site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विदेश भनेको जिन्दगीलाई शून्यबाट शुरु गर्नु हो

– सानु घिमिरे ज्योत्सना


केही वर्षयता नेपाली साहित्य बजारमा आख्यान विधाले एकलौटीजस्तै हस्तक्षेप गरिरहेछ । त्यस सँगसँगै डायस्पोराले पनि नेपाली साहित्यमा योगदान दिइरहेको छ । एक दशकदेखि अस्ट्रेलिया बसिरहेकी सानु घिमिरे ज्योत्सना नेपाली आख्यान संसारमा नयाँ नाम हो । आज (शनिबार) उनको पहिलो उपन्यास ‘सिड्नी सपना’ सार्वजनिक हुँदै छ । सांग्रिला बुक्सले ल्याएको यो पुस्तकले अस्ट्रेलियामा बसोबासरत नेपालीको जीवनगाथा बोल्ने प्रयास गरेको छ । यही पुस्तकको सेरोफेरोमा रहेर सानुसँग गरिएको कुराकानीः

१) ‘सिड्नी सपना’ शीर्षक सुन्दा नै अस्ट्रेलिया जान सपना देख्ने नेपालीहरूको कथा हो जस्तो लाग्छ । त्यस्तै हो ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हो । अस्ट्रेलिया आउन चाहने वा अस्ट्रेलिया आएका युवा–युवतीहरूको सपनाको कथा हो यो । सपना किन देखिन्छ ? जानेर देखिन्छ कि अञ्जानमा देखिन्छ ? कि हामीलाई देश छोड्ने सपना देख्न बाध्य गराउने तत्वहरू हाम्रै देशमा छन् ? सपनाको जञ्जालमा फसेपछि हाम्रो जिन्दगीमा प्रगतिमात्र हुन्छ कि चुनौती पनि थपिन्छ ? के सपनाले गलाएको मान्छे फेरि कहिल्यै सपना देख्दैन ? यस्तै–यस्तै सपनाका कथाहरू छन् ‘सिड्नी सपना’मा ।

२) नेपालीले नेपालबाट देखेजस्तो छैन विदेश । त्यहीँ पुग्दा कस्तो देखिन्छ विदेश ?

मलाई स्कुल पढ्दा विदेश भनेको तारानाथ शर्माज्यूले ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तकमा वर्णन गर्नुभए जस्तो थ्रिलिङ र रोचक होला जस्तो लाग्थ्यो । तर, यहाँ आएपछि थाहा भयो—विदेश भनेको जिन्दगीलाई शून्यबाट शुरु गर्नु रहेछ । आफूले वर्षौं वर्ष लगाएर बनाएको प्रतिष्ठा सबै नेपालमै छोड्नु पर्ने अनि सम्झौतै–सम्झौता गरेर फेरि आफ्नो पहिचान बनाउनु पर्ने ठाउँ रहेछ ।

३) तपाईं कविता, गीत–गजल लेख्ने मान्छे । आख्यानको रस कसरी पस्यो ? आफूले भन्न खोजेको कुरा कविता, गीत–गजलमा अभिव्यक्त गर्न नसकेर ?

म कविता लेख्थें, अहिले पनि लेख्छु । मेरो कविता संग्रह ‘ग्रहण’ सन् २०१३ मा प्रकाशित भइसकेको छ । गजल मैले एक–दुई वटा लेख्ने प्रयास गरें तर कहिल्यै जानिनँ अथवा रस लागेन । म अस्ट्रेलिया आएपछि मैले सोचेको अस्ट्रेलिया र बाँचेको अस्ट्रेलियामा आकाश–जमिनको फरक पाएँ । लेखनमा रुचि भएको हुँदा मलाई लाग्यो— मैले आफू बाँचेको समयको एउटा चित्र लेख्नुपर्छ । एउटा निश्चित समयको चित्र कवितामा व्यक्त गर्ने शिल्प मसँग थिएन । अतः आख्यानले मलाई त्यो सुविधा दियो र मैले उपन्यास लेखें ।

४) विदेशमा बसेर नेपाली साहित्य लेख्नु कत्तिको सहज छ ?

विदेश पुगेपछि शुरुका दिनमा मान्छेको छातीभित्र भुइँचालो जान्छ । नोस्टाल्जियाले धेरै सताउँछ । मान्छे जति दुख्छ, त्यति भावुक हुन्छ । ती दुखाइहरू व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम भनेको एउटा रुनु हो र अर्को लेख्नु हो । यहाँ धेरै व्यक्तिहरूको शारीरिक श्रमको काम हुने हुँदा शरीर त्यसै थाकेको हुन्छ । त्यसमाथि घरको काम, भिजाको झन्झट आदिले गर्दा लेख्ने समय छुट्याउन गाह्रो हुँदो रहेछ । त्यही पनि मलाई कस्तो लाग्छ भने— लेख्नु, गाउनु अथवा चित्र बनाउनु आदि कुराहरू हामी नेपालीहरूको शोखको विषय बनेको छ । पेशा बन्न खासै सकेको छैन । शोख पूरा गर्न मान्छेले जसरी भए पनि समय निकाल्छ । नेपाल र विदेशमा बस्नुले यसमा खासै फरक पार्दैन ।

५) विदेशमा लेख्नु त गाह्रो छ नै, साहित्यको बजारचाहिँ कस्तो छ ?

साहित्यको बजारको बारेमा मलाई ज्ञान छैन । यो बजारमा म आफ्नै ब्रान्ड लिएर आइपुगेको व्यक्ति हुँ । हेरौं, यो बजारले मलाई कस्तो ज्ञान र पाठ सिकाउँछ । यसो हेर्दा नेपाली साहित्यको बजार फैलिएर विदेशसम्म पुगेको छ । जहाँ–जहाँ नेपालीहरू छन्, त्यहाँ–त्यहाँ नेपाली साहित्यले राम्रो बजार पाएको छ । अन्तर्राष्ट्रिय बजारसम्म पुग्न भने अब हामीजस्ता युवाहरू नै योजनाबद्ध तरिकाले अगाडि आउनुपर्छ । जबसम्म नेपाली साहित्य अंग्रेजी वा अन्य भाषामा आउँदैन, तबसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रो उपस्थिति जनाउन सकिँदैन ।

६) तपाईं ओशो दर्शनबाट प्रभावित मान्छे हुनुहुन्छ । साहित्य लेखनमा ध्यानले कति सघाउँदो रहेछ ?

मलाई ध्यान गर्नु र लेख्नु उस्तै–उस्तै जस्तो लाग्छ । ओशोको केही ध्यानहरूमा शुरुको चरणमा क्याथार्सिस हुन्छ, त्यसपछि मौनमा पुगिन्छ, ध्यान लाग्छ र ‘ब्लिस’को अनुभूति हुन्छ । लेख्दा पनि मलाई मनका सारा आवेगहरू अक्षर भएर निस्किएजस्तो हुन्छ, अनि बिस्तारै हलुका महसुस हुन्छ । ध्यानले मान्छेलाई आफ्नो केन्द्रमा बस्न र आफैंसँग खुशी खोज्न सघाउँछ । ध्यानले गर्दा पनि मैले जिन्दगीमा स्पष्टता पाएँ । म केमा खुशी हुन्छु भन्ने कुरा पत्ता लगाएँ । ध्यानले मेरो लेखनमा र सारा व्यक्तित्वमा ऊर्जा थपेको छ जस्तो लाग्छ ।

७) तपाईं साहित्य कसका लागि लेख्नुहुन्छ ?

पहिलो कुरा त म साहित्य मेरै लागि लेख्छु । किनभने, लेखेपछि मलाई ध्यान गरेर निस्किएजस्तै मजा आउँछ । तर, साहित्य लेखन गर्दै जाँदा मेरा अगाडि केही जिम्मेवारीहरू पनि आए । मैले जानेर, नजानेर कतिपय ठाउँमा अस्ट्रेलियाली नेपाली साहित्यको प्रतिनिधित्व गर्ने अवस्था आयो । त्यसपछि म जिम्मेवारीबोधले पनि लेख्न थालें । यतिबेला मेरो उपन्यास ‘सिड्नी सपना’ पनि मेरो जिम्मेवारीबोधले लेखिएको साहित्य हो । अस्ट्रेलिया कस्तो छ ? कम्तिमा अस्ट्रेलियामा भएका छोराछोरीका आमाबाबुहरूले थाहा पाउनुपर्छ । अस्ट्रेलिया वा अन्य विकसित मुलुक जान चाहने नेपाली युवाहरूले बुझ्नुपर्छ । यो कुरा म एउटा लेख अथवा कवितामार्फत आम मानिसमा व्यक्त गर्न सक्दिनथें । त्यही भएर मैले पुस्तकमार्फत भनें ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०९:४५
प्रतिक्रिया दिनुहोस्