
काठमाडौं । भारतको टेलिविजÞन च्यानल जीटीभीको बाल रियालिटि शो सारेगमपा लिटिल च्याम्प्स–२०१९को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य उत्कृष्ठ १० लागि प्रतिस्पर्धा गर्दैछन् ।
आज (शनिवार) र भोलि र (आइतबार) प्रसारण हुने प्रस्तुतिलाई कार्यक्रमका जज र जुरीहरूले मन पराएको प्रोमो सार्वजनिक भएको छ । अतिथि जजका रुपमा आएकी नेहा भासिनले आयुषको प्रस्तुतिलाइ मुक्त कण्ठले प्रसंशा गर्दै अद्भुतप्रस्तुति भनेकी छन् ।
१२ वर्षिय आयुष केसी दुई वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए । उनी ५ वर्ष देखि संगीत सिक्दै आएका छन् । आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन् । जुनियर आइडल भएपछि उनले गीत पनि रेकर्ड गराईसकेका छन् ।
यही रियालिटी कार्यक्रममा इटहरीका अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन् । यो यात्रामा पुग्नु अघि आयुष केसी र प्रीतम आचार्यले धेरै चरण पार गरिसकेका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो ।
दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउन्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउन्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन् । अहिले दुवै जना टप १० को भिड़न्तमा छन् । भारतभरका २० हजारभन्दा बढि बाल प्रतिभालाई उछिन्दै उनीहरू यस चरणमा पुगेका हुन् ।