्यक्रममा गीतकार विजय शिवाकोटीले पनि बोलेका थिए । शिला खरेलद्वारा प्रस्तुत ‘माई म्युजिकल ओडिसी’मा राजेन्द्र रिजाल, रवि प्राञ्जल, नरेन्द्रराज प्रसाई, प्रकाश सायमी, डा. सनतकुमार वस्ती र शिला खरेलका गीत तथा गजलहरु समाविष्ट छन् ।
उक्त गीतहरूमा हरि लम्साल, किरण श्रेष्ठ, प्रविण बराईली र मनमोहन थपलियाले संगीत दिएका छन् ।