site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
समीक्षा: ‘झिल्का’ कविताको प्रकाश

– डा. राम्जी तिमल्सिना


सानो आकारको सिर्जनामा कसरी ठूलो आयामको विषय अन्तर्निहित हुन सक्छ ? जवाफ हो— बिम्बात्मक कवितामा जस्तै । यसको उदाहरण बन्न सक्ने नेपाली भाषाको पछिल्लो कृति हो महेश पौड्यालको ‘झिल्का’ कविताहरूको सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ (२०७५) ।

लघुकथालाई अङ्ग्रेजीमा ‘फ्ल्यास फिक्सन’ भनिएजस्तै पौड्यालका यस सङ्ग्रहका कविता ‘फ्ल्यास पोएट्री’ वा ‘झिल्का कविता’ हुन् । झिल्को नबचे आगोको विशालताको प्रारम्भ नै सकिन्छ । आगोबिनाको संसारमा पानीको साम्राज्य त चल्ला तर सृष्टिको सौन्दर्य कति रहला ? समाजमा पनि कुनै वैचारिक उद्वेलनबिनै जीवन त चल्ला, चलेकै पनि हो । तर, त्यस्तो जीवनले सभ्यतामा कस्तो उभार ल्याउला ? विचारका झिल्काहरूबाट शुरु हुने सभ्यताको चिन्तन यात्रामा यहाँसम्म आइपुुग्दा हामीले प्राप्त गरेका उपलब्धिहरू र तिनको रक्षाका लागि अबको मानवले गर्नुपर्ने कर्तव्यको निर्वाहमाथि ध्यानमग्न सर्जकका विम्बात्मक अभिव्यक्तिहरूले बनेका छन् पौड्यालका यी कविता ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आगो बलेको ठाउँमा पानी सुक्छ नै । तर, साहित्य यस्तो क्षेत्र हो, जहाँ आगो र पानी वा चिन्तन र भावना अङ्कमाल गरिरहन्छन् । यसो गर्न–गराउन सकेर मात्र साहित्यिक गुण प्राप्त गर्छ कुनै पनि लेखनले । यसको उदाहरण हो ‘सिमाना’ शीर्षकको कविता । कथात्मक शैलीमा लेखिएको यो कवितामा युवा र वृद्धबीचको संवाद छ । स्थान हो— भारत र पाकिस्तानको सिमाना, बाघा । ती वृद्ध त्यहाँ कागज जलाइरहेका छन् । युवा प्रश्न गर्छ, “बा, भारत–पाक सिमाना कहाँ पर्छ ?” प्रश्न सामान्य लाग्छ । तर, यसले जन्माएको वातावरण र त्यसमा कविले सिर्जना गरेको उत्तर विश्व इतिहासभरिका सम्पूर्ण सिमानाका लागि गरिएका युद्धहरूको कारण र तिनले पारेका चीरस्थायी प्रभावहरूको साझा चित्रण हो—

उनी मतिर फर्किए, गम्भीर भए
र, दाहिने हातको माझ औंलो
मेरो छातीमा राखेर भने, “यहाँ !”

वृद्धले युवाको छातीमा आफ्नो औंलो राखेका छन्; त्यही पनि माझ औंलो, हातको सबभन्दा लामो औंलो । हात पनि दाहिने ! हतियार समाउने हात । मुटुभन्दा परको हात । यी सबै छनोट प्रतीकात्मक छन् ।

सबै युद्धहरू आवेगका परिणति हुन् । युवाको छाती त्यस्ता आवेगको ज्वालामुखी ! वयस्कहरू आफ्नो भोगाइले युद्धको कारण र परिणामबारेमा त जानकार हुन्छन् तर त्यो युवा आवेगलाई रोक्न सक्दैनन् । बरु कति त शासक बन्ने ध्याउन्नमा त्यसको दुुरुपयोग पो गर्छन् । संसारका सबै हिंसाको कारण यही हो । मानवताको सङ्कटको शुरुआत यहीँबाट हुन्छ । छातीमा प्रेम बोक्ने मान्छे कविता लेख्छ, युद्ध गर्दैन, सिर्जनामा डट्छ, विनाशमा लाग्दैन । तर, अचेल हाम्रा छातीमा यस्तो भावना कति बाँकी छ ?

छातीभित्रै सिमाना तोकेर म र अरूको बीचमा रेखा कोर्ने राष्ट्र«, भाषा, धर्म र वाद जस्ता हाम्रा हजार विभाजकलाई सङ्केत गर्छ यस चित्रले । यसको परिणाम त हामीले देखिआएका छौं, भोगिआएका छौं । सबैभन्दा बढी त रमाई–रमाई पढिआएका छौं, पढाइआएका छौं । आफ्नो छातीभरि सिमाना कोरेर आफैंमा एक युद्धपोत बाँचिरहेका छौं ।

कविताको अन्तिम हरफ छ— “उनका दुवै खुट्टा खरानीमा उभिएका थिए ।”

ऊ हो कागज जलाइरहेको मान्छे । इतिहास जलाइरहेको मान्छे । खरानीमा उभिएर पुरानो हिंसात्मक बानी परित्याग गर्दै नवीन आयामको सिर्जनाको इतिहास रच्न आवश्यक भएको सङ्केत गरिरहेको मान्छे । हाम्रा छातीको मरुभूमि चिहाइरहेको मान्छे । आहा ! मानवसिर्जित हिंसाको इतिहास र त्यसबाट लिनै पर्ने मुक्तिको आवश्यकताबोधको कति सुन्दर अभिव्यक्ति ! यसरी बन्छ कविता, यसरी बन्छ साहित्य । मन र मस्तिष्क एकसाथ हल्लाउन सक्ने शक्ति बोकेकाले नै सङ्ग्रहको उत्कृष्ट कविता बनेको छ यो । बाँकी अरू कवितामा यो सामथ्र्य छुटेको छ ।

सङ्ग्रहका धेरै कविता जीवन र जगतका फराकिला आयामहरूका ‘माइक्रोकोज्म’ हुन् । ‘सम्राट र बच्चाहरू’मा शासकको मानसिकता, ‘संविधान’मा नेपालको राजनीतिमा बाहिरबाट हुने गरेको व्यवस्थापनको इतिहास, ‘कर्णाली’मा नेपालको नियति, ‘श्रमिकको कविता’ र ‘दृष्टिकोण’मा साहित्य लेखन, ‘छोरी’मा बुबाआमाको जीवन र प्रेम, ‘वसन्त’मा गरिबको जीवनदशा र ‘रहस्य’मा महाकाव्यिक दुःखजस्ता बृहत्तर विषयहरू छोटो अभिव्यक्तिमै समेटिएका छन् । यो यी कविताको सामथ्र्य हो ।

केही कवितामा जीवन र जगतका द्वन्द्वात्मक विचार र अवस्थाहरूको चित्रण गरिएको छ । ‘बुद्ध र म’ले स्वार्थवश आफूभित्रै खुम्चिँदै जाने र निःस्वार्थ भावले खुला भएर फैलनेहरूको बीचको फरक र त्यस भिन्नताले ल्याउने परिणामको दामी चित्रण गरेको छ । त्यस्तै ‘जूनताराको देश’मा धरती र आकाश तथा आफ्नै स्वार्थमा रुमल्लिने र अर्काको दुःखलाई आफूमा समाहित गर्न सक्नेबीचको फरकको विम्बात्मक प्रस्तुति छ । गाउँ र शहर, सभ्यता र सिर्जना, समुद्र र खहरे, सडक र संसद्, स्वाभिमानको गफ र वास्तविक स्वाभिमान, कलम र तरबार, सिर्जना र विध्वंश, प्रकृति र संस्कृति, इच्छा र यथार्थ एवं आडम्बर र सरलताहरूको बीचका द्वन्द्वहरू धेरै कविताका विषय बनेका छन् ।

सबैभन्दा ठूलो सङ्ख्या मान्छेको जीवन, दृष्टिकोण, बचाइ र कर्ममाथि दार्शनिक दृष्टि राख्ने कविताहरूको छ । कविको जोड पनि यसैमा देखिन्छ । ‘जूनकिरी’, ‘सियो’, ‘पुल’, ‘अश्वत्थामा’, ‘शरीरको भाषा’, ‘जिन्दगीको पर्यटन’ र ‘अन्तिम युद्ध’ यस प्रकृतिका कवितामध्ये श्रेष्ठ छन् । कति कवितामा भने दर्शन घुस्दा कवित्वको बहिर्गमनसमेत भएको छ । ‘पीडा’ यसको सशक्त प्रमाण हो ।

विम्बात्मकता पौड्यालका कविताको प्रमुख शैली हो । धेरै ठाउँमा विम्बहरू प्रतीकको तहमा पुगेर अभिव्यक्तिमा सौन्दर्य र दार्शनिक भाव एकसाथ प्रवाह गर्छन् । ‘मान्छे र पुतली’ यस्तै एक प्रतिनिधि कविता हो । यस्तै प्रकृतिको मानवीकरण, पूर्वीय मिथकहरूको फाट्टफुट्ट उपयोग र भद्र व्यङ्ग्यको प्रयोगले पनि निकैवटा कवितामा शक्ति थपेको छ । अन्तर्यमा हामीले बाँचेको जीवन, हामीले हुर्कायौं भनेको सभ्यता, हाम्रो सोचाइ र काम गराइप्रति यस्ता व्यङ्ग्यहरूले प्रहार गरेका छन् ।

पौड्यालका प्रायः सबै कविता दिमागदेखि दिमागसम्म यात्रा गर्छन् । समालोचकको कवितामा प्रवेश हुुँदा कस्ता सिर्जना हुने रहेछन् भन्ने उदाहरण पनि भएको छ यो सङ्ग्रह ।

पुस्तकः शून्य प्रहरको साक्षी (२०७५)
विधाः कविता
श्रष्टाः महेश पौड्याल
प्रकाशकः शिखा बुक्स
पृष्ठः १२५
मूल्यः रू २००।–

 

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०९:३३
प्रतिक्रिया दिनुहोस्