
काठमाडौं । संगीतकार बिजू बज्राचार्यको निधन भएको छ । आइतबार काठमाडौंको सिभिल हस्पिटलमा उनको निधन भएको हो । गुल्मीमा जन्मिएका उनी लामो समयदेखि मुटुका बिरामी थिए । ह्रदयघात भएपछि उनलाई सिभिल हस्पिटल पुर्याइएको थियो ।
कर्णदासको विस्तारै छायो आँखामा अध्यारो..., सुगम पोखरेलको तिमीभन्दा कोषौं टाढा..., फत्तेमान राजभण्डारीको झरी परिरह्यो मनमा थामिदैन मन..., रेश्मा सुनुवारको मै ठुली भै छु रे..., युवराज चौंलागाईंको साँझपख जब सम्झनामा..., आगन्तुक खरेलको कुन रङ्गको कम थियो र... लगायतका दर्जनौं लाकप्रिय गीतमा उनले संगीत भरेका छन् ।
“हरेक प्रकारका गीतमा उहाँ (बिजू बज्र)ले संगीत भर्नु भएको छ,” विजूसँग लामो समय काम गरेका गायक युवराज चौलागाईं भन्छन्, “गीतको शब्द पढ्न वित्तिकै त्यसमा कस्तो संगीत भर्नुपर्छ भन्ने उहाँलाई तत्काल थाहा हुन्थ्यो । निकै थोरै व्यक्तिमा मात्रै यस्तो प्रतिभा हुन्छ । उहाँ जस्तो कुशल संगीतकार पाउन निकै कठिन छ ।”
“आफूभन्दा पछिल्लो पुस्तालाई सहयोग गर्ने र मिलनसार हुनुहुन्थ्यो,” गायिका मञ्जु पौडेल भन्छिन्, “सांगीतिक क्षेत्रले एक असल संगीतकार गुमाएको छ ।” बज्र क्रिएशन स्टुडियो स‘चालन गर्दै आएका थिए ।